बस्ती बीचबाट रेलमार्ग बन्ने भएपछि विरोध

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

मानव वस्ती बीचबाट रेलमार्ग बन्ने भएपछि निजगढका स्थानीयले सो को विरोध गरेका छन । मेची-महाकाली रेलमार्ग अन्तर्गत निजगढ खण्डमा घनावस्ती रहेको निजगढ बजारको बीचबाट रेलमार्गको ट्रयाक निर्माणको लागी सर्वे भएपछि विरोध जनाएका हुन् ।

रेलमार्गको निजगढ-हेटौडा-भरतपुर खण्ड अन्तर्गतको निजगढ खण्डमा सर्वे गर्ने क्रममा स्थानीयले अवरोध गरेका हुन् । आफुहरुलाई कुनै जानकारी बिनै नीजी जग्गामा ट्रयाक निर्माणकोलागी सिमांकन गरेपछि निजगढ बजार क्षेत्रका स्थानीयले अवरोध गरेसंगै सर्वे गर्ने कार्य तत्कालकोलागी स्थगित भएको रेलमार्गबाट प्रभावित स्थानीय विष्णु खड्काले बताए । मेची-महाकाली रेलमार्गको अहिले निजगढ नगरपालिकाको वडा नम्बर ९ संग सिमाना जोडिएको रौतहटको गुजरामाई नगरपालिका क्षेत्रमा ट्रयाक निर्माण कार्य भईरहेको छ ।

सोही ट्रयाक अनुसार रेलमार्ग निजगढ नगरपालिका वडा नम्बर ९ हुदै निजगढको घनावस्ती छिचोल्दै अघि बढ्नेछ । रेलमार्गको ट्रयाक निर्माणकोलागी लालबकैया नदीको करिडोर प्रयोग गर्दा उत्तम हुने देखिएपनि रेल बिभागले मानव वस्तीको बीच भागबाट ट्रयाक खोल्नकोलागी सर्वे गरेको भन्दै विरोध गरेको प्रभावित खड्काले जनाए ।

ट्रयाक निर्माणकोलागी सर्वे गर्ने क्षेत्रमा निजगढ नगरपालिकासंग समेत कुनै समन्वय गरिएकोथिएन । यसैक्रममा वडा नम्बर ९ र ८ का स्थानीयहरुले मंगलबार निजगढ नगरपालिकालाई ज्ञापनपत्र पेश गरेका छन् ।


स्थानीय प्रभावितवासी तर्फबाट प्रतिनिधि बिष्णु खड्काले निजगढका मेयर सुरेशकुमार खनाललाई ज्ञापनपत्र हस्तान्तर गरिएको थियो । मंगलबार निजगढ नगरपालिकाको कार्यालयमा आयोजित रेलमार्गबाट प्रभावित स्थानीय नागरिकहरु र जनप्रतिनिधिहरु बिचको छलफलमा खड्काले प्रभावित वासीहरुको तर्फबाट सो ज्ञापनपत्र पेश गरिएको हो । ज्ञापनपत्रमा मेची महाकाली रेलमार्ग अन्तर्गत निजगढ-हेटौंडा-भरतपुर खण्डको सर्वे गर्ने क्रममा निजगढ नगरपालिका क्षेत्रको घना वस्ती र बजार क्षेत्रभित्र स्थानीयको घरजग्गा अधिग्रहण हुनेगरी सर्वे भईरहेकोले सो कार्य निजगढ नगरवासिहरुको हितमा नहुने उल्लेख गरिएको छ । रेलमार्ग निर्माण पश्चात निजगढको बिकासमा थप मद्धत पुग्ने भएपनि घना वस्ती बीच ट्रयाक निर्माण गर्दा थप बिनाश र वाधा अवरोध समेत सृजना हुने ज्ञापनपत्रमा भनिएको छ । ट्रयाक निर्माणकोलागी लालबकैया नदिको किनारालाई प्रयोगमा ल्याउन सकिने भएपनि नगर भित्रका स्थानीयको घर र उब्जाउ भुमि समेत अधिग्रहण हुनेगरी ट्रयाक निर्माण गर्न लागेकोले सो कार्यप्रति प्रभावित स्थानीयहरुको असहमति रहेको र निजगढ नगरपालिकाले नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागसंग समन्वय गरि निजगढ नगरपालिका भित्रको घरजग्गा अधिग्रहण नहुनेगरी लालबकैया नदीको छेउबाट ट्रयाक निर्माणको लागि ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।

छलफलको क्रममा ज्ञापनपत्र ग्रहण गर्दै निजगढका मेयर खनालले रेल बिभागसंग आफुले सो विषयमा कुराकानी गरेको बताए । उनले प्रभावित नागरिक र जनप्रतिनिधिहरुसंग रेल विभागका प्रतिनिधिहरुले छलफल गरेर ट्रयाक निर्माणको आगामी योजना अघि बढाईने बताए ।

यदि निजगढ बजार क्षेत्रबाट ट्रयाक निर्माण भएमा निजगढ नगरपालिकाको वडा नम्बर ९ सहित वडा नम्बर ८ र ४ लगायत निजगढ नगरपालिका अन्तर्गत नै पर्ने साविकको रतनपुरी गाविस पनि प्रभावित हुनेछ । यसो भएमा सरकारलाई स्थानीयको घरजग्गा अधिग्रहण गर्ने क्रममा अर्बौं रुपैंयाको भार समेत थपिन सक्दछ । तर लालबकैया नदी करिडोर हुदै ट्रयाक निर्माण भएमा स्थानीयको जग्गा अधिग्रहण पनि गर्न नपर्ने र स्थानीयको अवरोध पनि नहुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका