आज नेवार समुदायको यःमरी पुन्ही

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही (पूर्णिमा) पर्व मनाउँदैछन् । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो ।

नेवार समुदायमा यःमरीको विशेष महत्व छ । जन्मदिनलगायत विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानको रुपमा लिन्छन नेवार समुदाय । यःमरी मठमन्दिर र मानिसका जोडा जन्मदिन (दुई वर्ष, चार वर्ष) का अवसरमा नभई नहुने पकवान भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताउँछन्– ‘नेवार समुदायमा नयाँ घर निर्माण गरी धुरी पूजा गर्दा, दुई वर्ष, चार वर्ष, छ वर्ष र १२ वर्षको जोडा जन्मदिन मनाउँदा जोडा यःमरी चढाउने, भीमारथारोहण, तान्त्रिक पूजा विधि र चह्रे पूजा, सांस्कृतिक गुठी भोजमा यःमरी राखेर भोज खाने प्रचलन छ ।’

यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ । त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन रहेको धौभडेल बताउँछन् ।

‘यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाउँदा अन्न वृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ ।’ धौभडेल थप्छन्, ‘यसरी चढाएको यःमरी चार दिनपछि विवाहिता जेठी छोरी बोलाएर उसको हातबाट प्रसाद खाइसकेपछि यःमरी पुन्ही सकिन्छ ।’
यःमरी पुन्हीको दिन नेवार समुदायले आफ्ना गाउँ, टोलछिमेकमा यःमरी भाका गाउँदै यःमरी माग्ने चलन छ । तिहारमा देउसीभैलो खेलेजस्तै यस दिन नेवार समुदाय टोलछिमेकमा यमरी भाका गाउँदै यःमरीसँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलन गर्ने प्रचलन रहेको छ ।


यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको संस्कृतिविद् धौभडेलको भनाइ छ । धौभडेलका अनुसार लिच्छवीकालीन समयदेखि नै यःमरी माग्ने प्रचलन चल्दै आएको हो । तर आधुनिकतासँगै स्थानीय कला, संस्कृति लोप हुने क्रममा यःमरी माग्ने प्रचलन पनि लोपोन्मुख अवस्थामा पुगेको धौभडेल बताउँछन् ।

यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र संस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको नेवार समुदायका अग्रजहरु बताउँछन् ।

आजकै दिनलाई ज्यापु समुदायले भने ‘ज्यापु दिवस’को रूपमा समेत मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका