खाडीचौर–जिरी सडक नियमित सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन भन्दै नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल समक्ष बुझाईएको ध्यानाकर्षण पत्रमा लेखिएको छ– ‘सडक बिस्तार कार्य सुरु भएसँगै दोलखा र सिन्धुपाल्चोक जिल्लाका नागरिकहरुले निक्कै सास्ती र हैरानी खेप्दै आएको भन्दै सडक जस्तो अति संवेदनशील क्षेत्रलाई सधै भरी सञ्चालन हुने गरी आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ ।’
प्रमुख जिल्ला अधिकारी रिजालले आफु भोली नै सडकको बारेमा स्थलगत अनुगमनमा जाने र सुधारका लागि आवश्यक प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।
खाडीचौरदेखि तामाकोसीसम्मको सडक विस्तारले यात्रुहरुलाई कष्टपुर्ण यात्रा गर्न बाध्य छन् । यस समस्या चाँडै सुल्झाउनको लागि प्रमुख जिल्ला अधिकारी रिजाललाई ध्यानाकर्षण पत्र बुझाईएको दोलखाका नागरिक अगुवा तथा बरिष्ठ सञ्चारकर्मी चिरञ्जीवी मास्केले बताए । जस्तो सुकै अवस्थामा सडक जाम हुन नदिनका लागि आवश्यक उपायहरुको अबलम्बन गर्न सम्बन्धि सरोकारवाला निकायहरुलाई आवश्यक निर्देशन होस् भनेर ध्यानाकर्षण गराईएको नेपाल पत्रकार महासंघ, दोलखाका अध्यक्ष जीवन लामाले बताए ।
केही दिनदेखि रात्रीकालीन अवस्थामा सडक बन्द गरी सडक सुधार गरे पनि हेभी सवारीसाधन र बर्षाको समयमा सडक मर्मत गर्ने वित्तिकै विग्रने गरेको छ । नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेश सदस्य रविन्द्र गौतमले भने, त्यस्ता हेभी सवारीसाधनको मध्येनजरी गरी गुणस्तरीय सडक बनाउन आग्रह गरिएको छ । सम्वन्धित निर्माण कम्पनी लगायत अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी सडक निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरिय किसिमले निर्माण गर्ने वातावरणका लागि समेत नागरिक समाजले आग्रह गरेको हुराडेक नेपाल दोखलाका अध्यक्ष उद्धव पोखरेलले बताए ।