श्रम बेच्न हिडेका न्यौपाने अस्ताए

तेज थापा संवाददाता
0 Shares
साउदी, रियाद

देशमा बढ्दो बेरोजगारीका कारण हजारौं नेपाली युवाहरू दिनानुदिन विदेश पलायन हुने  क्रम रोकिएको छैन । विशेषगरी खाडी मुलुक र मलेसिया छिरेका अधिकांश नेपाली श्रमिकहरू अनेक कठिनाइ र पीडा सहन बाध्य छन् । वार्षिक सयौंको संख्यामा नेपाली कामदारहरुको सव काठको बाकसमा त्रिभूवन विमानस्थलमा अवतरण भइरहेको तितो यथार्थ पनि नेपालीहरुकोसामु लुकेको छैन ।

सुनौलो भविष्यको सपनादेखि खाडी छिरेका कतिपय नेपालीहरुको सपना मिर्मिरे बिहानी नहुदै बिलाएर जाने गरेका छन् । यस्तै दुर्भाग्यशाली युवा मध्ये एक हुन सिन्धुपाल्चोक स्थायी घर भएका अमित न्यौपाने । चार वर्ष अघि कमाउला, जमौला र भविष्यमा रमाउला भन्ने सपना बोकी साउदी छिरेका न्यौपाने कहिले घर नफर्कने गरी उतै अस्ताएका छन् ।

रबाबि होल्डिङ कम्पनीमा कार्यलाय सहायकका रुपमा कार्यरत २६ वर्षीय न्यौपानेको गत २० जुलाई, २०१९ शनिबार हृिदयघातका कारण अवसान भएको हो । साप्ताहि छुट्टिका दिन सरसफाइ गर्न दिउँसो अफिस पुगेका न्यौपाने एक्कासि छाती दुख्यो भनी अफिस सेक्रेटरीलाई टेलिफोनबाट जानकारी गराएका थिए । “म अफिस पुग्दा उनी छटपटाइरहेका थिए र मैले गाडीमा राखी अस्पताल लैजादै बाटोमै उनको सास रोकिएको”, फिल्पिनो अफिस सेक्रेटरी क्रीस्टोफर बुसाले सुनाए । अपरान्ह ४:४५ बजे साउदीको रियादस्थित ओबेद स्पेसलाईज्ड अस्पतालले न्यौपानेलाई मृत घोषणा गरेको थियो ।

मृतक न्यौपानेका बुबासँग समाचार पंक्तिकारद्वारा नेपाल टेलिफोन सम्पर्क घटनाको अर्को दिन गरी अवगत गराइएको छ भने नेपाली राजदूतावास रियाद साउदीलाई घटनाबारे आधिकारिक जानकारी गराइएको छ । दूतावासका द्वितीय सचिवको नियमित सम्वाद, सम्पर्क र सुझाव अनुसार कम्पनीले शवलाई नेपाल पठाउनका लागि आवश्यक प्रकृया चालिएको छ ।

तपाईको प्रतिक्रिया