तामाङ सौन्दर्य: उर्गेनको घोडा विषयक एससीअरसी डिस्कोर्स सेरिज सम्पन्न भएको छ । युग पाठकको प्रस्तुति रहेको उक्त सेरिजमा गान्बा डा. गणेश योञ्जन रहेको थियो । टिप्पणीकार डा. मुक्तसिंह तामाङ र फूलमान बल रहेको कार्यक्रममा बुद्धछिरिङ मोक्तान विशेष वक्ताको रूपमा रहेका थिए ।
प्रस्तोता युग पाठकले तीन खण्डमा आफ्नो प्रस्तुति राखेका थिए । पहिलो खण्डमा सौन्दर्यशास्त्रको सैद्धान्तिक आयामहरू प्रस्तुत् गरे । दोस्रो खण्डमा तामाङ सौन्दर्य हुन सक्छ कि सक्तैन भन्ने सन्दर्भमा बहस भयो । अन्तिम खण्डमा भने उर्गेनको घोडामा सौन्दर्यशास्त्र खोजी गर्दै उपन्यासको जन्म साथै त्यसपछि ग्रहण गर्दाको अवस्थामाथि प्रकाश पारे । उपन्यासकार पाठकका अनुसार सौन्दर्यशास्त्रको विश्व अवधारणा बनिसकेको छ । त्यस्तैगरी पूर्वीय नवरससहितको सौन्दर्यशास्त्र पनि निर्माण भइसकेको छ । ती अवधारणाहरूमा मात्रै सीमित रहने हो भने तामाङ सौन्दर्यशास्त्र सम्भव छैन । यद्यपि, मार्क्सवादी सौन्दर्यशास्त्रलाई स्वीकारेर मात्रै तामाङ सौन्दर्यशास्त्र सम्भव हुन्छ । मार्क्सवादी सौन्दर्यशास्त्रले तामाङ सौन्दर्यशास्त्रको स्वतन्त्र अस्तित्वको मार्ग प्रशस्त गरेको छ ।
यसप्रकार सौन्दर्यको बहुल रूप हुन्छन्; जुन तामाङ राष्ट्रको सामूहिक अवचेनताबाट विकास भइसकेको छ । यहाँ तामाङ सौन्दर्यशास्त्रको चेत स्थापित भइसकेको छ । त्यसलाई साहित्यमार्फत् कलात्मक रूपमा उतार्न मात्रै बाँकी रहेको छ । पाठकका अनुसार सौन्दर्य चेतको उदात्त भाव सबैमा फरक-फरक स्थायीभावका आधारमा हुने गर्दछन् । यस्ता मानवीय भावलाई बेवास्ता गर्दै हिजोको सत्ताले एकै भाव लादेको थियो । त्यसरी परार्इ सौन्दर्यशास्त्रीय भाव लाद्नाले तामाङ सौन्दर्य छैन वा असम्भव छ भन्ने भ्रम परेको हो । प्रस्तुत् उपन्यासकी पात्र म्हेन्दोले सधैँ उर्गेनका सेता घोडा देखिरहेकी हुन्छिन्; जसले तामाङ मौलिक सौन्दर्य भावको प्रतिनिधित्व गरेको छ । अबको कार्य भनेको तामाङ सौन्दर्यशास्त्रमा आधारित भावहरू निर्माण गर्नु हो । निर्माणपछि त्यसको मूल्य निर्धारण गर्न सकेमा ज्ञानको दायरा प्रकाशमा आउने छन् ।
डा. मुक्तसिंह तामाङले, विगतदेखि मूलधारे साहित्यले तामाङ राष्ट्रलाई कसरी प्रस्तुत् गर्दै आएको छ भन्ने तथ्यमाथि प्रकाश पारे । उनका अनुसार अन्य साहित्यभन्दा उर्गेनको घोडा निकै खोजमूलक र तथ्यपरक रहेको छ । उपन्यासले मूलधारको भन्दापनि वैकल्पिक सौन्दर्यशास्त्रको पाटोबाट बहस गरेको छ । डा. तामाङको अनुसार म्हेन्दो मात्रै भनेर हुँदैन । म्हेन्दो पनि कुन या कस्तो भन्ने सवाल गहन रहन्छ । तामाङमा कोम्हेन्दो, स्योम्हेन्दो, न्हङ्गलिङम्हेन्दो, छरम्हेन्दो, म’रम्हेन्दो र मुइम्हेन्दो हुन्छन् । तिनले बोक्ने सौन्दर्यशास्त्रीय चेतना पनि महत्त्वपूर्ण पाटा हुन सक्छन् ।
टिप्पणीकार फूलमान बलका अनुसार, उपन्यासको पात्र म्हेन्दोमा विगतदेखि नै एउटा विद्रोही भाव रहेको देखिन्छ । त्यो भावलाई प्रकट गर्न जनयुद्ध एउटा साधन मात्रै बनेको छ । विगतमा तामाङ राष्ट्रमाथि भएका दमनलाई प्रकट गर्ने सवालमा कृति आएकोले तामाङको भन्दा मूलधारको सौन्दर्य चेतलाई बढी समातेको छ । सोहीक्रममा धर्मवीर क्षेत्रीलाई सकारात्मक पात्र तर अर्को तामाङलाई भिलेनको रूपमा महाकवि देवकाेटाकाे खण्डकाव्य म्हेन्दाेमा प्रस्तुत गरेको छ । त्यो भनेको हिजोदेखि प्रचलनमा रहेको भाष्यको निरन्तरता हो । उपन्यास समग्रतामा व्यवस्था (राज्यव्यवस्था) र संस्कृतिबीचको द्वन्द्वमा आधारित रहेको छ । उपन्यासकी पात्र म्हेन्दो प्रोटागोनिष्ट साथै राज्यव्यवस्था एन्टागोनिष्टको रूपमा उभिएको बलले दाबी गरे ।
बुद्धछिरिङ मोक्तानले सौन्दर्यको भावसँग जीवन र ज्ञानलाई कसरी हेर्ने भन्ने दृष्टिकोण रहेको बताए । मोक्तानका अनुसार बौद्ध विश्वदृष्टिकोणले, ‘रूपम् सून्यता; सून्यतायव रूपम्’ को भावलाई निर्वाणसँग जोडेर हेर्दछ । सोही मान्यतालाई अँगालेको तामाङ सौन्दर्य चेत के हो ? उक्त सौन्दर्य चेतना प्रस्तुत् उपन्यासमा कसरी प्रस्तुत् भएको छ भन्ने सम्बन्धमा प्रकाश पारे । मार्क्सवादी सौन्दर्यको भावबाट माओवादी द्वन्द्वलाई हेर्दा त्यसभित्र वर्ग सङ्घर्ष प्रधान रूपमा देखा पर्दछ । नेपाली परिवेशमा त्यो भन्दा पनि राज्यविहीन् राष्ट्रहरूले भोगेका उत्पिडन बढी रहेका छन् । प्रस्तुत् उपन्यासमा मार्क्सवादी सौन्दर्यबाट मात्रै तामाङ राष्ट्रको मुक्ति सम्भव हुने दाबी गरेको देखिन्छ । यद्यपि, शीर्षनेताले नै त्यसलाई एक किसिमको प्रयोग भनिसकेको छ । त्यसो हो भने तामाङ लगायतका सम्पूर्ण प्रथमराष्ट्रहरूमाथि धोका भएको छ । मोक्तानका अनुसार, दक्षिण अमेरिकी सन्दर्भमा पनि मार्क्सवाद एउटा ऐतिहासिक लज्जाको विषय बनेको भन्ने आरोप लगाउनेहरू देखिएका छन् ।
गान्बा डा. गणेश योञ्जनका अनुसार विश्वमा व्याप्त द्वन्द्वलाई मार्क्सवादले अब पूर्ण रूपमा सम्बोधन गर्न नसक्ने भएको छ । प्रचलित वादहरूका विकल्प स्वरूप नयाँ वादको जन्म भइसकेको छ । त्यो भनेको इण्डिजिनिजम् (आदिवासीवाद) हो । त्यसैले इण्डिजिनिष्ट विश्वदृष्टिकोणको आधारमा अब तामाङको सौन्दर्यशास्त्रको खोजी र निर्माण गरिनु पर्छ । त्यसैले मात्रै तामाङ लगायतका राष्ट्रहरूका सौन्दर्यशास्त्रमाथि पूर्णतः न्याय गर्न सक्ने बताए ।