मौलिक तामाङ गीत ‘फापारे’

अमृत योन्जन-तामाङ लेखक/भाषाशास्त्री
काठमाडाैं

“उभो त ठोसे मेक्चनमा
कुकुर बाँध्ने साङ्लोले
म छोरो यस्तै भए पनि
सात दिन सात रात थुनेको
तामाङ गीतको मामलोले ।” (‘तामाङ गीद’, सन् १९६३)

प्रस्तुत तामाङ गीतले तामाङ जातिको लोक जीवनको सिर्जनात्मक पक्षलाई उजागार गर्दछ । तामाङहरू सात दिन सात रातसम्म पनि गीत गाउँने प्रतिभा राख्दा रहेछन् भन्ने सङ्केत पनि गर्दछ ।

मेरै किशोर कालमा मेरो तिल्पुङ (रामेछाप)मा यस प्रकारको अभ्यास मैले देखेको हो । मेरो कान्छो काका सोमे जात्रा गएपछि तीन–चार दिनपछि मात्र घर आइपुग्थे । उनी त्यस भेगका जुनसुकै जात्रामा पनि पुग्दथे र गाउँदथे । विवाहित भएर तीन छोराका बुबा बनेर पनि उनले आफ्ना दोस्ती छोड्न सकेनन् र भारतको आसाममा पुगेर उनले उनीसँग घरजम गरेर दुई छोरीका बुबा पनि भए । उनले फापारेमा नै जीवन उत्सर्ग गरे भन्न सकिन्छ ।

तिल्पुङकाहरू के तन्नेरी, के केटाकेटी के बुढापाका सबै लस्कर लागेर एक दिनको पैदल दूरीमा रहेको तामाकोसी र सुनकोसी दोभानमा बेनी जात्रा हेर्न पुग्थे अनि जात्रामा दुई–तीन दिनसम्म जम्दथे, फर्कने क्रममा गीत गाउँदै तीनचार दिन लगाएर फर्किन्थे । हामी तिल्पुङ तले–घलेका किशोरहरू बेनीको जात्रा हेरेर बाजेबज्यैसँग दुई दिनमा फर्केपछि पुनः फापारेहरूलाई हेर्ने ४०-४५ मिनटको दूरीमा रहेको कटहरेस्थित कर्नेलको धारामा गीत सुन्न पुग्दथ्यौं । उनीहरू बाटैमा रात बिताउँदथे । काङ्बा चित्र, धोबी र ठोसे मेक्चनका गीताङ्गेहरू तलेघले हुँदै थप एक-दुई दिनको यात्रा तय गर्दथे । यसरी हप्ता दिन जति गीतको यात्रामा बिताउँदथे उनीहरू ।

मैले यहाँ उठान गरेको कुरा मेरो किशोर काल (२०२२-२८)को हो । माथि उल्लेख गरेको गीत पनि त्यसै ताकाको रहेछ । राणाकालमा ठोसे-मेक्चन फलाम खानीको रूपमा नाम चलेको थियो । यो ठाउँ वृहत्तर तिल्पुङ क्षेत्रभित्रै पर्दछ । मेरो गाउँदेखि एक दिनको बाटोमा उत्तर-पूर्वतिर । यस लोकगीतमा उठान गरेको विवरण यथार्थ नै हो र गीतको छिनोफानो नभएसम्म भोकप्यास जे लागे पनि रात परे पनि उम्कन पाइँदैन- “दिन निसाम म्हुन मुला/म्हुन निसाम दिन मुला/ए ङाला ताम मुनुमुला” (दिन गए रात छ/रात गए दिन छ/तिम्रो हाम्रो कुरा छदैछ) । कान्छा काका जस्तै अन्तरी फुपु पनि गीताङ्गे नै थिइन, टाढा टाढाका जात्रामा पनि पुग्थिन् र गीत गाउँथिन् । जात्राहरूमा फुपुले मलाई पनि सँगै लान्थिन् । म यसरी नै दुई-तीन दिनसम्म बरालिन्थे- गीत सुन्दै रामेछाप-सोलु-ठोसे-काङ्बा आदि स्थलहरूमा ।

एक छिन प्रसंग बदलौं । केही वर्ष अगाडिको कुरो । म टेलिभिजन हेर्दै थिएँ । झुमा लिम्बू अन्तर्वार्तामा बोल्दै थिइन् । विश्व सङ्गीत महोत्सवमा भाग लिइरहँदा सहभागीहरूले नेपाली गीतसङ्गीतलाई भारतीय भनेछन् । उनलाई नेपालका मौलिक गीत गाउन आग्रह गरेछन्, उनले अरू एक–दुईवटा गीत सुनाइ दिएछन् तर पनि सहभागीहरूले भारतीय नै भनेछन् । नेपाल फर्केपछि आफ्ना गुरू सुप्रश्द्धि सङ्गीतकार अम्बर गुरूङलाई यसबारे जिज्ञासा राखेछन् । अनि अम्बर गुरूङले मैले बङ्गाली सङ्गीतलाई पहाडेसँग मिक्स गरेर नेपाली सङ्गीत बनाएको हुँ भनेर स्वीकार्दा उनी छाँगाबाट खसे जस्तै भएछन् । हाल उनी लिम्बू गीतसङ्गीतको खोजीमा लिम्बू गाउँघर चहारी रहन्छन् । मञ्चहरूमा लिम्बू लगायतका आदिवासीका मौलिक गीत सङ्गीतहरू प्रस्तुत गरिरहन्छन् । उनको विचारमा आदिवासी समुदायमा प्रचलित गीतसङ्गीत नै नेपालको मौलिक गीतसङ्गीत हो ।

दोस्रो प्रसङ्ग । नेपालका सुपरस्टार पप गायक दिपक बज्राचार्य युरोपीय देशहरूमा आफ्नो गायन प्रस्तुत गरिरहँदा नेपालका मौलिक गीत गाउन आग्रह गर्दै भनेछन्- हामी नेपाली सङ्गी सुन्न चाहन्छौं । पप त हामीलाई थाहा छ । उनी गलेछन् । नेपाल फर्केपछि उनले नेपालका मौलिक बाजाहरू सङ्कल गरेर एउटा गीत बनाएछन् । यो कुरा उनले सोही गीतको भूमिकामा भनेका छन् । उक्त गीतलाई गत वर्षको सार्क खेलकुदको समापन समारोहमा प्रस्तुत गरिएको थियो ।

र, अर्को पनि । भारतीय आख्यानिक मिथकहरू १८-१९ औं शताब्दीतिर नै पश्चिमीमुलुकमा पुगिसकेका हुनाले आजको विश्वमा न हिन्दी आख्यान विश्व बजारमा बिक्छ न नेपाली नै । नेपाली आख्यानको धरातल भारतीय हो । वेद, पुराण, रामाणय, महाभारत, गीताकै आख्यान वरिपरि नेपाली आख्यान पनि चलयमान छ । उखान टुक्कासमेत । शताव्दीऔंदेखिको । यस्तो भाष्य काठमाडौंका आख्यानीहरूमा व्यापत छ । कफी सपहरूमा सुनिन्छ । हिन्दी, नेपाली आदि भाषाका आख्यानहरू विश्व बजारमा उक्लनै सकेनन् । हाल फरक धारका आख्यान र लेखन शैलीतिर नेपाली पाठकको ध्यान आकृष्ट भएको छ । नेपाली साहित्यको बजारमा ‘बिसे नगर्ची’ जस्ता आख्यानले पनि बाजी मारेको छ ।
एक दशक अगाडि एक दिन विक्रम सुब्बाले मलाई तामाङको राष्ट्रिय गान र मौलिक सङ्गीतको बारेमा जिज्ञासा राखेका थिए । मसँग उत्तर थिएन । चिनेजानेका प्रतिष्ठित तामाङ सङ्गीतकारहरूसँग भेटघाटको दौरानमा यो सन्दर्भ जोड्ने गर्दछु तर चित्ता बुझ्दो जोवाफ अहिलेसम्म कसैबाट पाइनँ । दुई दशकयता जोडतोडले नेपाली वृत्तमा पहिचानको भाष्यले बौद्धिक बजार तताएको छ । पहिचान विचार–विमर्शको भाष्य बनेको छ ।

यिनै विविध परिपेक्ष्य र बौद्धिक परिवेशमा म तामाङ गीतसङ्गीतलाई पनि हेर्ने गर्छु । तामाङ गीतसङ्गीतको क्षेत्रमा भारतीय गीतसङ्गीत मात्र होइन, सौन्दर्य र मानक पनि भारतीय नै । हुबहु । नेपाली हुँदै तामाङमा भित्रिएको र कुनै सोझै पनि । तामाङ शब्दहरू नेपाली वा हिन्दीमा रूपान्तरण गर्ने हो भने तामाङ केटाकेटीले पनि नेपाली वा हिन्दी फिल्ममा खेलेका रहेछन् भनेर गर्व गर्न लाएकका हुनेछन् । जे होस् हालसम्म तामाङ गीतसङ्गीतलाई ‘सेलो’ गीतसङ्गीतले बचाइ राखेको छ । यो जीवन्त छ । यस अतिरिक्त दर्जनौं मौलिक गीतसङ्गीतहरू घुस्रिएका, फुस्रिएका र अनपढको एकालप ठानिएका छन् ।

झुमा र दिपकलाई पछ्याउने हो भने तामाङ गीतसङ्गीतमा ‘फापारे’लाई पहिल्याउन सकिन्छ । यसको क्रेज आज पनि अहम् छ, जीउँदो जाग्दो । जात्रा-मेलामा दसौं होइन सयौंले फापारे गीताङ्गेलाई पच्छ्याइरहेका हुन्छन् । कुनै जात्रामा वा कुनै जात्राको फापारे युटुब खोलेर हेरे हुन्छ । बिना सङ्गीतको फापारे गीत सयौंको सङ्ख्यामा देखिन्छन् । प्रत्येक गीतमा दर्शक झुम्मिरहेका हुन्छन् । अनलाइन मिडियाको विकास सँगसँगै फापारे गीतसङ्गीतले हुर्कने मौका पाएको मैले महसुस गरेको छु । फापारेका पारखीहरू लेख्य सङ्गीतवद्ध गीतभन्दा पनि जात्रामा गाएका गीतमा धेरै झुम्मिरहेका देखिन्छन् । ‘फापारे’ मेरो पनि चासो र चिन्तनको विषय हो ।

फापारे गीताङ्गेहरू आफ्ना सामाजिक-सांस्कृतिक परिवेशका साथै आफ्ना जीवनका आरोह-अवरोह, भोगाइ र अनुभूतिहरू पनि व्यक्त गर्दछन् । फापारेमा सिङ्गो सामाजिक जीवनको दर्शन प्रतिबिम्बित हुन्छ । फापारे गीतमा युवायुवतीको मात्र चासो होइन, बुढापाकाहरू पनि उत्तीकै चाखले सुन्ने र गाउने गर्दछन् । गीत सुन्न सबै उमेर समूहकाहरू उपस्थिति हुन्छन् । गीतमा हाँसो, ख्यालठट्टा र व्यङ्ग्य आदि पनि बेजोडले मिसिने हुनाले स्रोताहरूको कान ठडिएको हुन्छ ।

‘फापारे’ जात्रामा गाइने गीत हो- नेपाली दोहोरी गीत जस्तैजस्तै । यात्रा-विशेषमा दुईजना केटा र दुईजना केटीहरू फापारेको माध्यमबाट आ-आफ्ना मनको भावना साटासाट गर्दछन् । नेपाली दोहोरीमा माया-प्रितिको सन्दर्भ हुन्छ । फापारेमा पनि यसै भावको प्राथमिकता हुन्छ तर फापारे गीताङ्गेहरू आफ्ना सामाजिक-सांस्कृतिक परिवेशका साथै आफ्ना जीवनका आरोह-अवरोह, भोगाइ र अनुभूतिहरू पनि व्यक्त गर्दछन् । फापारेमा सिङ्गो सामाजिक जीवनको दर्शन प्रतिबिम्बित हुन्छ । फापारे गीतमा युवायुवतीको मात्र चासो होइन, बुढापाकाहरू पनि उत्तीकै चाखले सुन्ने र गाउने गर्दछन् । गीत सुन्न सबै उमेर समूहकाहरू उपस्थिति हुन्छन् । गीतमा हाँसो, ख्यालठट्टा र व्यङ्ग्य आदि पनि बेजोडले मिसिने हुनाले स्रोताहरूको कान ठडिएको हुन्छ । बोर हुँदैनन् । अर्को, विवाहको अवसरमा बेहुला पक्ष र बेहुली पक्षका ताम्बा (समाजविज्ञ)हरू बिच पनि सामाजिक-सांस्कृतिक सन्दर्भमा दोहोरो चल्ने हुनाले फापारेलाई नेपालीकै शैलीमा दोहोरी भनी हाल्न उचित हुँदैन भन्ने मेरो आग्रह हो । एउटै विधा हो भन्नेमा शंका छैन ।

विश्वमा आधुनिक कहलिएका सहरी जीवन शैली शुरु भएपछि गाउँले जीवनयापन र सिर्जनाहरू रूढीबुढी मानिए । यस युगका मानवशास्त्रीहरूले आदिवासीहरूलाई जङ्गली, असभ्य भनेर सम्बोधन गरे । यसै शैलीमा नेपाली भाषाका सर्जकहरू पनि यहाँका रैथानेहरूलाई ‘जङ्गली, स्वाँठे, खर्पने’ शब्दावलीले अपमानित गर्न थाले । यस्तै खाले शब्दकोशहरूको पनि विकास भयो । विविधतालाई लोप गराइयो । ‘एउटा’ र ‘एक मात्र’ भन्ने खालका नारा घन्कियो । दक्षिण एशियाका कुनै पनि विश्वविद्यालयमा लोकवार्ता (लोक जीवनयापन अध्ययन गर्ने शास्त्र) अध्ययन अध्यापनको विषय बनेन । नेपालमा एक दर्जन जति विश्वविद्यालय छन् र ती विश्वविद्यालयहरूमा न लोकवार्ता विभाग छ न त लोकवार्ता विषय नै पढाइछ । भारतमा लोकसाहित्य वा लोकवार्तालाई गवाँर (गाउँका, अनपढ, अबुझ, असभ्य, महत्त्वहिन, अर्थ न वर्थको) साहित्य भनेर हेपिन्थ्यो । यसैको प्रभाव नेपाली वौद्धिक जगतमा पनि परेको छ र यसको प्रतिछाँया तामाङ वौद्धिकतामा पनि देखिन्छ । सबैको उत्पादन स्थल एउटै हो- विश्वविद्यालय ।

तर हाल दृश्य फेरिएको छ । विविधता र मौलिकताको चिन्तनको फैलावट हुनका साथै युरोपका स्कान्डभिया मुलुकहरूमा लोकवार्ताको अध्ययन अनुसन्धान हुन थाल्यो । युनेस्कोले पनि यसतिर ध्यान दियो र अमूर्त संस्कृतिको संरक्षण, संवर्धन र विकासको पहल सुरु गर्यो र हाल ‘गवार’ भनिएको चिन्तनमा परिवर्तन आएको छ र पहिचानवादी राजनीतिको ध्यान पनि मौलिकतातिर तेर्सिएको छ । तर तामाङका बौद्धिक भनाउँदाहरू फापरे गाउनलाई अझै ‘गवार’ नै ठान्दैछन् । यो नेपाली शिक्षा पद्धतिको दोष हो भनेर ठम्याउन सकिन्छ ।

केही वर्ष वा एक दसकदेखि ‘तामाङ डाजाङ’ नामक साहित्यिक संस्थाले तामाङ फापारे व्हाइ (गीत)मा चासो र चिन्ता देखाउँदै आएको छ र यस्तै तामाङ न्हाङखोर पनि यसतिर उन्मुख भएको छ । यी संस्थाहरू भच्र्युल कार्यक्रम मार्फत् फापारे गीतको खोज-अनुसन्धान, संरक्षण र संवर्धनका लागि तामाङ लगायतका विश्व समुदायको ध्यान आकृष्ट गर्न चाहन्छन् । वास्तवमा समसामयिक तामाङको जीवन दर्शन फापारेमा प्रतिविम्बित भइरहेको हुन्छ र यो तामाङ समाजलाई हेर्ने ऐना पनि बनेको छ । फापारे गीताङ्गेहरू मनले गाउँछन् । उनीहरूको अनुभूतिहरू दर्शक–श्रोताको मन छुन सफल हुन्छन् र कतिपय दर्शकहरू ‘ओन्छेन’ (विचरा) भन्दै यदाकता आँसु पुछेको पनि देख्न पाइन्छ । लेखेका गीतले मस्तिष्क छुन सक्ला तर सजिलै मन छुन सक्दैन् । फापारे व्हाइले मन छुन्छ, मस्तिष्क नछुन सक्छ ।

हालका दिनहरूमा पोङ्दीला च्याङ्बा, सुनिता बल, जङ्गबहादुर घिसिङ, वैरागी मोक्तान, सङ्गीता थिङ, तेज योन्जनलयायतका दर्जनौं युवा पुस्ताकाहरू फापारे व्हाइमा रङ्गिएका छन् । सयौंको सङ्ख्यामा फापारे गीतले युटुब भरिएका छन् । यसभन्दा अगिल्ला पुस्तामा सैलुङ्गे कालेलगायतका एक दर्जन जतिले एक क्षत्र राज्य जमाएका थिए ।

‘फापारे’ शव्दको व्युत्पत्ति ‘फाबा’ हुनसक्दछ जस्को अर्थ तिर्नु, फर्काउनु वा फिर्ता दिनु भन्ने हुन्छ । ‘रे’ तुकान्त हो । फापारे दुई पक्षबिच हुने कुराकानी वा संवादशैलीको गीत हो । सम्भवतः मानिसको आदिम पूर्खाले आमनेसामने कुराकानी गर्ने क्रममा नै गायन शैलीमा पनि अनुभूति व्यक्त गरे होलान् । अभिव्यक्ति शैली रमाइलो मन छुने भए पछि सरल आकृतिको बाजा (डम्फु)को आविष्कार गरे होलान् । अनि अन्य सीपयुक्त बाजाहरूको आविष्कार भए होलान् । फापारे जस्ता प्रत्यक्ष संवादशैलीका गीतबाट संवादविहिन साहित्य विधाहरू कविता, आख्यान, नाटकको उत्पत्ति भए होलान् भन्ने मलाई लाग्छ । प्राकृतिक विज्ञानले अमिबा जस्तो एक कोषीय जीवबाट बहुकोषीय जीवको उत्पत्ति भएको ठहर्याएको छ । सरलबाट नै जटिल वस्तुको अस्तित्व देखा पर्दछ ।

फापारे गीत अहिले मूलतः सैलुङ क्षेत्रमा अस्तित्ववान छ । सैलुङको सेरेफेरो र वारि पारि नै फापारे गीत जमेको देखिन्छ । सैलुङ रामेछाप र दोलखा जिल्लामा पर्ने भूभाग हो । सैलुङ डाँडा ३,१३० मिटर अग्लो छ । परापूर्वकालमा पाँच थरि तामाङ पूर्खाहरू- योन्जन, मोक्तान, घिसिङ, दोङ र ग्रोप्चनबाट यस क्षेत्रमा बसोबास सुरु गरेको मिथकीय इतिहास पाइन्छ । यीमध्ये दोङ सुनकोसी नदी तरेर राज्य जमाएको (हालको तेमाल क्षेत्र) र ग्रोप्चन तिब्बततिर लागेको मिथक पनि उक्त खेङा (पाँच पूर्खाको मिथक) मा रहेको छ ।

एक अध्ययनले सैलुङको सीमा पूर्वमा तामाकोशी, दक्षिणमा सुनकोसी, पश्चिममा सुनकोशी र उत्तरमा चरंगे खोला भनिएको छ । प्रशासनिक दृष्टिले हेर्दा सैलुङको पूर्वमा दोलखा–रामेछाप, दक्षिणमा रामेछाप, पश्चिममा रामेछाप–काभ्रे(सिन्धुपाल्चोक र उत्तरमा दोलखा जिल्लाको भूभाग पर्दछ । यो तामाङ जातिको घना बसोबास क्षेत्र पनि हो । फापारे गीतको अस्तित्व ती स्थानहरूमा छ जहाँबाट सैलुङलाई प्रत्यक्ष देख्न सकिन्छ । केही दसक अगाडिसम्म तामाङ क्षेत्रमा हुने जात्रामेलामा फापारे गाइन्थ्यो र यो क्रमशः लोप हुँदै गइरहेको छ । अहिले फापारे सैलुङमा र सैलुङको पनि रामेछापतिर मात्र सिमित हुँदै छ ।

फापारे गीतको पहिलो कृति “तामाङ गीद” जंगवीर बोमजन र हर्क बहादुर पाखरिनले सन् १९६३ (२०२०) मा छपाएका थिए । ७२ पृष्ठको यस कृतिको पहिलो खण्डमा तामाङ भाषामा ६७ गीत छन् भने दोस्रो खण्डमा नेपाली भाषामा ७३ गीत छन् । यस गीतमा तामाङ जीवनयापन मात्र होइन तामाङ चिन्तन दर्शन पनि प्रतिविम्वित छन् । पुस्तक भारतको दार्जिलिङबाट छापिएको भए पनि यहाँ सैलुङ क्षेत्रको जीवन्त चित्रण छ । यसैगरी दोलखाका जंगवीर बोमजनले “तामाङ भाषाको गीत” मा तामाङ र नेपाली भाषामा ५९ गीत लेखेर दार्जिलिङको ‘विशाल गोर्खा प्रेस’बाट छापेका थिए । सम्भवतः यो पुस्तक “तामाङ गीद” भन्दा केही समय अगाडि छापिएको हुनसक्छ (र पछाडि पनि) । यी दुई पुस्तकले तामाङ गीतको प्रकाशनको श्रीगणेश गरेको प्रष्टै छ ।

फापारे गीतलाई ‘तामाङ गीत’ भनिन्थ्यो भन्ने प्रमाण यी प्रारम्भिक पुस्तकहरूले प्रष्ट पारेको छ । ‘फापारे’ शब्द कहिलेदेखि प्रयोग हुन थाल्यो यसबारे प्रष्ट जानकारी पाउन सकिएको छैन । सरलता र शैलीको दृष्टिले हेर्दा फापारेबाट नै अन्य तामाङ गीत निस्के होलान् भन्ने अटकल काट्न सकिन्छ ।

यी दुई पुस्तक पछिको लामो अन्तराल पछि हालै तेज योन्जनको “फापारे गीत” शीर्षकमा पुस्तक प्रकाशित भएको छ । फापरे गीतले नेपाली लोकसाहित्यमा पनि स्थान ओगटेको छ । नेपालका विभिन्न प्रकाशनहरूमा फापारे गीत (सेलो गीत)को सङ्कलन भएको पाइन्छ र केहीले स्नातकोत्तर तहको थेसिस पनि तयार गरेका छन् । तामाङ भाषामा शब्द उनिएको भए ‘फापारे’ र नेपालीमा उनिएको भए ‘सेलो’ भन्ने चलन देखिन्छ । सेलोको शैली र छन्द फापारै नै हो । नेपाली जगतमा सेलो निकै प्रचलित र लोकप्रिय छ ।
फापारेको प्रत्येक हरफमा सात वा आठ अक्षर हुन्छ :

“कालिङचोकला ल्हारिमि (७)
म्हेन्दो छारजिम् सिलिङ्लिङ (७)
ठुलीसे म्हेन्दो आख्याप नि (८)
कान्छिसे म्हेन्दो आख्याप नि (८)
जोबन निजि फिलिङ्लिङ ।” (७) (‘तामाङ गीद’, सन् १९६३)


गीतको एउटा स्टान्जा तीन हरफदेखि ९ र १० हरफको पनि हुनसक्दछ र सुरूको हरफले प्रकृतिलाई सम्बोधन गरिएको हुन्छ, बिचका हरफहरूमा जीवनलाई उनिएको हुन्छ र कुरोको चुरो अन्तिम हरफले व्यक्त गर्दछ । माथिका दुई टुक्रा गीतमा यस्ता विशेषता खुट्याउन सकिन्छ ।

अब निचोडतिर लागौं । फापारे तामाङ गीतको संसारमा अतिप्राचीन र मौलिक पनि भएकोले यसको संरक्षण, संवर्धन मात्र होइन युनेस्कोमा अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गर्नतिर पनि हाम्रो प्रयास हुन आवश्यक छ । तामाङ पहिचान दिने मौलिक गीतको सन्दर्भमा होस् वा तामाङ लोकजीवनको प्रतिनिधित्व गर्ने सन्दर्भमा होस् वा लोपोन्मुख सम्पदाको अभिलेखन र संरक्षणको सन्दर्भमा होस् वा युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत गर्ने सन्दर्भमा होस् फापारे गीतलाई संरक्षण, संवर्धन र विकास गरिनुको विकल्प म देख्दिनँ । यसतर्फ तामाङ समुदाय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय संस्था युनेस्कोको गम्भिर ध्यान जान आवश्यक छ । हामीहरू सबै यसतर्फ उन्मुख हुनु पर्दछ । तामाङहरूकै पहल र सक्रियताबाट मात्र यो सम्भव हुन्छ । यसै क्रममा हामीले फापारे गीत गाइरहनेहरूलाई सम्मानका साथै कदर गरिनु पर्दछ र यथाशक्य प्रोत्साहित गरिनु पर्दछ । अनि ‘ह्रामा’लगायतका धेरै गीतसङ्गीत जो छाँयामा परेका छन् ती सबैको खोज अनुसन्धान गरेर अभिलेखन गरिनु पर्दछ । यसै हप्ता हुन लागेको तीन दिने “तामाङ फापार गीत गायन र विचार–विमर्श कार्यक्रम” यसैतिरको यात्राको प्रारम्भ हो । सोचौं र सोच पलाओस् । धन्यवाद !

बौद्ध, काठमाडौं

तपाईको प्रतिक्रिया