नख्खु जेल ब्रेकरका योद्वा बीरबहादुर लामाको निधन, यसरी गरेका थिए जेल ब्रेक (भिडियो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

२०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भागेका १५ जनामध्येका एक हुन्, बीरबहादुर लामा । मकवानपुर फाखेलका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद लामाको आइतबार निधन भएको छ ।

तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना भएका थिए । उनको आज बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन् ।

वि.सं. २०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना थिए ।

पछि देशमा परिवर्तन आएसँगै उनी वि.सं. २०४९ मा मकवानपुर जिविसका सभापति बने । त्यसपछि लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।


वि.सं. २०६२।६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्को सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए ।

लामा जिविस मकवानपुरका सभापति भएपछि उनकै पहलमा काठमाडौंलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन् ।

उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र तीव्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थिए ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका