पत्रपत्रिकाहरुमा देखिरहने नाम हो, फुर्पा तामाङ । यो अर्थमा फुर्पा तामाङ तामाङ वाङमयको लागि नयाँ नाम होइन । तामाङ जातिसँग सन्दर्भित अनुसन्धानात्मक लेख, आलेख, विश्लेषण र दृष्टिकोणबाट समाजलाई अग्रगामी दिशातर्फ निर्देश गर्न उहाँका लेख रचनाहरु क्रियाशील देखिन्छन् । यसै सन्दर्भमा उहाँले पछिल्लो समय गाउँघरतिर बोलिचालीमा रहेका तर समयअन्तरालमा हराउँदै गएका उखानहरुलाई संकलन गरी तामाङ उखानकोश नामक पुस्तक प्रकाशनमा ल्याएका छन् । पुस्तकमा संकलकले विशेषतः रसुवा जिल्लाका तामाङहरुले बोल्ने गरेका उखानहरुलाई एकमुष्ठ रुपमा प्रस्तुत गरेका छन् । यस क्रममा उखानहरुलाई पनि दुई खण्डमा विभाजन गरी खण्ड (क) वैदिक भोटेली तामाङ शास्त्रीय भाषाका उखानहरु र खण्ड (ख) बोलीचालीको तामाङ भाषाको उखानहरुलाई अघि सारेका छन् । दुबै खण्डमा गरी पुस्तकमा जम्माजम्मी २३५ वटा उखानहरु रहेका छन् ।
कुनै पनि जाति विशेषको महत्वपूर्ण आधार भनेको भाषा हो । भाषासँग लोकजीवनका साँस्कृतिक र सामाजिक व्यवहारहरु एक आपसमा प्रकार्यगत सम्बन्धमा जोडिएर रहेका हुन्छन् । त्यति मात्र होइन भाषासँग स्थानीयता र मौलिकता पनि गाँसेर रहेको हुन्छ । यसलाई बुन्ने काम भाषाले नै गर्ने हुँदा भाषा प्रकृतिको अनुपम उपहार पनि हो । भाषाको जीवन बोल्नुसँग रहेको हुन्छ । जबसम्म बोलिरहन्छ तबसम्म भाषा बाँचीरहन्छ । भाषा बाँच्नुको अर्थ कुनै पनि जाति र जाति सन्दर्भित कला, साहित्य, संस्कृति पनि बाँच्नु हो । विश्वव्यापी भूमण्डलीकरण, बसाँइसराइ, रोजगार, प्रतिस्पर्धा, प्रविधिका कारण मातृभाषा बोल्ने वक्ता विस्तारै घट्दै गएको सत्य हो । यही परिप्रेक्ष्यमा क्षेत्रगत रुपमा तामाङ भाषासँग सम्बन्धित उखानहरुलाई संकलन गरेर प्रकाशन गर्नु आफैमा प्रशंसनीय कार्य मान्नु पर्छ ।
पुर्खाका अनुभवलब्ध ज्ञान भरिएका उक्ति नै उखान हो । जसमा कथांश सहितको वाक्य रहेको हुन्छ । यस्ता वाक्यहरु एक हरफे, दुई हरफे र तीन हरफेका हुन्छन् । हेर्दा सामान्य लाग्ने तर अत्यन्त बोधगम्य विषयहरुलाई यसले बोकेको हुन्छ । वार्तालापको क्रममा यस्ता वाक्यशको प्रयोगले लामो विषयलाई छोटकरीमा सटिक तबरले प्रष्ट पार्दछ । यो अर्थमा उखानले भाषालाई मिठास् र रोचक बनाउँदछ । वार्तालापमा उखान प्रयोग गरेर बोल्ने सक्ने सबैमा क्षमता हुँदैन । यसको लागि भाषागत दक्षता हुनु जरुरी छ । यो वास्तामा लोक साहित्यको सौन्दर्य हो । पुस्तकमा संकलन गरिएका उखानहरु यस्तै विषयहरुको सग्लो रुप हो । जस्तै, गोलो यादी उली म्हेबा अर्थात हेर्दा सुन्दर काम नराम्रो । ड गाले थ्वेन् फुदुल्ले थ्वेन् अर्थात शत्रु आफ्नै अँगेनामा हुन्छ । तेर्केन् शिन्दु म्हङ्रो-म्हङ्रो अर्थात दियो झन बढी माग्ने ।
उखानहरु साँस्कृतिक तथा सामाजिक व्यवहारको अभ्यासबाट खारिएर आउने हुँदा त्यसले प्रक्षेपण गर्ने विषयहरु लोकसत्यसँग निकट रहन्छ । त्यसलाई सबैले स्वीकारेको कारण उखान श्रुति परम्पराबाट पुस्तान्तरण हुन जान्छ । तर, मातृभाषाबाट नयाँ पुस्ताहरु विस्तारै बिमुखहुँदै जाँदा लोकजीवनका महत्वपूर्ण र तर्कपूर्ण उखानहरु हराउँदै गएका छन् । यसलाई क्षेत्रगतबाटै टिपेर अभिलेखन गरी सुरक्षित गर्ने प्रशंसनीय कार्य संकलक फुर्पा तामाङले गरेका छन् । हामीले यसको सरहना गर्र्नैपर्छ । संकलित उखानहरु धेरै अघिदेखि बोल्दै आएको भएपनि यसको सान्दर्भिकता अहिले पनि त्यतिकै देखिन्छ । किनभने उखानका अन्तरविषयहरु लोकजीवनका अनुभव र भोगाइसँग सम्बन्धित छन् ।
पुस्तकमा संकलन भएका उखानहरुमा भौगोलिकता छ । त्यसैको पिँधमा विकसित भएको अर्थ, राजनीति, समाज, धर्म, संस्कृति, विकृति लगायत जीवनसँगका अवरोह-आरोह, आँसु-हाँसो, प्रेम-घृणा, उन्नति-अवन्नति, छेडछाड जस्ता विषयहरु छन् । खासमा यीनै विषयहरुको धरातलमा लोकजीवनको पूर्णता हुने गर्दछ । कतिपया उखानहरुले बाँच्न र बचाउन प्रेरित गर्दछ । जस्तै, तप्तप् म्हङ्ना डोडुप म्हाङ अर्थात अन्न बाली जति रोप्यो त्यति नै भित्र्याउन पाइन्छ । बोमो निङ्री ह्येना बल ल रिक्को म्हे अर्थात चेलीबेटी परिश्रमी भए उनमा बुट्टा चाहिँदैन । अखेम्हेमे छप नेन्ज्यी अर्थात बाबुबाजेको बिडो थाम्नु । त्यसैगरी विकृत पक्षहरुलाई उठान गरेको छ । जस्तै, क्षाङ थुङ्केन् म्हीला सम्देन् म्हे अर्थात जाँड-रक्सी खाने मान्छेको विश्वास हुन्न । क्षाङ अर्मे-क्युर्मे थुङ्वा तङ अर्थात तीतो-अमिलो जाँड-रक्सी खानु भन्दा त शुद्ध पानी पिउनु जाती ।
लोक जीवनमा वार्तालापको क्रममा उखान विम्वको रुपमा रहेको हुँदा यो अनुभवजन्य लोक साहित्य हो । यद्यपि यसलाई साहित्य सन्दर्भमा समीक्षा गर्ने आधारहरु खासै देखिदैन किनकि उखानहरु सत्यको कसीमा माझिएर आएका विषयहरु हुन् ।
संकलक तामाङले पुस्तकमा उखानहरुलाई वर्णानुक्रममा राखी प्रविष्ठिमा तामाङ उखान, नेपाली अर्थ र उदाहरणसहित प्रस्तुत गरेका छन् । यसले गर्दा उखानलाई बुझन खासै कसरत गर्नु पर्दैन । नेपाली भाषामा पनि अर्थ रहेकोले गैरतामाङ भाषी, अनुसन्धानकर्ताहरुका लागि तामाङ लोकजीवनका संज्ञानलाई साहित्य सन्दर्भबाट बुझन यो कृति सहायक हुनेछ ।
उहिलेको कुरा खुइले भन्ने जमात हाम्रै अघि छन् । तर, समयको चक्रमा त्यही जमात एक दिन यस्तै यस्तै उखानको स्वीकारोक्तिमा मिसिन बाध्य हुनेछ किनभने उखानहरु लोकजीवनका भोगाइसँग सम्बन्धित छन् । अन्तमा, प्रस्तुत पुस्तकले लोकलाई निर्देश गर्ने अनुभूतिजन्य र तर्कसंगत उखानहरुलाई पुस्तककमा समेटिएर ती तमाम तामाङ पुर्खाहरुलाई सम्मान गरेका मात्र छैनन् भोलिका पुस्ताको लागि सुरक्षित गर्दै तामाङ वाङमयलाई थप समृद्धि बनाएको छ ।