ऐतिहासिक स्वयम्भू क्षेत्रको संरचना नभत्काउन माग

सैलुङअनलाइन
सैलुङअनलाइन
काठमाडाैं

विश्व सम्पदामा सूचीकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक संरचना नभत्काउन माग गरेका छन् । सडक विभागद्वारा दोस्रो चरणको चक्रपथ विस्तारमा स्वयम्भूको बुद्धपार्क क्षेत्रको संरचना भत्काउनु पर्ने र भत्काउन नापनिसाना समेत लागाइसकेकोले ‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियान’ले बुद्धपार्क परिसरमा नै पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धित निकायको ध्यानकर्षण गराएको छ ।

अभियानका संयोजक तथा बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘विश्व सम्पदामा सूचीकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुता (साङ्गे तोङकु) समेत भत्काउन गइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ र यस खाले कार्यले समस्त बौद्धमार्गीहरु तथा ऐतिहासिक, धार्मिक सांस्कृतिक सम्पदाप्रेमीहरुको भावनामा गम्भीर चोट पुर्याएको र विश्व जगतमा नकरात्मक सन्देश प्रवहा हुने निश्चित छ ।’

विज्ञप्तिमा विकासको गति अवरुद्ध हुन नदिने र बौद्धमार्गीहरुको धार्मिक सम्पदाको पनि संरक्षण हुने गरी सो ऐतिहासिक, सांस्कृतिक, धार्मिक संरचना नभत्काइकन पनि सडक विस्तार गर्न सकिने विकल्प हुँदाहुँदै सरकार र सडक विस्तार गर्ने सम्बन्धित निकाय जबरजस्त रुपमा अगाडि बढिरहेको प्रति गम्भीर असहमति जाहेर गरेको छ ।


अभियानले सरकार र सम्बन्धित निकायहरु सत्ता र शक्तिको आडमा बौद्धमार्गीहरुको आग्रहलाई नजरअन्दाज गरेर जबरजस्त अगाडि बढेमा त्यसका विरुद्ध कडाईका साथ लाग्ने उल्लेख गरेको छ ।

अभियानले सम्पदालाई बचाउन र विकल्पसहित सडक विस्तार गर्न गराउन दबाब सिर्जनाका लागि सरकार र सम्बन्धित निकायहरुसँग संवाद, छलफल, शान्तिपूर्ण दबावपूर्ण अभियान, कानूनी प्रकृया अवलम्बन, ऐक्यवद्धता अभिवृद्धि, जागरण प्रचारप्रसार अभियानका पहिलो चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

पहिलो चरणको शान्तिपूर्ण अभियान अन्तर्गत मंसिर मसान्तसम्म प्रधानमन्त्री, संस्कृति मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सडक विभाग, महानगरपालिका, पुरातत्व विभाग, युनेस्कोमा ज्ञापन पत्र बुझाउने, हस्ताक्षर संकलन, दीप प्रज्वलन र मौन र्याली गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया