शैलुङ-१,का खेलाडी सम्मानित

गंगा मोक्तान संवाददाता
दोलखा

शैलुङ पर्यटन प्रवर्दन बाेर्डले फुटबल तथा भलिबल खेलाडीहरुलाई सम्मान गरेको छ । बोर्डले दोलखा शैलुङ गाउँपालिका-१, ठाडेस्थित मगर समाजको भवनमा नगदसहित सम्मान गरेको अध्यक्ष थिर बहादुर तामाङले जानकारी दिए ।

बोर्डका अध्यक्ष तामाङका अनुसार शैलुङ दूधपोखरीका मेन्दोला फोले क्लब, शैलुङ फ्रेन्डशिप क्लब ठाडे र शैलुङ मगर समाजका खेलाडीहरुलाई सम्मान गरेका हुन् । भर्खरै शैलुङको ताम्चेतस्थित सम्पन्न वडास्तरीय भलिबल कपमा फ्रेन्डशिपले दोस्रो तथा मेन्दोला फोलेले तेस्रो स्थान प्राप्त गरेको थियो । त्यस्तै शैलुङ मगर समाजले रामेछापको दोरम्बा गाउँपालिका-४, गौश्वरास्थित आयोजना भएको नकाउट फूटबलमा दोस्रो भएको थियो ।

कार्यक्रममा खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै वडा वा गाउँपालिकाको मात्र नभएर खेलाडीहरुले रामेछापसम्म गएर जिल्लाकै नाम राखेर आएकोमा गौरवान्वित महसुस गरेको जिल्ला समन्वय समितिका सदस्य युवराज घतानीले बताए । उनले जिससमा समेत खेलाडीहरुलाई सहयोग गर्न पहल गर्ने जनाए ।


त्यसैगरी कार्यक्रममा वडाध्यक्ष बिर्ख बहादुर तामाङ, नेकपा दोलखाका सदस्य छ्याेनाम्गेल माेक्तान, नेपाली कांग्रेस दोलखाका कार्यसमितिका सदस्य वीर बहादुर विक, कल्लाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रलाल घिसिङ लगायतले बधाई तथा शुभकामना दिएका थिए । उनीहरू घरेलु तथा अन्तर्राष्ट्रिय खेलबारे चर्चा गर्दै गाउँपालिकाले स्थानीय खेलाडीहरुको संरक्षण गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा शैलुङ-१, का अध्यक्ष गाेपी घिसिङले खेलाडीहरुलाई बधाई दिदै गाउँपालिकासँग आर्थिक सहयाेगका लागि पहल गर्ने बताए । स्थानीय खेलाडीहरूलाई स्थानीय सरकारले प्रोत्साहनका निम्ति खाका तयार गरेर आर्थिक लगायत अन्य सामाग्री सहयोग गर्नुपर्ने अध्यक्ष घिसिङको भनाइ छ ।

कार्यक्रममा मगर समाजका अध्यक्ष प्रेम थापा मगरले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया