सैलुङ सञ्चारकर्मी बने तामाङ अनलाइन हाजिरी जवाफ प्रतियोगिताका विजेता

दशौ श्रृङ्खला बृहत बनाउने

काठमाण्डौं

तामाङ भाषाको अनलाइन हाजिरी जवाफ प्रतियोगीताको छैटौं श्रृङ्खलाका विजेता सैलुङअनलाइनका सञ्चारकर्मी अमिरकुमार योञ्जन तामाङ बनेका छन् । मंसिर २६ गतेको श्रृङ्खलामा उनले दश ओटा प्रश्नमा सात प्रश्नको उत्तर निर्धारित समयमा दिएका थिए ।

यहि पौष ३ गते शुक्रबार साँझ सातौं श्रृङ्खलाको सम्पन्न भएपछि छैटौं श्रृङ्खलाको नातिजा सार्वजनिक गर्दै कार्यक्रमकी प्रस्तोता गायिका निर्मला घिसिङले विजेताहरुको नाम घोषणा गरेका थिए ।

गोलाप्राथाद्वारा छनोट गरिएको उक्त श्रृङ्खलाको दोस्रो भोजकुमार तामाङ दोङ र तेस्रो वाङ्गेल लामा दोङ भएका छन् । विजेताहरुले क्रमशंः पाँच सय, तीन सय र दुई सयको मोबइल रिचार्ज कार्ड प्राप्त गरेका छन् । सञ्चारकर्मी योञ्जन यस अघि चौथो श्रृङ्खलामा पनि सहभागि भई दोस्रो भएका थिए ।

तामाङ भ्वाइसको आयोजनामा कार्तिक २१ गते शुक्रबारदेखि प्रत्येक शुक्रबार साँझ ८ बजेदेखि तामाङ शब्दकोष फेसबुक पेजबाट लाइभ प्रसारण हुने प्रतियोगीताको हालसम्म सातौं श्रृङ्खला सम्पन्न भएको छ । प्रतियोगीता प्रत्येक हप्ता एउटा श्रृङ्खला (भाग) सञ्चालन गर्दै आइरहेको छ ।

प्रतियोगिताको आगामी दशौं श्रृङ्खला भने जुम प्रविधिको मध्यमबाट वृहत ग्रुपमा गर्ने तयारी भैरहेको तामाङ भ्वाइसका प्रबन्ध निर्देशक राज डिमडुङले जानकारी दिए । यस श्रृङ्खलाको लागि अफिसियल पेजबाट सूचना समेत प्रकाशित गरिसकेको छ र उक्त श्रृङ्खलामा सहभागिता जनाउनेहरुले नाम दर्ता गर्न सूचना समेत जारी गरिसकेका छन् । ‘तामाङ समुदाय नयाँ पुस्तालाई भाषा र ज्ञान आदानप्रदानमा आफूहरुको यो एउटा सानो प्रयास हो’ अध्यक्ष डिमडुङले भने, ‘यस खालको कार्यक्रमको निरन्तरको लागि सबैको साथसहयोग चाहिन्छ ।’

‘तामाङ भाषा, कला, संस्कार–संस्कृतिको पुस्तान्तरणको लागि।।’ भन्ने नाराका साथ जारी अनलाइन हाजिरी जवाफ प्रतियोगिता पहिलो चरणमा पच्चिसौं श्रृङ्खलासम्म चल्ने आयोजक संस्थाले जनाएका छन् ।

प्रतियोगीताका लागि प्रश्नोत्तरको तयारी तथा संकलन ‘एससीआरसी’का अध्यक्ष तथा खोजअनुसन्धानकर्ता खोजराज गोलेले गरिरहेका छन् भने प्रतियोगीताका सहयोगी संस्थाहरु नेपाली एनआर तामाङ समाज कतार, म्हेन्दोमाया समाज दोहा कतार, नुवाकोट धादिङ रसुवा समाज कुवेत, तामाङ परिवार सेवा समाज, तामाङ टाइम्स र लिमिटलेस इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सी रहेका छन् ।

हाजिरी जवाफको विजेताहरु कमशं. पहिलो श्रृङ्खलामा गोलाप्राथाद्धारा लिला मोक्तान तामाङ, दोस्रो श्रृङ्खलामा सुजन तामाङ, तेस्रो श्रृङ्खलामा साजन लामा, चौथो श्रृङ्खलामा पेमा सिङ्गी तामाङ र पाँचौ श्रृङ्खलामा बाबुराम स्याङतान प्रथम भएका छन् ।

 

तपाईको प्रतिक्रिया