मलेसियामा एकैदिनमा हालसम्मकै धेरै संक्रमित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
मलेसिया

मलेसियामा कोरोना भाइरस (कोभिड-१९)बाट दैनिक संक्रमित भएकाहरूको संख्या मंगलबार हालसम्मकै सबैभन्दा धेरै देखिएको छ । मलेसियाका अधिकारीहरूका अनुसार मंगलबार तीन हजार ३०९ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या महामारी शुरु भएदेखि दैनिक संक्रमितहरूको संख्यामा अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूले बताएका छन् । मलेसियामा कोरोनाका कारण अहिलेसम्म कूल एक लाख ४१ हजार ५३३ जना संक्रमित भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।


मन्त्रालयका महानिर्देशक नुर हिशन अब्दुल्लाहले जारी गरेको प्रेस वक्तव्यमा नयाँ संक्रमितमध्ये ६ जना देश बाहिरबाट संक्रमित भएरै आएको र अरू ३ हजार ३०३ जना देश भित्रै एकबाट अर्कोमा सरेको उल्लेख गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भएका मध्ये थप चार जनाको मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको कूल संख्या ५५९ पुगेको छ ।

मलेसियामा अहिले पनि ३० हजार ३९० जना संक्रमित अवस्थामै रहेका छन् भने तीमध्ये १९० जना अति सघन उपचार कक्षमा रहेका छन् । त्यसैगरी ८३ जनालाई श्वास प्रश्वासका लागि अक्सीजन दिनु परिरहेको पनि अधिकारीहरूले जनाएका छन् । देशका गृहमन्त्री हम्जाह जैनुदिन पनि कोरोनाभाइरसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये जनैदिन तेस्रो मन्त्री हो । यसअघि आर्थिक मामिला मन्त्री मुस्तपा मोहमद र महिला, परिवार तथा सामुदायिक विकास मन्त्री रिना हरून पनि संक्रमित भएको थियो ।

तपाईको प्रतिक्रिया