टर्चर

काठमाडाैं

एउटा अर्धसिल्ली छ
निहुँ मात्र खोजिरहन्छ
मैमत्त भएर हिँड्छ र बोल्छ
जान्नेसुन्ने सम्झन्छ आफूलाई ।
कमेडियन जस्तो हँसाइरहन्छ
जोकरहरूको ताली खाइरहन्छ
हसाउँदा हसाउँदै रुवाउँछ
ऊसँग आजित छ दुनियाँ ।

एउटा अर्धसिल्ली छ हजुर
एउटा अर्धसिल्ली ।

छद्मभेषी रुपमा प्रस्तुत हुन्छ
माक्र्सको अभिनय गर्छ
लेनिनको जस्तै टाउको हो भन्छ
जबजको अनुयायी हुँ भन्छ
जेठो कान्छोको हिसाब गर्छ ।
गुरु सम्झन्छ आफूलाई
मानववादी हुँ भन्छ
राष्ट्रवादी हुँ भन्छ
लोभ छैन भन्छ
पाप छैन भन्छ
स्वार्थ हैन भन्छ
तर, आलोचना निषेध गर्छ
मान्छेको मूल्य तोक्छ ।
सङ्षर्घको फेहरिस्त सुनाउँछ
त्यागको उपन्यास वाचन गर्छ
आत्मप्रशंसाको कविता लेख्छ
भ्रमको महायज्ञ लगाउँछ
आफ्ना भक्तहरूलाई लठ्याउँछ
र भावभङ्गी मिलाउँदै मुठी कसेर भन्छ
समाजवाद हाम्रो देब्रेतिरबाट आउँछ ।

एउटा अर्धसिल्ली छ हजुर
एउटा असली अर्धसिल्ली ।

रेलिङ भाँचिएको इतिहास छ
विरोधका लागि विरोध गरिएको
क्षण क्षणको सम्झना छ
सडकको आवाज स्याल हुइयाँ हो भन्छ
आफू मात्र असल सम्झन्छ ।
लोकतन्त्रको भारी बिसाउन खोज्छ
प्रभुको खोपीमा सङ्घीयता डुबाउन खोज्छ
लिङ्ग, वर्ग र क्षेत्रको सपना
फगत दृष्टिदोष सम्झन्छ
प्रतिगमनकारी कदम चाल्छ
निहुँ मात्र खोजिरहन्छ
झोंकमा सुन्दर घर जलाउँछ ।
जनताको विश्वासमा कुठाराघात गर्छ ।
विरोधीहरूलाई सिध्याउँछु भन्छ
प्रेम गर्नेलाई पनि टर्चर दिन्छ
जनभावनाको विरुद्धमा उभिन्छ ।
एउटा अर्धसिल्ली छ हजुर
एउटा असली अर्धसिल्ली
जो हरदम टर्चर दिइरहन्छ ।
यतिबिध्न टर्चर कसले दिन्छ ?
स्वयम् ऊ सर्वेसर्वा ठानिरहन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका