सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएको छ ।
तेस्रो चौमासिक एवं बार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिवार बोल्दै मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिए ।
प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै मन्त्री पुनले सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । ‘अव प्रक्रिया मात्र भनेर हुदैन, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो । मन्त्री पुनलले भने, ‘सरकारले अघि सारेको कामलाई सफल पार्नु हामी सवैको दायित्व हो ।’
आफु झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै मन्त्री पुनले काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए । ‘काम नगर्ने हो भने पद ओगटेर मात्र वस्न कसैलाई पनि छुट छैन, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुंदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’ मन्त्री पुनले भने ।
मन्त्री पुनले अधिकृतभन्दा माथीका कर्मचारीलाई सचिव, मन्त्री वा विभागिय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन दिए ।