सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी नेपालबाटै

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
70 Shares
काठमाडाैं

फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ ।

यस्तो व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी हुन भने बाँकी छ । निर्देशन जारी भएपछि अमेरिकी डलरको खाता नहुने सर्वसाधारणले पनि नेपालबाटै डलरमा विदेशमा भुक्तानी गर्न पाउनेछन् ।

‘बैंक तथा वित्तीय संस्था एवं विप्रेषण सेवा प्रदायक कम्पनीले विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण भित्र्याउन सक्ने र नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाबाट विद्युतीय भुक्तानी उपकरण ९मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड, वालेट आदि० मार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ,’ मौद्रिक नीतको समीक्षामा भनिएको छ ।

राष्ट्र बैंकले झन्डै एक वर्ष ९गत माघ १७० देखि सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक भुक्तानी रोकेको थियो । तर त्यसका लागि कार्यविधि बनाइएको थिएन । कार्यविधि नहुँदा सामाजिक सञ्जालमा हुने विज्ञापनलगायत सबै प्रकारका भुक्तानी प्रभावित भएका थिए । अनौपचारिक रूपमा हुने भुक्तानी पनि रोकिएको थिएन । चोरी बाटोबाटै पैसा बाहिरिरहेको थियो । अब ती कारोबार पनि बैंकिङ प्रणालीमा समेटिने जानकारहरूको भनाइ छ ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि डलरमा हुने ससाना भुक्तानीमा सजिलो हुने कम्प्युटर एसोसिएसन नेपाल ९क्यान महासंघ० का पूर्वअध्यक्ष विनोद ढकालले बताए । ‘यो साह्रै राम्रो काम हो । तर छिटो कार्यान्वयनमा आउनुपर्‍यो,’ उनले भने, ‘यो व्यवस्थाले ससाना कारोबार पनि औपचारिक प्रणालीमा समावेश हुनेछन् ।’ भुक्तानी औपचारिक प्रणालीमार्फत गर्न तयार भए पनि विधि र प्रक्रिया स्पष्ट नहुँदा अन्योल थियो । अब उक्त समस्या समाधान हुने उनले बताए । सामाजिक सञ्जालमा हुने भुक्तानी मात्र नभई कानुनले वञ्चित नगरेका सबै प्रकारका भुक्तानी डलरमा गर्न पाउने व्यवस्था पनि राष्ट्र बैंकले गर्न लागेको छ । यसअनुसार नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाबाट विद्युतीय भुक्तानी उपकरण ९मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड, वालेट आदि० मार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सकिनेछ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारणले वाणिज्य बैंकमा गएर डलरको प्रिपेड कार्ड लिन सक्नेछन् । सोही कार्डमार्फत राष्ट्र बैंकले तोकेको सीमासम्म विदेशमा डलरमा भुक्तानी गर्न सक्नेछन् । प्रिपेड कार्डका लागि बैंकमा डलर खाता हुनुपर्ने छैन । हाल नियमित रूपमा डलरको स्रोत भएकाले मात्र बैंकमा अमेरिकी डलर ९विदेशी मुद्रामा० को खाता खोल्न पाउने व्यवस्था छ ।

सर्वसाधारणलाई उपभोग्य वस्तुको भुक्तानी डलरमा गर्न नदिने राष्ट्र बैंकको तयारी छ । तर सामाजिक सञ्जालमा विज्ञापन गर्न, मनोरञ्जनात्मक साइट हेर्न, प्राविधिक सामग्री खरिद गर्नलगायतको भुक्तानी गर्न पाइनेछ । ‘मुलुकमा पर्याप्त विदेशी मुद्रा सञ्चिति छ,’ राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख बमबहादुर मिश्रले भने, ‘यसकारण पनि उपभोक्तालाई डलरमै ससानो भुक्तानी सुविधा दिन लागेका हौं ।’

भुक्तानीको सीमा के–कति बनाउने भन्नेबारे छलफल भइरहेको उनले बताए । ‘हाम्रो उद्देश्य वास्तविक कामका लागि हुने भुक्तानीका लागि असुविधा नहोस् भन्ने हो,’ उनले भने, ‘सुविधा दुरुपयोग नहोस् भन्नेमा हामी सचेत छौं ।’ अहिले विदेशबाट सामान आयातभन्दा पनि सेवा आयातलाई प्रोत्साहन गरिएको उनले स्पष्ट पारे ।

बैंकिङ प्रणालीमार्फत विज्ञापनको भुक्तानी गर्न समस्या नभए पनि उक्त प्रणालीमार्फत सानो रकम पठाउन नमिल्ने भएकाले अनौपचारिक माध्यम प्रयोग गर्नैपर्ने बाध्यता रहेको जानकार बताउँछन् । सामाजिक सञ्जालमा हुने विज्ञापनमार्फत धेरै विदेशी मुद्रा अपचलन भएको सूचना प्राप्त भएको भन्दै राष्ट्र बैंकले त्यसलाई रोकेको थियो । सूचनामा अनधिकृत कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले संलग्नलाई कारबाही हुने चेतावनी दिइएको थियो ।

सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित ‘पेमेन्ट गेटवे’ नभएकाले प्रायः विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन् । उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट भुक्तानी गर्न लगाई पैसा पठाउने गरेका छन् । युट्युबजस्ता सामाजिक सञ्जालमा भिडियो बनाएर आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्ने प्रावधान छ । त्यसका लागि राष्ट्र बैंकले डलर खाता खोल्न अनुमति दिन्छ । यसअघि त्यस्तो रकम प्रायले विदेशमा रहेका आफन्त तथा साथीभाइको खातामा जम्मा गर्ने र अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गर्थे । केही महिनायता राष्ट्र बैंकले त्यस्ता खाता खोल्न अनुमति दिने गरेको छ । कान्तिपुर दैनिकबाट ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका