जुलिया प्रास्टाना

काठमाडाैं

म काली छु
हो हाँडीको पिँधजस्तै काली
मलाई कालो हुनुको पीडा छैन

मेरो कपाल
कपाल होइन घोडाको जगर हो
त्यो जगरमा छ घोडा हुनाको पहिचान

मेरा आँखा चिम्सा छन्
एकदमै चिम्सा र कुना चाउरिएका
यो उर्वर बैंसमा पनि बूढी देख्नु
तपाईंको दृष्टि हो

मेरो नाक थेप्चो र बाङ्गो छ
हो एकदमै बाङ्गो
नागबेली नाक

माथिल्लो ओठ सुकेको छ
तल्लो ओठ ठूलो छ
जस्तो निग्रोहरुको हुन्छ

छाला बाक्लो र फुस्रो छ
जस्तो गोहोरोको सुन्दरता छालामा छ
तर, म गोहोरो होइन

निधार झोलुङ्गे पुलजस्तो छ
बायाँ कानमा टुसो पलाएको छ
दुब्लो भएर गाला सुकेका छन्
अनुहारभरि भुत्लाहरु छन्
यी तारजस्ता भुत्ला ठडिइरहन्छन्

यति भनिसकेपछि
तपाईं मेरो अनुहारको चित्र बनाउन सक्नुहुन्छ
मलाई त्यो चित्र सुन्दर लाग्नेछ

हो, मलाई थाहा छ
मेरो चित्र प्रदर्शनीमा राखिनेछैन
न त बिक्नेछ र्याम्पमा

म बिक्छु केवल सर्कसमा
जहाँ नाचिदिन्छु
तपाईं मलाई मन पराउनुहुन्न
तर, मेरो नाचमा खुब रमाउनुहुन्छ

म तपाईंजस्तो छैन
म, मजस्तै छु
साँच्चिकै सुन्दर छु
म जुलिया प्रास्टाना हुँ यो समयको ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका