चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईले आफ्नै अपरेटिङ सिस्टम ल्याउने तयारी गरेको छ । कम्पनीको कन्जुमर बिजनेशका सीईओ रिचार्ड यूले हुवावेईले यस वर्षको अन्त्यसम्ममा आफ्नै अपरेटिङ सिस्टम आउन सक्ने बताएका हुन् । उनले यस वर्षभित्र नयाँ अपरेटिङ सिस्टम स्मार्टफोन र ल्यापटपमा प्रयोग गर्न सकिने बताएका छन् । सीएनबीसीका अनुसार कम्पनीले अमेरिकी प्रविधि कम्पनीहरू गूगल र माइक्रोसफ्टको सफ्टवेयर पूर्णरूपमा निषेध गरेको खण्डमा मात्र आफ्नो सफ्टवेयर प्रयोग गर्नेछ ।
हुवावेई अमेरिकी कम्पनीसँग कारोबार गर्न नपाउने सूचीमा परेको छ । यसअनुसार हुवावेईलाई अमेरिकी कम्पनीले सामग्री आपूर्तिका लागि विशेष अनुमति लिनुपर्ने हुन्छ । जसका कारण हुवावेईले गूगलको अपरेटिङ सिस्टम एन्ड्रोइडको सेवा पाउनेछैन । साथै, अन्य अमेरिकी कम्पनीको सेवा पनि हुवावेईले पाउने छैन । तर, हुवावेईमाथिको प्रतिबन्ध अमेरिकाले ९० दिन स्थगित गर्ने निर्णय गरेको छ ।
यूले नयाँ अपरेटिङ सिस्टम चीनभन्दा बाहिर सन् २०२० को पहिलो वा दोस्रो त्रैमाससम्ममा आउने बताएका छन् । अझै पनि हुवावेई माइक्रोसफ्टको विन्डोज र गूगल एन्ड्रोइडका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ । तर, उक्त सेवा नपाउने अवस्था आए हुवावेईले त्यसको विकल्पको रूपमा आफ्नै अपरेटिङ सिस्टम ल्याउने यूको भनाइ छ ।
हुवावेईले ल्याउने अपरेटिङ सिस्टममा आफ्नै एप स्टोर हुने यूले जानकारी दिएका छन् । उनले आफूहरू जबर्जस्ती नयाँ अपरेटिङ सिस्टम ल्याउने पक्षमा भने नरहेको बताएका छन् । अनुसन्धाता कम्पनी काउन्टरप्वाइन्ट रिसर्चका अनुसन्धान निर्देशक नेइल शाहले गूगलले दिइरहेको सेवा नयाँ अपरेटिङ सिस्टममा प्रदान गर्नु हुवावेईका लागि ठूलो चुनौती रहेको बताएका छन् । साथै, कम्पनीलाई उक्त अपरेटिङ सिस्टममा विभिन्न एपको सुरक्षा तथा व्यवस्थापन गर्नु अर्को चुनौती रहेको बताइएको छ ।-एजेन्सी