रसुवाको ठूलोभार्खुमा अभ्यासरत तामाङ न्यायप्रणाली

फुर्पा तामाङ अधिवक्ता
रसुवा

तामाङ जातिको आफ्नो छुट्टै परम्परागत न्यायप्रणाली रहेका छन् । तामाङ न्याय प्रणाली अलिखित तर सामाजिक स्वीकार्यत प्राप्त छन् । ह्युलछोक्पा (गाउँभेला) तामाङ न्यायप्रणालीको सर्वोच्च अंग हो । ह्युलछोक्पाले कानुनको निर्माण, अनुमोदन र लागु गर्ने गर्दछ । आधुनिक राज्यप्रणालीसँग तुलना गर्ने हो भने ह्युलछोक्पा सरकार, संसद र न्यायलय तीनै अंग हुन् ।

प्रस्तुत तामाङ न्यायप्रणाली रसुवा जिल्लाको ठूलोभार्खु गाउँमा परम्परादेखि चलिआएको हो । ह्युलको अर्थ देश वा गाउँ दुबै हुने भएकोले यो समग्र तामाङको लागि लेखिएको होइन । हुन सक्छ यसलाई सबैले मान्यो भने सबैमा लागु हुन पनि सक्दछन् ।

अनुसन्धानकर्ताको हिसाबले मेरो एउटा बाध्यता हुन्छ, समग्रमा सबै ठाउँका तामाङ न्याय प्रणालीलाई हेर्न सके पनि मिहिन अध्ययन सम्भव थिएन र हुँदैन पनि । त्यसैले मेरो अध्ययनको स्थलगत अवलोकन मेरो आफ्नै गाउँ ठूलोभार्खुमा रह्यो । रसुवाको पनि पहिलेका १८ गाविसहरु र हाल पाँच गाउँपालिकाहरुमा गाउँ अनुसार भिन्नताहरु पाउन सक्न्छन् ।
तामाङ भाषामा ठिम भनेको कानुन र न्याय दुबै हो । तामाङ समाजमा ठिम तीन किसिमको हुँदो रहेछ । ह्युलठिम (स्थानीय कानुन), पेठिम (परम्परागत मूल्य मान्यता) र ग्यालठिम (राजकीय कानुन) । ग्यालठिमको क्षेत्र वृहत हुने गर्दछ । पेठिम पहिलेदेखि चलिआएका परम्परागत मूल्य मान्यताहरु हुन् । यसको पनि क्षेत्र वृहत नै हुने गर्छन् । ह्युलठिम कुनै एउटा निश्चित गाउँको कानुन हो । ठूलो भार्खुको ह्युलठिम धुन्चे र स्याब्रुको ह्युलठिमसँग धेरै मिल्न सक्छ तर सबै नमिल्न सक्छ । कुनै एउटा गाउँको ह्युलठिमले त्यस गाउँलाई सञ्चालन गर्दछ ।

नेपाल अहिले संघीयतामा गईसकेको अवस्थामा हामीले पहिले आफैंलाई पहिचान गरौं । हामीले आफ्नो गाउँ आफैले सञ्चालन गर्ने हो । यो नै ह्युलठिम हो ।

यहाँ प्रस्तुत ह्युलठिमको क्षेत्र पूर्वमा नुवाकोट र सिन्धुपाल्चोकको घोप्टेभिर, पश्चिममा केरुङ नदी, उत्तरमा प्राप्चे, नाच्युङलुङ र दक्षिणमा गोसाइकुण्डको पानी बगेर त्रिशुली नदीमा मिसिने ठाउँभित्रको भूमि हो ।

ह्युल ठिमका स्रोतहरु

तामाङ ह्युलठिमका स्रोतहरुमा मुख्य चाँही धर्म नै रहेछ । तामाङहरु बौद्ध धर्म मान्ने भएकोले बौद्धधर्म एउटा स्रोत हो । अर्को तामाङ समाजमा अभ्यासमा रहेका बोन्पो परम्पराहरु हुन् । लामा पढेपछि टुप्पि काट्छन्, बोम्पोले टुप्पि पाल्छन् । लामाहरु काटमार गर्दैनन् भने बोम्पोहरु बलिपूजा दिन्छन् । त्यसैगरी संस्कृति, परम्परा, नैतिक मूल्य र मान्यताहरु पनि ह्युलठिमका स्रोतहरु हुन् । जस्तो, थोक्रा थरी तामाङले थोक्रा विवाह गर्दैन्न । त्यति मात्र होइन आफ्ना स्वोङभाइहरु मोक्तान, पाख्रिन, स्याङतान लगायत विवाह गर्दैनन् । मृत्यु पछि लास अरुले छुन मिल्दैन । भएसम्म आफ्नै थरी नभए स्वोङभाइसम्मले छुन पाउने हो । यो तामाङ जातीय मूल्य मान्यताहरु हुन् ।

ह्युलठिम निर्माण प्रक्रियाहरु

सबै कानुन निर्माणका आ–आफ्नै प्रक्रियाहरु हुन्छन् । संसदीय व्यवस्थामा संसदले कानुन निर्माण गर्छन् । तामाङ ह्युलठिम निर्माणका पनि आफ्नै प्रक्रियाहरु छन् । चलिआएका ठिमहरु अव्यवहारिक भयो, परिवर्तन गर्नु पर्यो वा खारेज नै गर्नु पर्यो वा नयाँ नियमहरु बनाउनु पर्यो, ह्युलछोक (गाउँसभा/भेला) बोलाएर गर्ने गर्छन् । ह्युलछोक तामाङ ह्युलठिम निर्माणको एउटा संसद रहेछ । ह्युलछोकमा गाउँका सबैजना भेला हुन्छन्, छलफल हुन्छ । एउटा घरधुरी ह्युलछोकको एक सदस्य हो । ह्युलछोकमा घरको मुली अनिवार्य उपस्थित हुनु पर्दछ । घरमुली भनेको घरको बुबा हो । बुबा भएन, आमा उपस्थित हुनु पर्छ । आमा पनि छैन भने जेठा छोरा वा बुहारी वा जेठी छोरी उपस्थित हुनु पर्दछ ।

ह्युलछोक अहिलेसम्म रसुवामा निरन्तर छ । ह्युलछोक पहिले प्रत्येक महिना वा आवश्यक पर्दा जाहिले पनि बोलाउन सक्थ्यो । वर्षको अन्त्यमा एक पटक त हुने नै भए ।

ठूलोभार्खुमा गएको साउन महिनाको १९ गते ह्युलछोक सम्पन्न भयो । ०४६ को परिवर्तन पछि तामाङ ह्युलछोकको नाम परिवर्तन गरी समाज सुधार भनियो । अहिले उही पुरानै तामाङ नाम पुनर्जिवित गर्ने कि भन्ने छलफल चलिरहेको छ ।

ह्युलछोकमा बिहे, घेवा लगायत अन्य सामाजिक कार्यहरुमा कसरी सहयोग गर्ने ? के गर्ने ? भन्ने विषयमा छलफल हुन्छ । पहिले पहिले घेवामा एक फुलु रक्सी र एक फुलु चामल हाल्ने चलन थियो । फुलु माना भन्दा ठूलो हुन्छ । पछि नगदमा सहयोग गर्ने निर्णय भयो । गत साउनको ह्युल छोकले अहिलेसम्म दिँदै आएको ३ सय ५० रुपैयालाई हालको बजार मूल्य अनुसार समायोजन गरी ६ सय रुपैया सहयोग गर्ने निर्णय भयो । यस खालको सहयोगले मराउ परेको घरमा ठूलो सहयोग पुग्ने गर्दछ । आर्थिक अवस्था कमजोर हुने घरपरिवारलाई पनि घेवा कार्य गर्दा ऋण नपर्ने भयो ।

तामाङ न्याय प्रणालीलाई प्रष्ट पार्नका लागि मैले न्याय प्रणालीका कार्यहरुलाई निम्नानुसार विभाजन गरी हेर्ने कोशीस गरेको छु :

१. अंशवण्डा

पैत्रिक सम्पत्तिलाई तामाङ भाषामा ससिफसि भन्छन् । ‘स’ जमिन हो भने ‘सि’ (स्हि वा स्हिङ) भनेको सम्पत्ति वा अंश हो । ‘फ’को अर्थ पुरुष वा पिता हो । पैत्रिक सम्पत्तिको अंशियार को हो ? भन्दा छोराहरु हुने गर्दछ । पैत्रिक सम्पत्ति छोराहरुमा मात्र सर्छ । अंशवण्डा मामाहरुको रोहोवरमा हुन्छ । मामाहरुको उपस्थितिमा, मालपोतमा फड्के किनारा भनेर साक्षी राखे जस्तै मामाहरु साक्षी बसेपछि अंशवण्डा हुन्छ । कहिले काहीँ छोराहरु बीच मनमुटाव भयो भने मामाहरुले भनेपछि मान्नु पर्ने हुन्छ । यो एकदमै बलियो रहेछ ।

जग्गाजमिन भागवण्डा गर्दा कहिले काहीँ बराबरी नहुन सक्छ । यस्तो बेला छानोट गर्न लगाउने र कुरा मिलेन भने गेन पुङबा (गोला हान्ने) गर्दछ । कुनै छोरा लामा बन्यो भने उसलाई अंशवण्डा नहुने रहेछ । धेरै छोराहरु छन् भने कान्छो छोरासँग आमाबुबा बस्छन्, आमाबाबु बस्ने घर कान्छो छोरालाई दिन्छन् । अरु छोराहरु विवाहपछि बाहिर निक्लन्छन् ।

अंशवण्डा गर्दा जिउनी राख्ने गर्दछ जसलाई तामाङमा तोसिङ भन्छन् । ‘तो’ भनेको खाना हो र ‘सिङ’ भनेको खेतबारी । आमाबाबु जिउँदा हुन्जेल कमाइ खाने र मृत्यु पश्चात जस्ले स्याहार गरेको छ, घेवा गरेको छ उसैले पाउने गर्दछ । अंशवण्ड भएपछि उ ह्युलछोकको सदस्य हुन्छ ।

तामाङ महिलाहरुको स्त्रीधन पनि हुने गर्दछ । स्त्रीधनलाई तामाङ भाषामा म्हसि वा म्हनुर भन्दछन् । विवाह हुँदा दिएका गहनाहरु स्त्रीधन हुन् । स्त्रीधन महिलाको निजी हुन्छ । त्यसमा पुरुष वा पतिको हक लाग्दैन । अर्को जो (पेवा) पनि स्त्रीधन नै हो । छोराहरुले अंश पाउँछन् छोरीहरुले पाउँदैनन् । त्यसैले छोरीहरुको भविष्यलाई लिएर दुरदर्शिता अपनाएको होला, जो । छोरीचेलीहरुलाई आमाबुबाले सानैमा राम्रो उत्पादन हुने खेत वा बारी दिन्छन् । उसले विवाह नहुँदासम्म त्यो बारी वा खेत कमाउन पाउँछन् । उत्पादनलाई नगदमा परिणत गरी खुमा (थैली)मा संकलन गर्दै जान्छन् । जो दिँदा बाख्रा, कुखुरा, गाई आदि पनि दिन्छन् । जो बनाउन तामाङ चेलीहरुले छ्याङ छोङ (छ्याङ/रक्सी व्यापार) पनि गर्छन् ।

दम्पत्ती बीच मनमुटाव भयो, सँगै पनि बस्न नसक्ने र छुटिना पनि नसक्ने भयो । तर, पति पत्निलाई सम्बन्धविच्छेद दिन चाहन्छ र पत्निले पनि स्वीकार्यो भने यस्तो अवस्थामा पतिले पत्निलाई उसँग भएको गरगहनाको दोब्बर दिनु पर्ने हुन्छ त्यो वच्र्यल हो । यो पनि तामाङ महिलाको स्त्रीधन भित्रै पर्दछ ।

२. विवाह

तामाङहरु विवाह गर्दा रुइ/ह्रुइ (थर) र न्हेग्याम (दूधको साइनो) हेर्ने गर्छन् । आफ्नै थर र स्वोङभाइ बीच विहेवारी चलाउँदैनन् । एउटै आमाका दिदीबहिनीहरु बीचको दूध साइनो पनि बार्छन् । एउटै आमाका दूध चुसेका दिदीबहिनीहरुका छोराछोरीहरु बीच पनि विवाह गर्न निशेध छ । तर, फुपुचेला र मामाचेली बीच भने विवाह हुन्छ ।

तामाङमा केटा मानिसको वंश सर्दै जान्छ भने केटीहरुको वंश उनीहरुको जीवनकालभरि मात्र हो । तामाङ चेलीको थर परिवर्तन हुँदैन । एकजना थोक्र केटी जुनसुकै थरी तामाङसँग विहे गरे पनि उ उसको जीवनकालभरी थोक्रा नै रहन्छे ।

देवरले भाउजु विवाह गर्छन् तर बुहारीलाई भने छुन हुँदैन । जेठीसासु छुन हुँदैन, सालीसँग ख्याल ठट्टा गर्न मिल्छ । अर्को, मितेरी साइनो बीच पनि विहेवारी वर्जित छ ताकि त्यो फरक थर वा वंशका मितेरी साइनो नै किन नहोस् । यो हाम्रो सामाजिक नियम हो, नैतिक नियम हो ।

ह्युलठिमले वर्जित कुरा गरे उसलाई दण्ड सजायको पनि व्यवस्था छ । यी ठिमहरु उलङघन गरे ह्युल छोकको निर्णय अनुसार छुटाउने, छिडिमा थुन्नेदेखि गाउँ निकालासम्मको सजायको व्यवस्था रहेको छ ।

३. विवाहको प्रकार

तामाङको विवाह मागी, तानि (घिस्याउने), जारी र भागि विवाह हुँदा रहेछन् । कसैको छोरीचेली कसैले तानेर लग्यो भने माइतीहरु गएर उनी विवाह गर्न राजी छ कि छैन भनेर सोधिन्छ । राजी छ भने विवाह हुन्छ । जारी विवाहमा पूर्वपतिलाई विवाह गर्दा लागेको खर्चको दोब्बर धनराशी तिर्नुपर्छ । पहिले पहिले त जार काट्ने चलन नै रहेछ पछि राज्यको कानुन लागु भएपछि काट्न छोडे । जुनसुकै प्रकारबाट विवाह भए पनि पेठिम बुझाउनै पर्दछ । पेठिम गर्नु सामाजिक मान्यता प्राप्त गर्नु हो । विवाहले सामाजिक मान्यता प्राप्त गर्न टोलछ्याङ र ह्वार्चा गर्नै पर्दछ । तामाङ समाजमा केटी पक्ष असाध्यै बलियो हुन्छन् । केटी पक्षलाई उच्च आदर र सम्मान दिनु पर्दछ । टोलछ्याङ गर्नु भनेको क्षमा याचना गर्नु हो । ह्यार्चा गर्दा पोम्पो, गेन्बो, बाबुआमा, दाजुभाइ गाउँका ठूलाबडाहरुले चौरीको घिउको टिको लगाई बेहुला बेहुलीलाई आशिर्वाद दिन्छन् । हिन्दू विवाहमा सिन्दुरको जतिकै महत्व राख्दछ ह्यार्चामा लगाउने घिउले । हिमालको डाँफे र बेँसीको कल्चौडा चरा अनि पहाडको पहाले समेत सुन्यो, अब तिमीहरुले विवाह भएन भन्न पाउँदैन भनेर सिङ्गो समाज नै साक्षी राखेर विवाह सम्पन्न गर्दछन् । सामाजिक मान्यता प्राप्त भएन भने विवाह भएको मानिदैन । सामाजिक मान्यता प्राप्त गर्नु तामाङ विवाहको महत्वपूर्ण पक्ष हो ।

विवाह नगरी जन्मिएको बच्चा प्रोकोला (झड्केलो) हो । प्रोकोलाले आफ्नै बाउको रुइ ग्रहण गर्दछ ।

दोस्रो विवाह पनि तामाङ समाजले मान्यता दिएको पाउँछौं । पहिलो श्रीमतिबाट जायजन्म भएन वा छोरो भएन भने पहिलो श्रीमतिको स्वीकृतिमा पुरुषले दोस्रो विवाह गर्न पाउँछन् । यो वंशलाई प्राथमिकता दिँदो रहेछ भन्ने प्रमाण हो । वंश निरन्तरता प्राकृतिक कुरा पनि हो । विज्ञानले पनि कुनै प्रजातीको लोप नहोस् भन्ने गर्दछ ।

अन्र्तजातीय विवाह तामाङ समाजमा स्वीकृत थिएन, अहिले हुन थालेको छ । अन्र्तजातीय विवाहको अस्वीकृति सुद्ध नश्लसहितको प्रजाती संरक्षण हो भन्ने लाग्छ मलाई । दुई बेग्ला बेग्लै नश्लको वर्णशंकरबाट ठिमाह सन्तान पैदा हुने हो । जस्तो, याक र गाईको वर्णशंकर चौरी हो । फेरी याक र चौरीको वर्णशंकर किर्को जन्मन्छ । यसको मतलव अर्को जाति नराम्रो भनेको होइन । तर, हामी यदि तामाङ पहिचानको कुरा गर्छौं भने यो पनि त हुनु पर्यो नि ।

अर्को, पुरुष वा महिला, पति वा पत्निको मृत्यु भयो भर्ने विवाह गर्न हुन्छ कि हुँदैन ? हुन्छ । तर, त्यसको लागि दु (दुङाल बेन्पा) सकिनु पर्दछ । रसुवाको ठूलोभार्खुमा कुनै पुरुष वा महिला मृत्यु भए उसको पति वा पत्निले तीन वर्षसम्म विवाह गर्दैनन् ।

त्यसैगरी झुक्याएर विवाह गर्यो भने पनि केटीले अस्वीकृति जनाए विवाह बदर हुन्छ । विवाह पछि परिवारको जिम्मेवारी वहन गर्नु पतिको कर्तव्य हो । यदि पतिले विवाह पछि जाँडरक्सी खाने, पत्निलाई कुटपिट गर्ने गरेमा पत्निले सम्वन्धविच्छेद गर्न पाउँछन् । यसरी गरिने सम्बन्धविच्छेद दुई किसिमले सम्पन्न हुने गर्दछ । महिलाले सम्बन्धविच्छेदका लागि आफ्ना माइतीहरुलाई केटाकोमा लिएर जान्छन् । यसपछि घरपरिवारबाटै गर्ने कि ह्युलछोकमा लैजाने भन्ने हुन्छ । घरपरिवारबाट हुन नसके ह्युलछोकबाट सम्बन्धविच्छेद हुन्छ । सम्बन्धविच्छेद गर्दा काठको सिन्को भाँच्ने र धागो चुडाउने गर्दछ । यो मुल्मिको रोहोवारमा हुन्छ । सिन्को भाँच्ने र धागो चुडाउने गरे पछि नजिकको कुवा वा धारामा गएर कपाल पखाल्ने गर्दछ । त्यसलाई ‘सेमकि दुङाल दुल, ल्हुइकि दुङाल दुल’ (मनको दुःख पखाल्नु, शरिरको दुःख पखाल्नु) भन्छन् । केटाले सम्बन्धविच्छेद गर्दा वच्र्यल (मन बुझाउनि) दिनु पर्दछ ।

कसैको जायजन्म भएन के गर्ने ? उसले धर्मपुत्र ग्रहण गर्नु पर्यो । धर्मपुत्र ग्रहण गर्नुलाई जा जाङबा भन्छन् । धर्मपुत्र राख्दा सकेसम्म आफ्नै वंशभित्रको हेर्ने गर्छन् । वंश भित्रको नभए सोङभाइ भित्र जाने गर्दछन् । यो भनेको वंश हेर्ने रहेछ । धर्मपुत्रले प्राकृत सन्तानले जस्तै बाबुआमालाई गर्नु पर्ने सबै कर्तव्य पालन गर्नु पर्ने हुन्छ । अंशको हक पनि उसैमा सर्दछ । कसैको छोरी मात्र छ, छोरा छैन के गर्ने ? उनीहरुले घरज्वाइ ल्याउन सक्छन् । घरज्वाइ ल्याउनुलाई तामाङ भाषामा म्हा गोमा भन्छन् । तर, घरज्वाइलाई अंश भने सर्दैन । यस्तो स्थितिमा अंश छोरीकोमा सर्ने गर्दछ, घरज्वाइमा होइन । तर, घरज्वाइलाई हेर्ने दृष्ट्रिकोण भने सम्मान जनक नै हुन्छ ।

भार्खुमा अपुतालीलाई अपुता भन्छन् । कुनै दम्पत्तीको छोराछारी भएन, उसले धर्मपुत्र पनि ग्रहण गरेन भने उनीहरुको भरण पोशणदेखि अंशको हक नजिकको दाज्युभाइमा सर्दछ । त्यो पनि छैन भने सोङभाइमा सर्छ । त्यो पनि भएन भने गाउँमा जसको जग्गाजमीन छैन उनीहरुलाई अंशीभाइ भनि दिने गर्दछ । अंशीभाइ बीचमा पनि वैवाहिक सम्बन्ध वर्जित हुन्छ । यो चाँही एउटै रुइ वा वंश नहुन पनि सक्दछ ।

दोज्या चिवो ङाग्र्याल (यौनका कुरालाई लिएर मर्ने मार्नेसम्मको लडाइ झगडा) भन्ने छ । जार काट्ने चलन पनि त्यही हो । आफ्नो श्रीमतिलाई अरुले नजर लगाएको देख्न नसक्नु नै हो त्यो । पछि लामा बौद्ध धर्मको अभ्यास गर्दै गएपछि त्यो पनि कम हुँदै गयो । तर, कहिले काहीँ नियतवस नगरेको, असावधानीवस घटना घट्यो के गर्ने ? यस्तोमा दुशित मनस्थिति छ कि छैन भनेर हेरिदोँ रहेछ । दुशित मनस्थिति छैन भने क्षमा दिँदो रहेछ ।

चोरीलाई भने तामाङ समाजले राम्रो मान्दो रहेनछ । चोरीलाई तामाङ समाजले हेय भावले हेर्दो रहेछ । फलनाको बाउ चोर, फलनाको दाइ चोर भने पछि त्यो केटाको विवाह नै नहुँदो रहेछ । सबै कुरा छेक्न सक्ने रहेछ । विहे असाध्यै महत्वपूर्ण रहेछ । विवाहमा समकक्षी हेर्दो रहेछ तामाङहरुले । मृत्युमा जस्तो सबै हारहुर गएर काम गर्दो रहेनछ । विष दिएर कसैको मृत्यु गरायो भने पनि त्यस्तै हो । त्यस्तो विष दिएर मान्छे मार्नेको छोरी विहे गर्ने ? भनेर प्रश्न उठाईंदो रहेनछ । यस्तोमा नैतिक रुपमा अप्रत्यक्ष रुपमा उनीहरुलाई सजाय दिँदो रहेछ । यस्तो कार्य फेला पर्यो भने सार्वजनिक गर्ने गर्दो रहेछ ताकि उनीहरुको छोरा नातिसम्मले त्यस्तो कार्य नदोहोर्याओस् ।

त्यस्तो गर्नेलाई दर्सिङ (झण्डा) गाड्ने भन्छन् । किला गाडेर आगनमा बाँध्ने रहेछ । यो त वस्तु जस्तै त हो नि भन्दा रहेछन् । यसो गर्दा उसलाई नैतिक समस्या आउँदो रहेछ । अनि सिस्नु पानी लाईदिने, छिँडिमा लगेर थुन्ने गर्दा रहेछन् । लोग्ने हुँदा हुँदै परपुरुषसँग अनौतिक यौन सम्बन्ध राखे सिस्नु पानी लगाउने, गालामा चट्काउने, डोरीले हात पछाडि बाँधेर लडाउने, छिँडिमा लगेर थुन्ने सजाय हुँदो रहेछ । हाड नाताभित्र करणी गरेको थाहा भाए आयन्द नगर्ने शर्तमा कसम खुवाएर माफि माग्न लगाउने, गर्भ नै बसेको छ र छुटि भिन्न बस्न नसक्ने अवस्था भएमा कालोमोसो दलेर, गाउँ घुमएर गाउँबाटै निकाला गरिदिने रहेछ ।

अनौतिक सम्बन्धबाट गर्भ रहन गयो भने जसको विर्यबाट सन्तान भयो उसैको वंश दिने गर्दछ । सम्बन्धपछि लोग्नेले अस्वीकार गरे जोसँग करणी गर्यो उसैसँग जिम्म लगाईदिने र स्वीकार गरे सँगै बस्न सक्दछ । तर, यसको लागि साङ ताङबा (सुद्धिकरण पूजा) लाउनु पर्छ । उमेर नपुगेको बालिकाहरु, अपाङ्ग र अशक्तहरुसँग करणी लिनुदिनु हुँदैन । यदि यसो गरेको थाहा पाएमा लिङ्गमा खुर्सानि दलिदिने गर्दछ । हाडनाता नपर्ने र उमेर पुगेका बीच सहमतिमा करणी लिनुदिनु भएमा बात नलाग्ने रहेछ ।

त्यसैगरी कुलो, पानी, साँध, सीमाना, चरीचरण, खर्क, वन उपभोग सम्बन्धमा पनि ह्युल ठिमको व्यवस्था रहेको छ । खेतबारीमा पानी पालैपालो लगाउने, पालो मिच्न नहुने भन्ने छ । ह्युलठिम लागु हुने क्षेत्र बाहिरका कसैले गोठ लानु पर्यो सोध्नु पर्ने हुन्छ । ह्युलठिम क्षेत्र भित्रकै कसैले नयाँ गोठ शुरु गर्नु पर्यो भने पनि सोध्नु पर्ने हुन्छ । यो एक खालको खर्क निर्धारण हो जसलाई स्थानीय भाषामा खर्क खन्ने भन्छन् । यो पहिले पहिले मुल्मि, म्हुख्य पछि वडाध्यक्षसम्मले गरे ।

कुनै विवाद भयो, ह्युलछोक बस्यो । साक्षी परिक्षण कसरी गर्ने त ? साक्षी परिक्षणको पनि ठिम रहेछ । साक्षी परिक्षण गर्दा धार्मिक पुस्तक दोमाङ छुन लगाउने, जग्गाको विवाद भए माटोको खोले खान लगाउने र छ्योमे बालेर ग्रेन (कसम) खान लगाउँछन् । गुम्बामा गएर कसम खाना लगाउँछन् । लङि (चन्द्रमा), दिङि (सूर्य) साक्षी राखेर कसम खान लगाउँछन् । खुकुरी छोएर कासम खान लगाउँछन् । गल्ती गर्यो, काम बिगार्यो र उसले खुकुरी छोएर कसम खायो भने उ आफैं तीन वर्ष, पाँच वर्षमा मर्छ भन्ने विश्वास रहेको छ । त्यसैले खुकुरी छोएर कसम खानु हुँदैन भन्छन् ।

ह्यार्चा (उभौली) र म्हार्चा (उद्यौली) कहिले लाने ल्याउने भन्ने सम्बन्धमा पनि ठिम रहेको छ । ह्यार्चा जाँदा र म्हार्चा झर्दा एकै साथ उक्लिनु र झर्नु पर्ने हुन्छ । ह्यार्चा बैशाख महिनाबाट आरम्भ हुन्छ, म्हार्चा भदौ महिनाबाट । तोकिएको समय भन्दा अगाडि जाने र आउने गरेमा जरिवाना तिर्नु पर्ने हुन्छ । ह्यार्चा जाने बेलामा गाउँमा वस्तुभाउ कति राख्ने, कुन क्षेत्रमा चरिचरण गर्ने, घाँस कहाँबाट ल्याउने ह्युल छोक्पामा छलफल पछि निर्णय हुन्छ । ह्यार्चा जाने बेलामा घरमा दुईवटासम्म दुहुना गाई राख्न सक्ने नियम हुन्छ । ह्युल छोक्पाले के के निर्णय गर्यो भनेर थाहा दिनका लागि कुलछ्याङ दिने गर्दछन् । त्यसैमा कुल्देन (कटुवाल)ले सबैलाई छोक्पाले गरेका निर्णयहरु सुनाउँछन् । केल्देनले नै बन्द गरिएको वा निशेधित वन क्षेत्रमा संकेत स्वरुप सेतो कपडाका दाज्र्या (झण्डा)हरु राख्छन् । त्यस्तो वन क्षेत्रमा चरीचरण गर्न पाईंदैन र घाँस, दाउरा ल्याउन पनि निशेध गरिएको हुन्छ । वन फुकुवा पनि छोक्पाकै भेलाद्वारा गर्ने गर्छन् ।

गाउँमा कसैको मृत्यु भयो सधाउनु पर्ने, मान्छे मर्यो भन्ने निधो भएपछि कुल्देनले कुल्छ्याङ गर्छ र गुम्बामा शंख बजाउँछ, स्याङ (घण्टा) बजाउँछ । त्यसरी शंख, घण्टा बजेको सुनेपछि कोही खेतबारीमा गोरु जोतिरहेको छ भने एक कदम पनि अघि बढाउनु हुँदैन । जंगलमा दाउरा काट्दै छ भने उसले काम त्यही रोक्छ, लिएर आउँदै गरेको छ भने जहाँ आइपुग्यो त्यही छोडेर आउनु पर्छ, उसले घरमा ल्याउनु हुँदैन । माटो पनि खन्नु हँदैन । काँचो दाउरा पनि काट्नु हुँदैन । यसो गरे तेङेन (अनिष्ठ) हुन्छ भन्छन् । यो भनेको आफ्नै काम गर्न थाल्यो भने मराउ परेको घरमा कस्ले काम गर्ने भन्ने पनि हो । यो मान्छे मरेर जलाएको भोलिपल्ट पहु ह्रुप्पा (दुर्सा बनाउने कार्य) हुन्छ त्यो नसकिदासम्म जारी रहन्छ । मराउ परेको घरमा म्लाजि (चामलको छ्याङ) बनाउन सहयोग गर्नुपर्ने हुन्छ । नेवर (घेवा) गर्दा गर्ने सहयोग भने समय अनुसार परिवर्तन भैरहन्छन् ।

घेवा तीन प्रकारको पाउँछौं । म्हाने छेप्पा (पाँच दिन म्हाने नाच्ने र दुई दिन तयारी सात दिन), म्हाने बुम (दुई दिनको÷लाख म्हाने गर्ने) र दिनक्योल (एक दिन) हुन्छ । यसरी घेवा गर्दा म्हाने छेप्पामा तीन भारी दाउरा, म्हाने बुममा दुई भारी र दिनक्योलमा एक भारी लानु पर्ने हुन्छ । दु (जुठो ?!) परेको बेला घरका सदस्यहरु छरछिमेकमा हत्तपत्त आउजाउ गर्दैनन् । दुःख परेको बेला हाँसखेल र रमाईलो गर्नु हुँदैन भन्ने छ । गीत पनि घेवा सम्पन्न नहुन्जेल गाउँदैनन् ।

सुत्केरी हुँदा तीन दिनमा ख्रि लाबा (सुद्ध गर्ने) विधि सम्पन्न हुन्छ । त्यसपछि न्हेकोर भनेर अण्डा र चामल लगेर सुत्केरी हेर्न जान्छन् । गाउँमा लाउने सबै प्रकारका छि/कुरिन (पूजाआजा)मा गाउँलेहरु सबै भेला हुनु पर्दछ । पहिले पहिले भिरमाउरीको मह काड्ने चलन थियो । पछि निकुन्ज बनेपछि त्यो छोडियो । माउरी काड्दा धुवाले माउरी भगाउने भए पनि केही बच्चाहरु त मर्छन् नै । त्यसो हुने भएकोले यो त पाप काम भयो भनेर पूजा गाउने चलन थियो । त्यसैगरी ल्हाबब दुइछेन, महादेउ, न्युङने लगायत पूजाहरुमा पनि सबै गाउँलेहरु उपस्थिति हुनु पर्ने हुन्छ ।

तामाङ गाउँहरुमा ज्योहोहरु हुन्छन् । ग्याल्बो, ज्योहो भनेको ठूलो मान्छे राजा भनेको हो । रसुवाको भार्खु भन्दा माथि घले राजाको फोप्राङ ज्योहो (म्हेमे ज्योहो छेनकि फोप्राङ) छ । भार्खुमा दुःख पर्यो, प्राकृतिक विपत्ती आईलाग्यो भने त्यहाँ झाँक्री र लामा सहित पूजा गर्न जान्छौं । ह्युल छोकमा छलफल भएपछि पूजा हुन्छ । अण्डा चढाउनु पर्छ, घलेले दाज्र्यो कन्नमन्न (रङ्गीचङ्गी झण्डा), थोक्र लगायतले सेतो, नेकोरले पहेँलो र त्यस्तै अरुले निलो गरी निश्चित गरिएको रङ्ग सहितको झण्डा चढाउनु पर्ने हुन्छ । असिना धेरै पर्यो भने रोक्नका लागि र खडेरी लाग्यो भने पानी पार्नका लागि त्यहाँ पूजा हुन्छ । यस्तो पूजाहरुमा पनि गाउँलेहरु सबै अनिवार्य उपस्थिति हुनु पर्दछ । गाउँको चार किल्लाभित्रको बाटो सफाइ तथा मर्मत् त्यही गाउँले गर्नु पर्दछ । छिमेकी गाउँमा महामारी फैलियो भने काँडा बार लाउँछन् । यसलाई छेर्का काबा (काडा बार लाउने) भन्छन् । महामारी नफैलियोस् भनेर केही दिनका लागि आउजाउ बन्द गर्छन् । यसलाई नाघ्नु हुँदैन भन्ने छ । यस्तो बेला पनि कोही गाउँ पसे कार्यवाही हुने गर्दछ ।

हाम्रोमा कानुन र न्यायालय भने छुटिदो रहेनछ । शक्तिको पृथकीकरण चाँही नछुटिदो रहेछ । ह्युल छ्योक्पा बसेर त्यही खुल्लमखुल्ला छलफल हुँदो रहेछ । वादि–प्रतिवादि, पक्ष–विपक्ष, पिडित–पिडक दुबै बसेर छलफल हुने रहेछ । त्यसैले टुङ्गो लगाउने रहेछ । ह्युल छोक नै सरकार, न्यायालय र संसद सबै हुने रहेछ । मुुल्मि, म्हुख्या र पछिल्लो समय वडाध्यक्षले समेत त्यसको नेतृत्व गरे । म्हुख्यासम्म आइपुग्दा उसलाई सघाउने चोक, डिठ्ठा र बुरौरी देखियो । चोकले प्रहरीको जस्तो भूमिका निर्वाह गर्ने, डिठ्ठाको काम कानुनी प्रकृयामा म्हुख्यलाई सघाउने रहेछ । बुरौलीको भनेको म्हुख्याको अर्दली हो । यी पदहरु पनि ह्युल छोकले नै निर्वाचन गर्ने हुन् ।

ह्युलठिम खास गरी मेलमिलापको सिद्धान्तमा आधारि हने रहेछ । मृत्युदण्ड दिने, कारागारमा हाल्ने भन्ने कुराको गुन्जायस देखिएन । सायद ठिमको स्रोत बौद्ध धर्म भएर पनि यस्तो भएको होला । अहिलेको कानुनी भाषा प्रयोग गर्ने हो भने देवानी प्रकृतिका मुद्दाहरु सबै मेलमिलापमै जाने रहेछ । केही फौज्दारी प्रकृतिका मुद्दाहरु जुन माथि पनि उल्लेख गरिसकेको छ भयो भने कालोमोसो दलेर गाउँनिकाला सम्म हुँदो रहेछ ।

चुनौतिहरु

ह्युलठिमका चुनौतिहरु धेरै देखिएका छन् । संघीय नेपाल भने पनि राज्य त्यो स्वरुपमा अघि बढिरहेको छैन । तामाङहरुले चाहेको राज्य अर्कै प्रकृतिको हो । तर, यो राज्यसत्ता अर्कौ स्वरुपबाट अघि बढिरहेको स्थिति छ । राज्यका औपचारिक निकायहरु बलियो हुँदै जाँदा हाम्रा ह्युल ठिमहरु साँघुरिदै गईरहेछ । राष्ट्रिय र अन्र्तराष्ट्रिय कानुन पनि ह्युल ठिका चुनौति बन्दै आएका छन् । आधुनिक शिक्षा प्रणाली र प्रविधिको विकास पनि ह्युल ठिमका लागि चुनौति बन्दै गएका छन् । हाम्रा छोराछारीहरुले नै पुराना कुराहरुलाई महत्व नदिने भए । हामीलाई पनि प्रविधिले एकोहोरो बनाईराखेको छ । पुराना कुराहरु सिक्ने, त्यसलाई लागु गर्ने फुर्सद नै छैन हामीलाई । नयाँ पुस्ताहरु बोर्डिङको शिक्षाका कारण, हिन्दु साथिहरुको प्रभावका कारण फुपु चेला मामा चली बीचको विवाह नगर्नेमा पुगेको छ ।

सुझावहरु

तामाङ ह्युलठिमहरु सबै राम्रा छन् भन्न सकिन्न । तर, राम्रा कुराहरु स्थानीय तहहरुले ऐन, नियमहरु बनाउँदा समावेश गर्दै लग्यो भने पछिसम्म संरक्षण हुँदै जान्छ भन्ने हो । अर्को कुरा स्यानीय सरकारमा रहेको न्याय समितिले गर्ने कार्य भनेको पनि मेलमिलाप कै कार्य हो । त्यससँगै जोड्न सके त्यो पनि राम्रो होला । अनि अहिले पनि नेपालको संविधान नमान्नेहरु धेरै छन् । फेरी पनि संविधान, ऐन, कानुन त जनताकै लागि हुन् । संसारकै उत्कृष्ठ भन्ने गरे तापनि नेपालको संविधान पनि ११ पटकसम्म संशोधन भएर आईसकेको छ । अझै असन्तुष्ट पक्षहरु छन् । त्यो भनेको औपचारिक राज्यले पनि जनि नै भने पनि पूर्ण ऐन, कानुन त ल्याउन नसकिने नै रहेछ । त्यसैले कुनै पनि जाति समुदायको प्रथाजन्य कानुनहरुलाई कहाँ समायोजन गर्न सकिन्छ ? समायोगन गरेर जाँदा त्यो जाति समुदाय समृद्ध हुन्छ, समुन्नत हुन्छ भने त्यो नेपालकै गैरवको कुरा हो ।

(एससीआरसीद्वारा काठमाडौंमा आयोजित तामाङ राष्ट्र : तामाङ न्यायप्रणाली डिस्कोर्ष सिरिजमा दिएकाे प्रस्तुतिमा आधारित)

तपाईको प्रतिक्रिया