छिन्ताङ शहिदकप शुरु, उद्घाटन खेलमा अजम्बरी विजय

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटा, शहिदभूमि गाउँपालिकामा छिन्ताङ शहिदकप फुटबल प्रतियोगिता शुरु भएको छ । गाउँपालिका-१ लामेचौरमा सोमबारबाट शुरु भएको प्रतियोगिता मितेरी युवा क्लबले आयोजना गरेका हुन् ।

उद्घाटन खेलमा अजम्बरी युवा क्लव सागुरीगढीले ५-४ गोल अन्तरले मितेरी युवा क्लव शहिदभूमिलाई पराजित गरेका थिए ।

छिन्ताङ शहिदकपको प्रदेश नं. १ का सांसद निरन राईले उद्घाटनका क्रममा खेलमैदान स्तरोन्नती तथा व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


धनकुटा र सुनसरी गरेर २४ टिमको सहभागिता रहेका प्रतियोगिताका विजयी टिमले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै उपविजेता टिमले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आयोजक क्लबका अध्यक्ष दुर्गा बहादुर खड्काले खेलमैदान निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारको तर्फबाट ८ लाख रुपैयाँ, गाउँपालिकाबाट ३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारबाट २० लाख रुपैयाँ, गाउँपालिकाबाट २ लाख र वडा नं १ बाट ५० हजार रुपैयाँ गरी जम्मा ३३ लाख ५० हजार रुपैयाँमा खेलमैदान तथा कार्यक्रम संचालनका लागि स्टेज निर्माण गरिएको जानकारी दिए ।

क्लबका अध्यक्ष खड्काका अनुसार माघ ३० गतेसम्म संचालन हुने प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, वडा नम्बर १ का अध्यक्ष बम बहादुर राई, पौवादुम्मा गाउँपालिका भोजपुरका अध्यक्ष किरण राई, नेकपा शहिदभूमि गाउँ कमिटी अध्यक्ष नीर बहादुर राई लगायत उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका