साउदीमा २९ जनालाई एक्जिट भिसा, दूतावासले अस्थायी कार्यालय संचालन गर्ने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

नेपाली दूतावास साउदी अरेबियाले राहदानी नवीकरणका लागि आवेदन संकलन गर्न अस्थायी कार्यालय संचालन गर्ने भएको छ । दूतावासले शुक्रबार एक सूचना जारी गरेर प्रथम चरणमा दमाम र जुवेलमा राहदानी आवेदनका लागि अस्थायी कार्यालय संचालन गर्ने जनाएको छ ।

दूतावासका अनुसार दमाममा डिसेम्बर ४ तारीख र ११ डिसेम्बर ११ तारीख जुवेलमा अस्थायी कार्यालय संचालन गर्न लागिएका हुन् । कार्यालय राख्ने स्थान र समयपछि जानकारी गराइने दूतावासको भनाइ छ । उक्त दिन आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरुलाई पहिलो प्राथमिकता दिइने दूतावासले जनाएको छ ।

साउदीको रियाद शहरभन्दा टाढा रहेका नेपालीहरुलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका गर्न लागिएको दूतावासले बताएको छ । दूतावासले राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा https://forms.gle/pryfMdChxs2QHCPi6 लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउन समेत आग्रह गरेको छ ।

त्यसैगरी साउदी अरेबियामा कार्यरत २९ जना नेपालीहरुले बर्हिगमन (एक्जिट) भिसा पाइसकेका छन् । उनीहरूले नेपाली दूतावासको पहलमा एक्जिट भिसा पाइएका हुन् ।

साउदीका विभिन्न कम्पनीहरुमा कार्यरत रहेका नेपालीको आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नवीकरण नगरिएका कारण यहाँको अध्यागमनले दूतावासको आग्रहमा भिसा प्रदान गरेको श्रम काउन्सेलर जीवनकुमार राईले जानकारी दिए । उनका अनुसार यस प्रक्रिया शुरु भएयता अहिलेसम्म १२ सय ८० जनाले एक्जिट भिसा पाइसकेका छन् ।


कम्पनीहरुले अकामा नवीकरण नगरिदिएका वा नबनाईका कारण ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्कन असहज हुने देखेपछि दूतावासले साउदी सरकारसँग बर्हिगमन भिसाका लागी आवेदन दिएको हो । यस प्रक्रियाबाट भिसा प्राप्त गरे पश्चात् ६० दिनभित्र साउदी छोडी सक्नुपर्ने दूतावासले बताएको छ ।

आफ्ना अकामाको म्याद रहेको वा नरहेको स्पष्ट नभई कागजात पठाउदा भिसाका लागि असहज भएको दूतावासले बताए । आगामी दिनमा यस प्रक्रिया रहेसम्म अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन नलगाइदिएको भएमा वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब (Runaway) भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिचेर (WhatsApp) गर्न दुतावासले आग्रह गरेको छ ।

त्यसैगरी विभिन्न कसूरमा मुद्दा रहेका व्यक्तिहरुले मुद्दा सामाधान भइसकेपछि मात्रै आवेदन दिन दूतावासको आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका