थारु समुदायको बडघर प्रथाले कानुनी मान्यता पायो

सैलुङअनलाइन संवाददाता
बर्दिया

माघी नदिकिदै गर्दा बर्दियाको बारबर्दिया नगर क्षेत्रभित्र रहेका थारु आदिवासी समुदायको परम्परागत बडघर संस्थाले कानुनी मान्यता प्राप्त गरेको छ । पुस २५ गते शनिवार सम्पन्न नगरपालिको आठौं नगरसभाले ‘बारबर्दिय नगरपालिका बडघर संस्था परिचालन ऐन २०७७’ पारित गरेपछि आदिवासी थारुको मौलिक परम्पराले कानुनी मान्यता प्राप्त गरेका हो ।

नगरकार्यपालिकाले निर्माण गरेको ऐन अनुमोदनका लागि नगरसभामा पेश गरीएको थियो । सभाले ऐनमा रहेका केही शब्दावली सुधार गर्नुपर्ने सुझाव दिँदै पास गरेको हो ।

थारुहरुको मौकिल परम्परागत प्रणालीलाई कानुनी मान्यता दिई संस्थागत गरेको यो नै नेपालको पहिलो स्थानीय तह हो । यसअघि बडघर प्रथालाई कुनै पनि स्थानीयतहले कानुनी मान्यता दिएको थिएन । यद्यपी स्थानीय तह लगायतका सरकारी कार्यालयमा बडघरलाई साक्षीको रुपमा स्विकारे पनि संस्थागत रुपमा कानुनी मान्यता दिएको दिएन ।

नगरले पारित ऐनमा बडघरको चयन, उनीहरुको कार्यक्षेत्र, कामकर्तव्य अधिकार क्षेत्र, मर्यादा लगायतका समेटिनुका साथै बडघरले आफ्नो कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियम विपरित नहुने गरी काम गर्न सकिने उल्लेख गरीएको छ ।

त्यसैगरी ऐनमा नगरपालिकाका जनप्रतिनीधिहरुसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झै झगडा समाधान गर्ने, गाउँ टोलमा आईपर्ने जुनसुकै काममा सक्रिय सहभागीता जनाउनेलगायत समुदायमा सामाजिक, सांस्कृति र आर्थिक सद्भाव कायम राख्ने कार्य वडघरको काम कर्तव्य अधिकारभित्र रहेको उल्लेख गरीएको छ ।

त्यसैगरी बडघर प्रथामा कायम रहने सहायक बडघर र चौकीदार समेतको काम कर्तव्य अधिकारको बारेमा पनि उल्लेख गरीएको छ । सहायक बडघरको कार्य बडघरको अनुपस्थितीमा गाउँको नेतृत्व गर्नु हो भने चौकीदारको कार्य गाउँमा आवश्यक सूचना प्रवाह गर्नुपर्ने उल्लेख गरीएको छ ।


थारुहरुको महान पर्व तथा नयाँ वर्षको रुपमा मनाइने माघी पर्व आउन थालेको छ । माघी कै समयमा समुदायमा बडघरको छनौट गर्ने गरीन्छ । ऐनमा बडघरको चयन थारु परम्परा अनुसार नै गर्नुपर्ने उल्लेख गरेको छ ।

ऐन पारित भएपछि परम्परागत रुपमा चल्दै आएको वडघर प्रथा संस्थागत भएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले बताए । उनले भने, ‘सदियौँदेखि जिम्मेवारी पुरा गर्दै आएको गाउँ टोलको सबैभन्दा लोकतान्त्रिक विधिलाई हामीले संस्थागत गरेका छौँ । ऐनले बडघर प्रथालाई व्यवस्थीत मर्यादित र संस्थागत गर्नेछ ।’

पछिल्लो समयमा जनप्रतिनीधि आएपछि बडघरको महत्व घट्दै गएको थियो । संस्थागत मान्यता दिएर नगरपालिकाले परम्परागत बडघर प्रथाको समुदायको शिर्ष स्थानमा राखेको छ । अझै पनि थारु समुदायमा बडघरको नेतृत्व बिना कुनैपनि सामाजिक कार्य गरिदैन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका