ओली-प्रचण्डको व्यक्तित्व टकरावको प्रहार व्यवस्थामाथि

बुद्धछिरिङ मोक्तान राजनीतिक विश्लेशक
काठमाडाैं

पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि मुलुकमा जुन राजनीतिक परिस्थिति उत्पन्न भएको छ त्यसले नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात प्राप्त लोकतान्त्रिक गणतन्त्र र संघीयता व्यवस्था नै संकटमा परेको छ । प्रधानमन्त्री ओलीले यो असंवैधानिक कदम चाल्नुको पछाडि मूलतः तीनवटा कारणहरुले काम गरेका छन् । पहिलो, वैचारिक सैद्धान्तिक कारण; दोस्रो, राजनीतिक कारण र व्यक्तित्व टकरावका कारण हुन् ।

पहिलो कारणसँग जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद जोडिन्छ । तत्कालिन नेकपा (माओवादी)ले मालेमावाद (माक्र्सवाद, लेनिनवाद, माओवाद) वा प्रचण्डपथलाई विसर्जन गरेर वा मालेमावाद (माक्र्सवाद, लेनिनवाद, माओवाद) वा प्रचण्डपथको विकसित रुप एक्काइसौं शताब्दीको जनवादको कार्यक्रम जुन चुनवाङ बैठकबाट अघि सार्यो, त्यसले शान्ति र संविधान निर्माणको कार्यक्रम अगाडि बढायो, शान्ति र संविधानको लागि संविधानसभा प्रस्थान बिन्दु बन्यो । त्यहाँबाट अवतरण भएर आउँदाखेरि एक्काइसौं शताब्दीको जनवाद चाहीँ तत्कालको कार्यनीतिक योजना बन्यो । रणनीतिक योजना त सबै कम्युष्टि पार्टीको साम्यवाद नै हो । यता तत्कालिन नेकपा (एमाले)ले (पहिले नै मदन भण्डारीले) जनताको बहुदलीय जनवाद भनिसकेको थियो । कालन्तरमा जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद एउटै एउटै हो भन्ने निष्कर्शमा दुबै राजनीतिक पार्टी पुग्यो र पार्टी एकतासम्म पुग्यो ।

दोस्रो राजनीतिक कारणसँग जोडिएर आउने कुरा भनेको मुलुकलाई गणतन्त्रसम्म लैजाने कुरा थियो । मुलुकलाई गणतन्त्रसम्म लैजाने कुरा लामो रणनीतिक कार्यक्रम थियो । तत्कालिन स्थितिमा जनताको बहुदलीय जनवाद एक्लैले मात्रै मुलुकलाई गणतन्त्रसम्म पुर्याउन सक्दैन थियो । मुलुकलाई गणतन्त्रसम्म ल्याउने कार्य चाहीँ मालेमावाद (माक्र्सवाद, लेनिनवाद, माओवाद) वा प्रचण्डपथले नै गरेको हो । एक्काइसौं शताब्दीको जनवादले नै मुलुकलाई गणतन्त्रसम्म पुर्यायो । जनताको बहुदलीय जनवादले त संवैधानिक राजतन्त्र नै स्वीकार गरेको थियो । यद्यपी त्यसलाई उनीहरुले आलोचकीय समर्थन भनेका थिए । पार्टी एकता पछि आएर यी दुबै बिच राजनीतिक रुपमा झगडा कहाँ भयो भन्दा एक्काइसौं शताब्दीको जनवादवालालाई गणतन्त्र हामीले ल्याएका हौं त्यसैले हामी मूल शक्ति हौं भन्ने र जनताको बहुदलीय जनवादवालालाई चाहीँ नेकपा (माओवादी) सांगठनिक रुपमा विगठन भएपछि हाम्रो बलियो सांगठनिक आधार माथि उभिन आएको हो भन्ने बिच भयो । ‘घर आएको पाहुना’ भनेको त्यही हो । घर आएको पाहुना पनि सत्य हो र गणतन्त्र ल्याएको पनि सत्य हो । दुबै बिच राजनीतिक टकराव यहाँ रह्यो ।
त्यही राजनीतिक टकराव तेस्रो कारण व्यक्तित्व टकरावमा पुग्यो । केपी शर्मा ओलीलाई मेरो घरमा बास दिएको भन्ने थियो भने प्रचण्डलाई मैले गणतन्त्र ल्याएको भन्ने थियो । अस्ति भृकुटी मण्डपमा केपीलाई प्रचण्डले भने- ‘तिमी त बयलगाडावाला नै रहेछौ, हामीले गणतन्त्रवादी भयो भनेर ल्याएका थियौं ।’ राजनीनिक कारण व्यक्तित्व टकरावमा आयो । बाहिरा देखिँदा जम्माजम्मी व्यक्तित्व टकराव जस्तो देखिए पनि त्यो राजनीतिक कारण आएको व्यक्तित्व टकराव थियो ।

नेकपा (एमाले) र नेकपा माओवादी) बिच पार्टी एकता पछि यसको रुपान्तरणको विधि पनि तय भएको थियो । सैद्धान्तिक रुपमा यसलाई समाजवाद उन्मूख जनताको जनवाद भनेर संलेशन गरियो । अब जनताको बहुदलीय जनवाद पनि नभन्ने र एक्काइसौं शताब्दीको जनवाद पनि नभन्ने भन्ने थियो । राजनीतिक रुपमा वर्तमान संविधानको उपलब्धीलाई टेकेर अघि बढ्ने भनियो र व्यक्तित्वको व्यवस्थापनमा पनि दुई अध्यक्ष हुने र पालैपालो चलाउने भन्ने सहमति थियो । यसलाई उनीहरुले टिकाउन सकेन, सहमति तोडियो, ध्वंश भयो र अहिलेको परिस्थिति सिर्जना भयो ।

अहिले मुलुकमा जुन राजनीकि परिस्थिति उत्पन्न भयो यसको कारण डबल नेकपा भित्रको आन्तरिक कलह मात्रै थियो त ? होइन, थिएन । आन्तरिक कहल वा व्यक्तित्व टकरावका कारण वाह्या शक्तिले खेल्ने मौका पाएपछि अहिलेको स्थिति सिर्जना भएको हो । माथि भनिए झैं पार्टी एकता पछि रुपान्तरणको जुन विधि तय गरिएको थियो यसलाई टिकाउन नसक्नुको अर्को कारण चाहीँ भू-राजनैतिक कारण बन्यो । राजनीतिक रुपान्तरणको हल निकाल्दा निकाल्दै पनि वा मिलाउँदा मिलाउँदै पनि फेरि पनि छिद्रा त थियो नै, राजनीतिमा छिद्राहरु रहन्छन् नै । ती छिद्राबाठ बिआरआइ, एमसिसि, आइपिएसलगायत छिरे । भू-राजनीतिकै कारण छिद्रा फाट्दै गए र अहिलेको परिस्थिति पुग्यो, पुर्याइयो । वाह्य शक्तिहरुको प्रहार नभएको भए छिद्रा विस्तारै पुरिँदै जान्थ्यो । यो स्थिति आउने थिएन । अन्ततः यो अवस्थामा आयो ।

तथापि पुरानै अवस्थामा फर्किन सक्ने अवस्था अझै छ किनभने उनीहरुको वैचारिक सैद्धान्तिक कुरा यथावत छन् । व्यक्तिगत टकरावमा केपी ओली पनि कमजोर भएन र प्रचण्ड पनि कमजोर भएन । वाह्या शक्ति ‘न्यूट्रलाइज’ भयो भने उनीहरु जुधिरहनु पर्दैन । त्यो सम्भावना अझै पनि बामदेव गौतमले देखिराखेको छ । रामबहादुर थापा बादल पनि त्यही अध्यायमा रहिरहेको छ । प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएपछि केपी ओलीले फोन गरेर स्वाथ्यलाभको कामना गरेपछि सून्य अवस्था तोडिएको पनि छ । अहिले ओली र प्रचण्ड बिचको सम्बन्ध प्रेमसँगै टकरावको स्थितिबाट गुज्रिएको अवस्था हो ।

वर्तमान स्थिति पैदा हुनुमा वैचारिक र सैद्धान्तिक कारणले प्रभाव पारेन । व्यक्तिगत टकरावले भूमिका निर्वाह गर्यो । केपी ओलीले आफू बलियो हुनाका लागि दुईधारे तरवार चलाए । एक धारले देश भित्रका सबै प्रतिस्पर्धी शक्तिहरुलाई सिध्याउने र अर्को धारले बाह्य शक्तिहरुलाई तह लगाउने नीति लियो । यो उनले टिकाउन सक्दैन भनेर मैले सगरमाथा टेलभिजन प्रोग्राममा पनि भनेको थिएँ । वास्तवमा अहिले त्यही भयो । चीनका लागि उसैको कुरा गरिदिने र एमसिसिको पनि कुरा गर्ने । त्यसरी सबैलाई खेलाउँछु भन्दा उ असफल भए ।

नेपाल जस्तो सानो देशले यस्तो खेल खेल्न असम्भव प्रायः छ । तर सिङ्गापुरमा लिक्वान युले सक्यो, जबकी सिङ्गापुर नेपाल भन्दा पनि सानो देश हो । जनसंख्या पनि थोरै भएको देश । एउटा सिटीस्टेट जस्तो । इतिहासको यो अनुभव पनि छ । लिक्वान युले आन्तरिक रुपमा सबै दलहरुलाई पेलेरै ७० वर्षसम्म एकछत्र राज गरे ।

लि क्वान यु पश्चिमा पुजीँवादको कठोर समर्थक भएकोले उसले सिङ्गापुरमा कम्युनिष्टलाई छिर्नै दिएन । जसरी सोभियत क्रान्ति सम्पन्न भएपछि पूर्वी यूरोप पुरै कम्युनिष्ट भए त्यसरी नै चीन र कोरियन क्रान्ति पछि पूर्वी एसिया पुरै कम्युनिष्ट भएन । किन त ? भन्दा लि क्वान युको कारणले । तर, लि क्वान युले कम्युनिष्ट विस्तार हुनबाट रोके पनि चिनले लि क्वान युलाई दुस्मन मानेन । लि क्वान युलाई चिनले दुस्मन मानेको भए अहिले नेपालमा केपी ओलीको हालत जे भयो त्यही हुन्थ्यो । चीनले सिङ्गापुरलाई पश्चिमा मोडलकै राज्य हुन दिए । चीनीया मोडलको बनाउन चाहेन । त्यो चीनीयाहरुको दूरदृष्टि थियो, देङस्याओपिङ कालिन दूरदृष्टि थियो । जसलाई उग्र माक्र्सवादीहरुले संशोधनवाद भनेर आरोप लगाएका थिए ।

चीनले आफ्नो छिमेकी मुलुक सिङ्गापुरमा पुँजीवादी कार्यक्रम ल्याउन दिनु भनेको संशोधनवाद वा वर्ग समन्वयवाद नै थियो । चीनले त वर्ग संघर्ष चर्काउनु पथ्र्यो तर उसले त्यसो गरेन । सिङ्गापुरलाई पश्चिमा मोडलको पुँजीवादी राज्य बन्न दियो । यसका पछाडि दुईवटा कारणले काम गरेका छन्- पहिलो, चीनलाई पुँजीवादी व्यवसायीक निकासको मार्ग चाहिएको थियो । त्यो सिङ्गापुर हुन्थ्यो किनभने हङकङ बेलायतको कब्जामा भएकोले त्यतिबेला त्यो त्यहाँबाट सम्भव थिएन । त्यसैले सिङ्गापुर रहन दियो । चीनले पश्चिमासँग दुस्मनि भए पनि सिङ्गापुरलाई पश्चिमासँगको निकासको बाटो बनाई राख्यो । दोस्रो, सिङ्गापुरमा चीनीयाहरु थिए । जस्तोसुकै परिस्थिति भए पनि मूलभूमि चीनले चीनीया जनताप्रति सद्भाव राख्छ । सिङ्गापुरमाथि चीनले त्यही नीति लियो ।

अब नेपालको कुरा गरौं । नेपाल र भारत दुबै देशको शासक हिन्दु ब्राम्हण हुन् । जसरी चीनीयाहरु मूलभूमि चीनबाट अन्यत्र फैलिए, त्यसैगरी नै नेपालका हिन्दु ब्राम्हणहरु हिन्दुस्तानबाट नेपाल आएका हुन् । जसरी मूलभूमि चीनबाट फैलिएका डायस्पोरा चीनीयहरुलाई चीनले हेर्ने गर्छ त्यसैगरी नेपाली हिन्दु शासकहरुलाई पनि भारतले हेर्ने हो । तर यहाँका शासकहरुले भारतलाई नेपालको दुस्मन देखाइरह्यो । भारत नेपालको लागि जहिले पनि खतरा हो भनेर देखाइराखेर देशभित्र आफ्नो सत्ता टिकाइराख्ने एउटा ट्याक्टिस पहिले देखिनै अपनाउँदै आएको थियो, छ । वास्तवमा उनीहरुले भारतलाई दुस्मन मान्दै मान्दैन । नेताहरुको स्वास्थ्य उपचारदेखि प्रत्येक लोकतान्त्रिक आन्दोलनमा भारतको सहयोग रहिआएको छ । भारतको सहयोग बिना सम्पन्न भएको जनआन्दोलनको इतिहास छैन । नेताहरुको सुरक्षा र सेल्टरदेखि लिएर उनीहरुको छोराछोरीलाई छात्रवृत्ति दिने भारत कुन अर्थमा दुस्मन हुन सक्छ ? भारत त उनीहरुको मित्र हो, अझ मित्र मात्र होइन संरक्षक हो । तर, भारतलाई बाहिर प्रस्तुत गर्दाखेरि नेपालको सार्वभौमसत्ता माथिको खतरा हो भनेर किन देखाउँछ यहाँका शासकहरुले ? यो कुरा हामीले बुझ्नु पर्दछ । यहाँ छ नेपाली राजनीतिको मुख्य खेल ।

नेपालका शासकहरुले पनि भन्न सक्नु पर्थ्याे कि भारत हाम्रो मूलभूमि हो भनेर । त्यो सकेनन् उनीहरुले । अहिले पनि उनीहरु काशि जान्छन् तर भारत हाम्रो सार्वभौमसत्ता माथिको खतरा हो भन्ने ढोङ गर्छन् । राजनीतिमा इमानदारिता चाहिन्छ, ढोङ चल्दैन । त्यसले गर्दाखेरि उनीहरुले जहिले पनि अर्न्तराष्ट्रिय रुपमा कृतिम कुरा गरिरहनु पर्यो । कृतिम कुरा गरिरहनु पर्दा समस्या समाधान गर्न सकिएन र ओली असफल भए ।

भारत नेपालको सार्वभौमसत्ताको खतरा भनेर देखाउँदा यहाँका शासक, सम्भ्रान्तहरुले सबै जनताहरुलाई पनि भारत विरोधी बनाउँछ । भारत दुस्मन देखेपछि उसलाई त दुस्मन देख्दैन । नेपाली जनताको वास्तविक दुस्मन त हिन्दु शासकहरु हुन्, गोर्खालीहरु हुन् । यहाँका आदिवासी भूमिपुत्रहरुले गोर्खाली विस्तारवादतिर फर्केर दुस्मनी गर्ला भनेर उता दुस्मनी देखाएर चलाखीपूर्ण शासन गरिरहेका छन् यहाँका शासकहरुले । भारतले त नेपाललाई तेल दिएको छ, रेल पठाएको छ, सेनामा रोजगारी दिएको छ । सारा उसले नै गर्ने फेरि पनि दुस्मनी भनेर किन देखाउँछ त ? यो गोर्खालीहरुले आफ्नो औपनिवेशिक सत्ता टिकाइराख्नका लागि अर्कोलाई औपनिवेशिक देखाएर मनोवैज्ञानिक लडाइ लडाइराखेको छ । अब यसलाई भत्काउनु पर्छ । यो खेलले नै यहाँका शासकहरुलाई असफलताको भड्खालोमा लगिरहेको छ ।

नेपाललाई भारतले असलि हिन्दुस्तान भन्ने र राजालाई हिन्दु सम्राट मान्ने तर नेपालका हिन्दुहरुले चाहीँ नेपालको सार्वभौमसत्ता माथिको खतरा हो भनेर भनिरहने । त्यो त ढोङ थियो । त्यो ढोङ नरचेको भए उनीहरुले यहाँका आदिवासी भूमिपूत्रसँग सत्ता साझेदारी गर्नु पथ्र्यो । त्यो उनीहरु चाहदैनथ्यो । त्यो नचाहनले गर्दा र नेपाललाई आफ्ना सुरक्षित स्वर्ग बनाइराख्न भारतलाई सँधै दुस्मनी देखाइराख्यो त्यो उनीहरुको लागि कष्टसाध्य भयो । जबकि सिङ्गापुरमा लि क्वान युका लागि चीन दुस्मन थिएन । सिङ्गापुरले चीन कम्युनिष्ट देश हो तर हाम्रो दुस्मन चाहीँ होइन भने । लि क्वान युलाई चीन हाम्रो मूलभूमि हो भन्ने कुनै कुनै प्रकारको आत्मियता थियो । नेपालका शासकहरुले पनि भन्न सक्नु पर्थ्याे कि भारत हाम्रो मूलभूमि हो भनेर । त्यो सकेनन् उनीहरुले । अहिले पनि उनीहरु काशि जान्छन् तर भारत हाम्रो सार्वभौमसत्ता माथिको खतरा हो भन्ने ढोङ गर्छन् । राजनीतिमा इमानदारिता चाहिन्छ, ढोङ चल्दैन । त्यसले गर्दाखेरि उनीहरुले जहिले पनि अर्न्तराष्ट्रिय रुपमा कृतिम कुरा गरिरहनु पर्यो । कृतिम कुरा गरिरहनु पर्दा समस्या समाधान गर्न सकिएन र ओली असफल भए । उसलाई भारतले विश्वास गरेन । केपी ओलीलाई मात्र होइन अहिले भारतले न प्रचण्डलाई विश्वास गर्छ, न माधव नेपाललाई । ओलीको ‘स्मार्ट’ चलखेल भारतले चलखेल नगर्दासम्म टिक्यो । नेकपाको दबदबा, एकता भारतले चलखेल गर्नसाथ सकियो । अहिले त्यही भएको हो ।

केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि ‘म भारतवादी पनि होइन, चीनवादी पनि होइन, अरु कुनै वादी पनि होइन, म नेपालवादी हुँ’ भनेको थियो । त्यसको मतलव म सबैलाई उपयोग गर्न सक्छु भनेकै हो । उसले त्यो भारतलाई भनेको थियो । मान्यता त तेपाल भारतको सुरक्षा फ्रेमभित्रको देश हो भन्ने नै थियो । ओलीको त्यो भनाईको तात्पर्य हामी तिम्रो त्यो सुरक्षा फ्रेमभित्रबाट स्वतन्त्र भयौं भन्ने नै हो । आखिर अहिले उसको घाँटीमा तरबार आएपछि त्यही भारतको सल्लाहमा व्यवस्थामाथि, संविधानमाथि प्रहार गर्यो । संसद्माथि हिन्दुस्तानको सल्लाह बिना हान्न सकेन उसले । त्यति कमजोर मान्छेले किन त्यस्तो हुँकार दिएको ? केपीको हुँकार नक्कलि थियो । नक्कली कुराले देश चल्दैन । त्यसैले अब भारतलाई हेर्ने हाम्रो नयाँ राजनीतिक दृष्ट्रिकोण चाहिन्छ ।

इतिहासमा नेपालको भारतसँग जति पनि सम्बन्धहरु छन्, भारतलाई दुस्मन देखाएर नेपालले चीन वा आमेरिका वा अन्य वाह्य मुलुकहरुको सद्भाव वा सहयोगमा यो देश विकासको गति अगाडि बढाउँछु भनेर सम्भव देखिँदैन । भारतलाई मित्र राख्दै अन्य मित्र राष्ट्रहरुको सहयोग लिने लिक्वान यु मोडल नेपालको लागि उपयुक्त छ ।

अब केपी शर्मा ओली कता जान्छ ? अब उ नेपाललाई हिन्दु राज्य बनाउने एजेण्डामा गयो । उसले जे गर्न नहुने थियो त्यही गर्दैछ । जुन कुरा उसले म गर्दिन भन्नु पथ्र्यो त्यही एजेण्डामा गयो उ । त्यसले त अब झन भड्खालोमा हाल्छ उसलाई । देशभित्रको शक्ति सन्तुलन त झन बिगार्ने भयो उसले । भारतको संस्थापनले अहिले जुन नेपाललाई हिन्दुराष्ट्र बनाउने एजेण्डा ल्यायो त्यो त बाह्रबुँदे सम्झौताले नै अस्वीकार गरिसकेको कुरा थियो । नेपाललाई हिन्दुराष्ट्र बनाउने एजेण्डा त भाजपाको मात्र हो, सिङ्गो भारतको होइन । त्यो कुरा भर्खरै श्यामशरणको लेख प्रकाशन पछि प्रष्ट भैसक्यो । श्यामशरण बाह्रबुँदे सम्झौताको पावर ब्रोकर मध्ये एक हुन् । अहिले भाजपा र केपी ओली बिचमा जुन ट्याक्टिकल गठबन्धन भयो त्यसले केपी ओलीलाई यति बल दियो कि उसले असंवैधानिक कार्य गर्न समेत हिम्मत गरे । हिन्दुराज्यको उग्रदक्षिणपन्थी एजेण्डामा केपी गएकोले नै प्रचण्डले उलसाई तिमीले कलंक लगाइस भनेका हुन् । यी सबै कृतिम हिसाबले खडा गरिएका परिस्थितिहरु हुन् । आप्रवासीहरुले शासन गर्दाखेरि यस्तै हुन्छ । आदिवासीहरुको शासनमा जनता जहिले पनि सम्झन बाध्य हुन्छ किनकी उ त्यहाँको आदिवासी हुन्छन् । आप्रवासीहरुले जनता चाहिने बेलामा सम्झिन्छन् नचाहिने बेलामा सम्झिदैनन् । स्पेनिसहरुले ल्याटिन अमेरिकामा अपनाएको नीति र अमेरिकामा डोनाल्ट ट्रमको नीति त्यही हो ।


अब वैकल्पिक राजनीतिक शक्तिले यहाँ स्पेस पाउँछ । यसको लागि कम्तिमा दश वर्ष र धेरैमा पन्ध्र वर्ष समय भने अवश्य लाग्छ । तर, अबको दशदेखि पन्ध्र वर्षमा कि त कांग्रेस कि त कम्युनिष्ट एउटा पार्टी चाहीँ टाट पल्टिन्छ ।

अब नेपालमा केपीको दक्षिणपन्थी एजेण्डा काम लाग्दैन । अहिले नयाँ निर्वाचन हुने कि संसद् पुनःस्थापना हुने भन्ने टकराव छ । यसमा निर्वाचन पनि हुन सक्छ र संसद पुनःस्थापना पनि हुन सक्छ । अहिले त्यसैको शक्ति संघर्ष जोडले चलिराखेको छ । आ-आफ्नो नाफा नोक्सान हिसाब गरिराखेका छन् सबैले । त्यसमा हिन्दुस्तान संसद् पुनःस्थापना चाहँदैन । एमसिसि पास नगर्ने संसद् अमेरिकाले नचाहने नै भयो । प्रचण्डहरु नयाँ निर्वाचनको लागि तयारी पनि गर्ने र संसद् पुनःस्थापनको लागि पनि बल गर्नेमा लागेको छ । तर, नेपाली कांग्रेस चाहीँ नयाँ निर्वाचनको लागि मात्र तयारी गर्नेतिर छ किनभने संसद् पुनःस्थापना हुँदा कम्युनिष्ट पार्टी फेरि बलियो हुन्छ, पुरानो अवस्थामा फर्किन सक्छ भन्ने छ । त्यसैले उ त्यो चाहँदैन । उ कम्युनिष्ट बिभाजित भएको हेर्न चाहन्छ । तर, चीन चाहीँ कम्युनिष्ट विभाजित होस् भन्ने चाहँदैन । चीनको मनोविज्ञान भनेको कथम्कदाचित बिभाजन भईहाले पनि त्यो तिमीहरुको आन्तरिक कुरा हो भन्नेतिर छ किनभने उ नेपालको बारेमा त्यति धेरै टाउको दुखाएर बस्दैन । उसको विश्वमा ठूलो बिजनेस छ । संसद् पुनःस्थापना वा निर्वाचन जे भए पनि अब जम्माजम्मि केपी ओलीको प्रधानमन्त्री चाहीँ अन्तरिम प्रधानमन्त्री हो । संसद् पुनःस्थापना भयो भने नैतिकताको आधारमा राजीनाम दिएर निस्कनु पर्ने हुन्छ । निर्वाचन नै हुने भयो भने केपी ओलीको नेतृत्वमा निर्वाचन कांग्रेसले पनि स्वीकार्दैन । जनता समाजवादी पार्टीको यहाँ खासै भूमिका हुँदैन । संसद् पनुःस्थापन भए पनि खासै लाभ छैन उसलाई । निर्वाचनै भए पनि थोरै प्राप्ति गर्ने हो उसले । तर हाल नेपाल लगायत विश्वभर नै क्यापिटलिष्ट र कम्युनिष्ट शक्तिहरुको गिर्दो साख र शक्तिको विकल्पमा एउटा नयाँ वैचारिक संश्लेषण र ठोस रणनीतिसहित आफ्नो राजनीतिक कार्यदिशालाई अगाडि बढाउन सकेमा जसपाले वैकल्पिक शक्ति बन्ने अवसर भने बनेको छ । जहाँसम्म संवैधानिक व्यवस्थाको ‘डिरेल’को सवाल छ त्यसमा कांग्रेसभित्र रामचन्द्र पौडेल खेमा कांग्रेस भनेको संविधानवादको पक्षधर हुन् त्यसैले हामीले लाभ र हानि हेर्नु हुँदैन । संविधानवादको मूल मान्यतामाथि प्रहार भएपछि घटै भए पनि यसको विरुद्धमा डट्नु पर्छ भन्ने मत छ । तर शेरबहादुर देउवाको मत चाहीँ होइन नाफा नोक्सान हेर्नु पर्छ भन्नेमा छ । देउवा राजनीतिमा यति त चलिहाल्छ, हिजो मैले पनि गरेकै हो, गिरिजा बाबुले पनि गरेकै हो भन्ने पक्षमा छ ।

अहिलेको यो सिङ्गो घटना क्रमले के देखाउँछ भने यिनीहरुको सत्ताको आयु चाहीँ अन्तिम अन्तिमतिर आइसकेको छ । अब वैकल्पिक राजनीतिक शक्तिले यहाँ स्पेस पाउँछ । यसको लागि कम्तिमा दश वर्ष र धेरैमा पन्ध्र वर्ष समय भने अवश्य लाग्छ । तर, अबको दशदेखि पन्ध्र वर्षमा कि त कांग्रेस कि त कम्युनिष्ट एउटा पार्टी चाहीँ टाट पल्टिन्छ । यो परिस्थिति बन्छ बन्छ ।

विश्वमा अन्यत्र पनि यस्तो भएको छ जहाँ पश्चिमी विचारधाराका जगमा निर्माण भएका पुँजीवादी (कांग्रेस) र कम्युनिष्ट शक्तिहरु ईण्डिजिनिष्ट शक्तिसँग पराजित हुन पुगेको छ । २१ औं शताब्दीको प्रारम्भ दशकबाटै विश्वमा कम्युनिष्ट र पुँजीवादी शक्ति भन्दा पृथक ईण्डिजिनिष्ट शक्तिहरु उदय भयो जसले राज्य औपनिवेशिकताबाट राज्यविहिन राष्ट्रहरुलाई मुक्ति दिलायो । रिक्त स्थान नयाँ ईण्डिजिनिष्ट शक्तिले लिनेछ जुन शक्तिले नेपाली गणतन्त्रको औपनिवेशिक चरित्रको अन्त्य गरी नेपाललाई एक बहुलराष्ट्रिय राज्यको रुपमा रुपान्तरण गर्नेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका