कला मार्फत विश्व किर्तिमान कायम राख्न कलाकारहरु निरन्तर सय घण्टा कला कार्यशालामा जुटेका छन् ।
ललितकलाबाट नेपाललाई विश्वसामु चिनाउन अन्तर्राष्ट्रिय जलरङ समाज (आई डब्लु एस) नेपालले लगातार एक सय घण्टा (चार दिन चार रात र चार घण्टा)को अनलाइन कला कार्यशाला आज आइतबारदेखि सुरु गरेको छ । कार्यशालाको उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको लाइभ पोटे«ट बनाए । यो क्रम बुधबारसम्म जारी रहने आई डब्लु एसका अध्यक्ष एनबी गुरुङले बताए ।
मन्त्री गुरुङले कला मार्फत देशलाई चिनाउने ऐतिहासिक काम भएकाले नेपाल सरकारको पूर्ण समर्थन रहने जनाए । महामारीका बीचमा कलाकारहरुमा केही उत्साह थप्न सुरु गरिएको यस कार्यबाट नेपाल र नेपाली कलाको विश्व पहिचान हुने गुरुङको दाबी छ । उनका अनुसार निरन्तर रुपमा यति लामो समयसम्म चल्ने यो नै पहिलो कला कार्यशाला हो । विश्व गिनिज बुक अफ वल्ड रेकर्डका लागि पनि आयोजक टिमले प्रयास गरिरहेको छ । कार्यशालामा देशभरीका छ दर्जनको हारहारीमा कलाकारहरु सहभागी हुने छन् ।
आइतबार पहिलो दिन राति १२ बजेसम्म कुलपतिकर्माचार्य सहित पोखराका कलाकार रमेश श्रेष्ठ, बुद्धि गुरुङ लगायतका कलाकारहरु कार्यशालामा सहभागी हुनेछन् ।
कार्यशालामा बनेका कलाकृति प्रदर्शन र सहभागी कलाकारहरुको परिचयसहित पुस्तक समेत प्रकाशित गरिने आयोजक समूहको लक्ष्य रहेको छ ।