उपन्यासकार युग पाठकद्वारा लिखित उपन्यास ‘उर्गेनको घोडा’ माथि तामाङ सौन्दर्यको दृष्टिकोणबाट छलफल आरम्भ भएको छ । एससीआरसीले शनिबार काठमाडौं सुकेधारा स्थित युनिभर्सल क्याफेमा आफ्नो नियमित बहस श्रृंखला अन्र्तगत ‘तामाङ सौन्दर्यः उर्गेनको घोडा’ विषयक छलफल कार्यक्रमको आयोजना गरी बहसको आरम्भ गरेको हो ।
बहस श्रृंखलामा उपन्यसकार युग पाठकले ‘उर्गेनको घोडा’माथि रहेर आफ्नो प्रस्तुति दिएका थिए । पाठकले उपन्यास माओवादी जनयुद्धको सिर्जना रहेको बताउँदै सौन्दर्यका बहुल रूप हुने र सौन्दर्य निरपेक्षतामा नभई सापेक्षतामा हुने कुरा प्रष्टाए ।
पाठककाअनुसार सौन्दर्य चेतको उदात्तभाव सबैमा फरकफरक हुने गर्दछन् । ‘मानवीय भावलाई बेवास्ता गर्दै हिजोको सत्ताले नेपाली समाजलाई एकै भाव लादेको र पराई सौन्दर्यशास्त्रीय भाव लाद्नाले नै तामाङ सौन्दर्य छैन वा असम्भव छ भन्ने भ्रम परेको हो ।’ पाठकले भने, ‘उपन्यासका पात्र म्हेन्दोले सधैं उर्गेनको सेता घोडा देखिरहेकी हुन्छिन् जसले तामाङ मौलिक सौन्दर्यभावको प्रतिनिधित्व गरेको छ ।’
डा. गणेश योञ्जन गान्बा रहेको कार्यक्रममा बुद्धछिरिङ मोक्तानले विशेष वक्ताका रुपमा तामाङ सौन्दर्यशास्त्रबारे आफ्ना भनाई राखेका थिए ।
उपन्यासकार पाठकको प्रस्तुति माथि डा. मुक्तसिंह लामा र फूलमान बलले टिप्पणी गरेका थिए ।