लिम्बू समुदायको च्याब्रुङ र धाननाच प्रशिक्षण

सैलुङअनलाइन संवाददाता
ताप्लेजुङ

ताप्लेजुङको फुङलिङ नगरपालिकाले आदिवासी लिम्बू समुदायको मौलिक बाजा केःलाङ (च्याब्रुङ) र नाच याःलाङ (धाननाच) बारे वडा ४ का लिम्बूहरुलाई सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको छ ।

फुङलिङ नगरपालिका वडा नं. ४ को चालू आर्थिक वर्षको स्वीकृत बजेटबाट केःलाङ र याःलाङ प्रशिक्षण दिइएको वडाध्यक्ष जीतेन चेम्जोङले जानकारी दिए ।

नगरपालिकाका आन्तरिक लेखा परीक्षक भूपालकुमार सेन्दाङका अनुसार केःलाङ र याःलाङ प्रशिक्षणका लागि दुई लाख रुपैयाँको बजेट रहेको थियो । वडाको बजेटबाट उपभोक्ता समितिमार्फत् केःलाङ र याःलाङको तालिम सञ्चालन गरिएको सेन्दाङले बताए ।

लिम्बू समुदायमा विवाह, भोजभतेर, विभिन्न कार्यक्रमलगायतका अवसरमा बेग्लाबेग्लै ताल, लय र भाकामा च्याब्रुङ (केःलाङ) बजाएर नाचिन्छ । च्याब्रुङ लिम्बू समुदायको परम्परागत लोकबाजा हो ।

लिम्बु समुदायका मानिसले आफ्नो उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्छन् । यस्तो समय झ्याम्टाको साथमा च्याब्रुङ बजाइन्छ ।


धान नाच लिम्बू जातिको प्रमुख नृत्यमा पर्दछ । लिम्बू भाषामा धान नाचलाई याःलाक्मा भनिन्छ । लिम्बू भाषामा ‘याः’ भनेको धान हो भने ‘लाक्मा’ भनेको कुल्चनु हो । यसरी याःलाक्मा धान कुल्चे झैं गरी विस्तारै-विस्तारै अगाडि-पछाडि गर्दै नाचिन्छ ।

सुरुमा ३ देखि ७ पुस्तासम्म साइनो सोधी युवायुवतीहरू एकअर्काको हात समाई वरपर गरी मिठो स्वरमा पाःलाम (गीत) गाउँदै याःलाक्मा नाच्ने प्रचलन समेत छ ।

कतै भुलवश युवायुवतीमा साइनो लाग्ने भए ३ पटक सेवारो अर्थात् नमस्कार गरेर त्यही आफ्नो पालम रोकी अललिने प्रचलन छ । कहिले सामूहिक घेरा बनाई ख्याल ठट्टा गर्दै दोहोरी गाउँदै हातमा हात राखी फन्को मारेर धान नाच्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका