नेकपाद्वारा जनप्रतिनिधिलाई प्रगति विवरण माग

धनकुटा

नेकपा धनकुटाले आइतबार तीन स्थानीय वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई प्रगति विवरण माग गरेको छ । धनकुटा नेकपाले हिलेमा एक कार्यक्रमको आयोजना गरेर धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र शहिदभूमी गाउँपालिकाका प्रतिनिधिहरुलाई जनस्तरमा भएका कामको प्रगतिको माग गरेका हो ।

नेकपा बिभाग प्रमुख शिव आङ्ला लिम्बूको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संघीय संसद राजेन्द्रकुमार राईले उद्घाटन गरेको थियो । नेकपा धनकुटाका अध्यक्ष समेत रहेका राईले कार्यक्रममा जनप्रतिनिधिहरु जनताको घरदैलोमा नै पुगेर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा वडाअध्यक्षहरुले प्रगती विवरण प्रस्तुत गर्दै दक्ष कर्मचारी नहुदा काम गर्न असहज भएको भन्दै संघ र प्रदेश सरकार समक्ष दक्ष कर्मचारी पठाउनुपर्ने माग राखेका थिए । वडाध्यक्षहरुले सिफारीस समेत लेख्न नजान्ने कर्मचारीसँग काम गर्न गाह्रो भएको बताए । उनीहरूका अनुसार बहुविवाह बाट जन्मिएका बच्चाको जन्म दर्ता सम्बन्धि केस मिलाउन गाह्रो भइरहेका छन् ।

कार्यक्रममा धनकुटा नगरपालिकाका तर्फबाट वडा नं. १,२ र १० वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुले वडाको कामको प्रगतीका बिषय प्रस्तुत गरेका थिए । त्यस्तै पाख्रीबास नगरपालिकाबाट १,२,३,४,५,६,७,८,९,१० का वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुले नगरमा भएका प्रगतिको बारेमा आफ्ना कुरा राखेका थिए ।

त्यसैगरी शहिदभूमी गाउँपालिकाका वडा नं. २,५ र ७ का वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुले गाउँपालिकाको प्रगतिको बिषयमा आफ्ना बिचार राखेका थिए ।


कार्यक्रममा पार्टीका प्रदेश सदस्य गणेश राई (उज्ज्वल) सभासद् द्वय प्रदेश नं. १ का निरन राई, ईन्द्रमणि पराजुली, जिल्लाका कार्यालय सचिव भिम राई, सचिवालय सुष्मा किराती, जिल्ला समन्वय समिति धनकुटाका सभापति टंक चौहान लगायतका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेकपाका धनपा नगर अध्यक्ष अर्जुन छारा र सचिव खगेन्द्र बिष्टले अतिथि तथा जनप्रतिनिधिहरुलाई फूलको माला लगाएर स्वागत गरेका थिए ।

नेकपा धनकुटाले आफ्ना मातहतबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुसँगको दोस्रो चरणको समिक्षा कार्यक्रम १६ गते चौबिसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकाकोको कार्यक्रमपछि सक्ने नेकपाका स्थानीय बिभाग सचिव नैन बिश्वकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया