गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो। धवलागिरी गाउँपालिका–१ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने ट-यो। तर लाच्थावाङ र घुर्म खोलामा एकाएक बढी आउने क्रम अँझ पनि जारी छ। बिहीबार पनि एकाएक बाढी आउँदा सो क्षेत्रमा आतंक सिर्जना भएको थियो।
गत बुधबार दिउँसो लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो। बाढीमा बगेका केही अँझै बेपत्ता छन्। दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो। तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ।
प्रशासनले सिरान क्षेत्रमा भीषण वर्षा भएका कारण बाढी आएको आशंका गरेको छ। दोर्दीमा बाढी आउनुको खास कारण अहिलेसम्म यकिन नभएको लम्जुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए। ‘सुरुमा हामीले थुनिएको नदी फुटेपछि बाढीको रूप लिएको हुनसक्ने अनुमान गरेका थियौं तर पछि हामीले त्यो अनुमानलाई नकार्यौं,’ भट्टराईले भने, ‘खोला थुनिएको भए बहाव घट्नुपर्ने थियो तर घटेन। त्यही भएर खोला थुनिएको होइन भन्ने निष्कर्षमा पुग्यौं। ’ सिरान क्षेत्रमा भीषण वर्षा भएकाले बाढी आएको अनुमान गरेको उनले बताए।
पानी परेको छैन भनेर तल्लो तटीय क्षेत्रमा ढुक्कले बस्ने अवस्था छैन। तल पानी नपरे पनि सिरानबाट एकाएक बाढी आउँछ।
लम्जुङ र म्याग्दीका खोलामा एकाएक आएको बाढी र त्यसले पारेको क्षतिका यी उदाहरण मात्र हुन्। पछिल्लो समय वर्षा नहुँदा पनि माथिल्लो भेगबाट भीषण बाढीपहिरो आउने गरेको छ, जसले तल्लो तटमा क्षति पुर्याउने गरेको छ। म्याग्दीको गुर्जा गाउँका दुईवटा झोलुंगे पुलसमेत जोखिममा पार्दै खोलाले पश्चिम म्याग्दीदेखि बागलुङ, पर्वत हुँदै कालिगण्डकी नदी बग्ने जिल्लामा समेत क्षतिको सम्भावना बढाएपछि प्रशासनले खोला वरपरका बासिन्दालाई सुरक्षित र सर्तक रहन सूचना नै जारी गरेको थियो।
जिल्लाको विकट गाउँका खोंचमा बग्ने खोलामा एकाएक आएको बाढीले मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार, बेनी नगरपालिका–४ सिंगा तातोपानी बजार संरक्षणका लागि बनाइएको तटबन्ध नै कटान गरेको छ। डेढ दशकपछि दुवै खोलामा भीषण बाढी आएको गुर्जाबासी बताउँछन्।
तल्लो क्षेत्रमा सामान्य वर्षा भइरहेको अवस्थामा खोलामा एकाएक भीषण बाढी आउँदा सर्वत्र त्रास फैलिने गरेको छ। हिमाली क्षेत्रमा लगातारको वर्षासँगै जमेको हिउँलाई बगाएर ल्याउँदा बाढी आएको हुनसक्ने गाउँपालिकाका प्रवक्ता एव म वडाध्यक्ष झकबहादुर छन्त्यालको अनुमान छ। सिरान क्षेत्रमा भीषण वर्षा भएको र त्यसले बाढी निम्त्याएको अनुमान गरिए पनि बाढी आउनुको वास्तविक कारण कसैले खुट्याउन नसकेको उनले बताए।
‘हामीले थाहा पाएदेखि अहिलेसम्मकै भीषण बाढी यो पटक आयो,’ उनले भने, ‘१५ वर्षअघि पनि यसरी नै एकाएक बाढी आएको थियो तर अहिलेको जति भीषण थिएन। ’ खासै वर्षा नहुने माथिल्लो क्षेत्रमा पछिल्लो समय लगातार वर्षा हुन थालेपछि तल्लो भेगका बासिन्दामा त्रास उत्पन्न हुने गरेको उनको भनाइ छ।
हिमाली क्षेत्रमा लगातार वर्षा हुन थालेपछि खोलाको सतह ह्वात्तै बढेको गुर्जाका स्थानीय खिमबहादुर छन्त्यालले बताए। ‘दुवै खोलामा एकैपटक बाढी आउँछ, तीन पटकसम्म यस्तै भएको छ,’ छन्त्यालले भने। हरेक १५ वर्षमा दुवै खोलामा तीन पटकसम्म भीषण बाढी देखेको बताउँदै यस पटकको बाढी सबैभन्दा ठुलो भएको छन्त्यालले बताए।
गुर्जाबासीलाई लाच्थावाङ खोला पुग्न करिब एक घण्टा र घुर्मखोला पुग्न दुई घण्टा लाग्छ। बस्ती टाढाको उक्त ठाउँमा गोठ र खेतीपाती गर्ने क्षेत्र भएकाले स्थानीयले उर्लिएर आएको भेल देखेपछि गाउँमा खबर गरेका थिए। त्यस्तै मुदीसँग सीमाना जोडिएको गुर्जाकै फोल्डिङ खोलाको पहिरो पनि केहीबेर थुनिएको थियो। तीनवटै खोला उर्लिएर आएपछि म्याग्दी खोलामा करिब पाँच घण्टा रुख–दाउरा बगाएर ल्याएको थियो।
‘तल्लो क्षेत्रमा वर्षा नहुँदा पनि एक्कासि खोला उर्लिएर आउँछ, हिमाली क्षेत्रबाट समयमै सूचना नआउँदा तल्लो भेग जोखिममा छन,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘पानी परेको छैन भनेर तल्लो तटीय क्षेत्रमा ढुक्कले बस्ने अवस्था छैन। तल पानी नपरे पनि सिरानबाट एकाएक बाढी आउँछ, जसले जनजीवनमा जोखिम बढाएको छ। ’ सिरान क्षेत्र धेरै उचाइमा रहेको र बस्तीभन्दा निकै टाढा भएकाले पनि बाढी आउँदा थाहा नपाइने अवस्था रहेको उनले बताए।
उनका अनुसार साँधुरो खोंच भएर बगेकाले पहिरोले खोला थुनिने समस्या पनि उत्तिकै छ। गत बुधबार यस्तै बाढी आएको माथिल्लो भेगका केही बासिन्दाले थाहा पाएर तल्लो भेगमा पूर्वसूचना दिँदा क्षति नभए पनि भविष्यमा यस्ता समस्या समाधानका लागि माथिल्लो भेगका बस्तीमा पूर्वसूचना प्रणाली राख्नुपर्ने प्रजिअ अधिकारीको भनाइ छ। प्रजिअ भट्टराई लम्जुङमा तल्लोभन्दा पनि माथिल्लो भेगमा जोखिम बढ्दै गएको बताउँछन्। ‘अनुमान गरेभन्दा फरक तरिकाले खोलामा बाढी आउन थालेको छ। यो अध्ययनको विषय हो,’ उनले भने, ‘माथिबाट एकाएक भीषण बाढी आउँछ, अनि तल्लो भेगमा क्षति पु-याउँछ। ’
भूगर्भका जानकारहरू भने भूकम्पले समेत चर्किएका पहाड अब पहिरोसँगै बग्ने जोखिममा रहेको र त्यसले खोला थुनिने सम्भावना रहेको बताउँछन्। भूगर्भविद् श्रीकमल द्विवेदी तल्लो तटीय क्षेत्रका बासिन्दा पछिल्लो समय सिरान क्षेत्रबाट आउने बाढीका कारण जोखिममा रहेको बताउँछन्। उनका अनुसार हिमाली क्षेत्रमा जमेर बसेको हिउँ जलवायु परिवर्तनको असरले वर्षासँगै पग्लिएर बाढी आउने र तल्लो क्षेत्रमा जोखिम निम्त्याउने गरेको उनले बताए।
लम्जुङको दोर्दीमा एकाएक बाढी आउनुको कारण पनि हिमपहिरो हुनसक्ने अनुमान गरिएको छ। माथिल्लो भेगमा हिमचुलिरहेको र हिमपहिरोको कारण तल्लो क्षेत्रमा बाढीको विनाश निम्तिने गरेको छ। ‘पहिरोका कारण हो भने खोला थुनिनुपर्ने हो। खोला थुनिएपछि खोलामा पानीको बहाव घट्नुपर्ने हो,’ द्विवेदीले भने, ‘दोर्दीमा त्यो समस्या छैन। सिरान क्षेत्रमा भीषण पानी परेको पनि छैन। त्यसबाहेक सिरान क्षेत्रमा हिमताल पनि छैनन्। त्यसैले हिमपहिरोको सम्भावना बढी छ। ’ यो समाचार अाजको नागरिक दैनिकमा छ ।