ल्होछार : तामाङ जातिको नयाँ वर्ष

सैलुङअनलाइन लेखक/अध्येता
काठमाडाैं

प्रत्येक वर्षको माघ शुक्ल प्रतिप्रदाका दिनदेखि पूर्णिमासम्म नै मान्ने गरिएको ल्होछारमा वर्ष फेरिने मान्यता छ । हिमाली क्षेत्रको विभिन्न जातिका बौद्धमार्गीहरुमा १२ वटा विभिन्न जीवजन्तुको नामबाट वर्ष गन्ती गर्ने गरिन्छ । मुसा वर्गबाट प्रारम्भ भई सुँगुर वर्गमा पुग्दा १२ वर्षे एउटा वर्षचक्र पूरा हुने गर्छ । यो जोतिषीय वर्ष गणना पद्धति पुरानो चिनियाँ तत्व ज्योतिषशास्त्रको आधारमा विकास भएको हो ।

यो पद्धति ३४७७ ई.पू. मा स्थापना भएको अनुमान गरिन्छ । यसलाई चन्द्रपात्रो पनि भन्ने गरिन्छ । चन्द्रमाको गति र उसको नक्षत्रसँगको संयोगलाई हेरी महिनाहरुको नाम राख्ने गरेको पाइन्छ । त्यसकारण १२ महिनाहरुका नामहरु नक्षत्रहरुको नामसँग जोडिएका छन् । तथापि तिब्बतीहरुले भने मौखिक रुपमा महिना गणना गर्दा पहिलो, दोस्रो, तेस्रो आदि भनी अङ्कमा परिणत गरी गन्ने गर्छन् ।

चिनियाँ पुरानो पात्रोले माघ महिनालाई प्रथम महिना मान्ने गरेकोमा तिब्बतको तत्कालीन शासक पाँचौ दलाई लामा (१६१७-१६८२) ले सन् १६४२ मा मङ्गोल युद्ध सरदार गुश्री खानको सैनिक सहयोग लिई तिब्बतको सत्ता सम्हालेपछि मङ्गोलका सम्राट चङ्गेल खानले सन् १२०६ मा मङ्गोलका ओरल नदी किनारामा सङ्गोलका विभिन्न राजारजौटाहरु भेला गराई आफूलाई उक्त ग्रेटखुराल नामक महाभेलाको सर्वसम्मत्तिबाट स्रमाट घोषणा गराई सोही तिथिलाई नयाँ वर्ष भनी स्थापना गरेको मङ्गोल प्रणाली जसमा फागुन महिनालाई पहिलो महिना गन्ने गर्छन् । त्यो थितिलाई पाँचौ दलाई लामाले तिब्बतमा लागू गरेपछि तिब्बतीयनहरुले पनि होरदावा (मङ्गोल महिना) भनी फागुनमै ल्होछार मनाउने गर्न थालेका हुन् । तिब्बतीहरुले फागुन महिनालाई होरदावा दाइपो (मङ्गोल प्रथम महिना) भनी सम्बोधन गर्छन् । यसलाई नै नयाँ वर्षारम्भ मान्ने गरेको पाइन्छ । यो ज्योतिषीय वर्ष विभाजन रेखाभित्र पर्दैन ।

सन् १२०६ मा मङ्गोलका ओरल नदी किनारामा सङ्गोलका विभिन्न राजारजौटाहरु भेला गराई आफूलाई उक्त ग्रेटखुराल नामक महाभेलाको सर्वसम्मत्तिबाट स्रमाट घोषणा गराई सोही तिथिलाई नयाँ वर्ष भनी स्थापना गरेको मङ्गोल प्रणाली जसमा फागुन महिनालाई पहिलो महिना गन्ने गर्छन् । त्यो थितिलाई पाँचौ दलाई लामाले तिब्बतमा लागू गरेपछि तिब्बतीयनहरुले पनि होरदावा (मङ्गोल महिना) भनी फागुनमै ल्होछार मनाउने गर्न थालेका हुन् ।

यता, बौद्धहरुको कालचक्र तन्त्रले भने वैशाखलाई वर्षको पहिलो महिना तोकेका छन् । कालचक्र तन्त्र सन् १०२७ मा तिब्बती भाषामा अनुवाद भएको हो । चिनियाँ पुरानो पात्रोले र डाकिनी सागर तन्त्रले चाहीँ माग महिनालाई वर्षको प्रथम महिना मान्दछ । श्रीकृष्णले पनि आफ्नो विभूति गुणको वर्णन गर्दै गीता दर्शनमा ‘म ऋतुहरुमा बसन्त ऋतु हुँ भने महिनाहरुमा माघ महिना हुँ’ भनी उल्लेख गर्नुभएको छ । भारतीय नक्षत्रीय ज्योतिषशास्त्र (कारची) र चिनियाँ तत्व ज्योतिष शास्त्र (नाग्ची) ले पनि माघ महिनालाई वसन्त ऋतु प्रारम्भ भनी मान्ने गर्छन् । त्यसकारण चिनियाँहरुले माघ महिनाको ल्होछारलाई बसन्त पर्वको रुपमा पनि मनाउने गर्छन् ।

तिब्बतका ३३ औं राजा स्रङचङ गम्पो (सन् ६८०-७५५) ले चिनियाँ राजकुमारी विवाह गर्दा चिनियाँ वैद्यशास्त्र र ज्योतिषशास्त्र पनि ल्याएर आएकी थिइन् जसलाई मञ्जुश्री पात्रो भनी भन्ने गर्छन् । उक्त ज्योतिषशास्त्र चीनको पञ्चशीर्ष पर्वत– उताइसन्मा बस्ने बौद्धभिक्षु मञ्जुश्रीले रचना गरेको भनिन्छ । तर मञ्जुश्री बोधिसत्व बुद्धकालीन हुनाले ग्रन्थको रचनाकाल २८ सय वर्ष पुरानो देखाउने गर्नाले विवादित देखिन्छ ।
यो माघे ल्होछार प्रचलन भियतनाम, लाओस्, कम्बोडियालगायत हिन्द चीन क्षेत्रहरु र थाइल्यान्ड, मलेसिया र सिङ्गापुरका चिनियाँ मूलका बासिन्दाहरुले पनि माघे ल्होछार नै मान्ने गर्छन् । नेपालका सिन्धुपाल्चोक र दोलखा जिल्लाका शेर्पा जातिहरुले परापूर्वकालदेखि मङ्सिर महिनामा ल्होछार मान्ने चलन भएकोमा १९६० को दशकमा १४ औं दलाई लामा भारत पलायन भएदेखियता शेर्पा जातिहरुले फागुन महिनाको मङ्गोल–तिब्बती ल्होछार मान्न थालेको पाइन्छ, जसलाई उनीहरुले ग्याल्बो ल्होछार पनि भन्ने गर्छन् ।

तिब्बती ज्योतिषशास्त्रमा भने ग्याल्बो ल्होछारको नाम उल्लेख छैन । यो ज्योतिष शास्त्रसँग सम्बन्धित नभएर मङ्गोल सम्राटको राज्यारोहणसँग सम्बन्धित हो । तर, विभिन्न ज्योतिषविद्हरुको मत सिद्धान्त अनुसारको भिन्नाभिन्नै नयाँ वर्षहरुको नाम भने लेखिएका छन् । धेरै जसोले अहिले ल्होछार पर्वलाई भिन्नाभिन्नै सम्वत्हरुसँग जोडेर बहस चलाउने गरेको पाइन्छ । तर त्यस्ता सम्वत्हरु कुनै ऐतिहासिक घटनालाई समातेर स्थापना गरेका हुन्छन् । उदाहरणका लागि ‘बोइग्याल ल्हो’ भनिने सम्वत् तिब्बतको यारलुङ उपत्यकामा प्रथम चन्पो वंशी राजा न्याठीचन्पो (ई.पु. १२६ वा ई.पू. ४१४ मा सत्तारुढ भएको भन्ने भनाइ छ) लाई तत्कालीन बोन पुरोहितहरुले तिब्बतको राजा भनी राजगद्दीमा आरोहण गराएको तिथि हो भन्ने गरिन्छ । त्यसअघि तिब्बतमा कुनै राजाहरुले शासन गरेको नभएर स्थानीय सामुदायिक नायकहरुले नै शासन चलाउने गर्थे । एकीकृत तिब्बतको अन्तिम राजा लाङदार्मा (सन् ८०३-सत्तारुढ ८४१- हत्या ८४६) हुन् । उनी बौद्ध धर्मविरोधी भई अनेक बौद्धविहार र धार्मिक ग्रन्थहरु नष्ट गर्ने गर्नाले उनको हत्या हुन पुग्यो । त्यसपछि तिब्बतको विखण्डनको युग सुरु भयो । तैपनि तिब्बतीहरुले आफ्नो ल्होछारसँग बोइयाल सम्वत् भने उल्लेख गर्न छोडेनन् ।

त्यसैगरी भारत वर्ष उज्जैनका राजा विक्रमादित्यले सौर्य पञ्चाङ्गअनुसार आफ्नो राज्यमा सौर्य पात्रो लागू गरेर आफ्नै नाममा विक्रम सम्वत् चलाएका हुन् । त्यो सम्वत् भारत र नेपाल दुबैतिर चल्दै आएको छ । नेपालमा भने विक्रम सम्वत् श्री ३ महाराज चन्द्रसमशेर जबराले सरकारी कामकाजका लागि लागू गरेका हुन् । यसअघि नेपालमा मानदेव सम्वत्, नेपाल सम्वत् र शक सम्वत् पनि चल्तीमा आएको थियो । सूर्य पचाङ्गले सूर्य र १२ राशीबीचको संयोगलाई मानेर महिनाको गन्ती गरेर गते भन्ने गरिन्छ । जस्तो, मकर राशी र सूर्यको संयोग हुँदा मकर संक्रान्ति भन्ने गरिन्छ, जुन माघे सक्रान्ति पनि हो । हरेक संक्रान्तिबाट महिना सुरु हुन्छ । यता, चन्द्र पात्रोले भने औंसी र पूर्णे दुई पक्षको तिथिबाट गन्ने गरिन्छ ।

जीवनमा रात र दिन झैं सुख र दुःख दुई पाटाहरुमध्ये वर्ष फेरिने बेलामा ल्होछार (नयाँ वर्ष) उज्यालो, सुख र शान्तिसहितको प्रगतिको कामना राखेर आउने दिनहरु मङ्गलमय होस् भनी मनाउने गर्छन् ।

ल्होछारलाई महत्व दिनुको पछाडि एउटा वर्ष गणना गर्ने र अर्काे जीवनको शुभ-दिनको कामना गर्नु हो । जन्म र मृत्यु साथसाथै जोडेर आउने हुँदा जीवनका समय, महिना र वर्षहरु मानिसका लागि अमूल्य मानिन्छ । जीवनमा रात र दिन झैं सुख र दुःख दुई पाटाहरुमध्ये वर्ष फेरिने बेलामा ल्होछार (नयाँ वर्ष) उज्यालो, सुख र शान्तिसहितको प्रगतिको कामना राखेर आउने दिनहरु मङ्गलमय होस् भनी मनाउने गर्छन् ।


विश्व ब्रम्हाण्ड नै कालचक्रको गतिमा घुमिरहेको हुन्छ । त्यो क्रममा अनेक अनुकूल र प्रतिकूल स्थिति खडा हुने गर्छन् । चेतनशील प्राणी मानिसले मानव जीवनको अमूल्य समयलाई शुभ-दिनको रुपमा हेर्न चाहनु स्वाभाविकै हो । ल्होछार मनाउने क्रममा पुसको कृष्ण चतुर्दशीका दिन दशाग्रह शान्ति गर्ने वा घरका पुरानो कपडा, टुटेफुटेका भाँडाहरु पोको पारेर दोबाटो चौबाटोमा दशा फालेको भन्दै फाल्ने चलन पनि छ । अनि ल्होछारको शुक्ल तृतीयका दिन ‘ल्हाव सोल’ भनी डाँडाकाँडा गई धुप बालेर सामूहिक पूजाआजा गर्ने गरिन्छ । त्यो एक प्रकारको सीमेभूमेको पूजा पनि हो ।

चिनियाँहरुले पूर्खाको समाधिस्थलमा गई पितृपूजा (म्हेमे छ्योद्पा) पनि गर्ने गर्छन् । तामाङहरुको भने माघे संक्रान्ति जस्ता पर्वहरुमा पुरोहित डाकेर वा गुम्बा गएर पितृको नाममा दीप प्रज्वलन गरी श्रद्धा (ङोवा) गर्ने गरिन्छ । ल्होछारको पहिलो दिनमा भने चिनियाँहरुको जस्तै आफन्तमा पाहुना लाग्नुहुँदैन भन्ने गरिन्छ । दोस्रो दिनदेखि भने पाहुना डाक्ने र पाहुना लाग्न पनि सकिन्छ । त्यस्तै, शुभकामनाको आदान-प्रदान गर्दा दीर्घायुको कामना गरिन्छ । बूढापाकाहरुबाट आशीर्वाद ग्रहण गर्ने चलन छ ।

केहीले तामाङ ल्होछार उत्सवको सार्वजनिक मञ्चलाई साम्प्रदायिकता फैलिने गरी उग्र जातिवादी भाषण गरेर दुरुपयोग पनि गर्दै आएका छन् । ल्होछार पर्वमा भेला भएका आमजनता कुनै राजनीतिक भाषण सुन्ने भन्दा आफ्नो परम्परागत संस्कृति मनाउन आएका हुन्छन् । त्यस्तो सामाजिक क्रियाकलापमा आफ्नो सङ्कीर्ण भावना पोख्ने गर्नाले तामाङ समाजको स्वच्छ छविमा धब्बा लगाउँदै आएको छ ।
आदिवासी वा जनजातिका हकअधिकारका लागि राष्ट्र सङ्घले आईएलओको १६९ प्रस्ताव पारित गरिसकेको र त्यसको नेपाल पक्षघर राष्ट्रमा सामेल भइसकेको छ । बरु चीन र भारतले उक्त सन्धिमा हस्ताक्षर गरेका छैनन् । राज्यहरुले आदिवासीहरुको मौलिक पहिचान र अधिकारको संरक्षण गर्नुपर्छ भन्ने उक्त महासन्धिको अवधारणा हो । आदिवासीहरुले त्यही अवधारणाभित्र आफ्नो हकअधिकार खोज्नुपर्ने भएको छ ।
लामो ऐतिहासिक कालखण्डदेखि आदिवासीहरु राज्यव्यवस्थाको उपेक्षा नीतिको सिकार हुँदै आएको सत्य हो । यहाँनिर भुल्न नहुने तथ्य के हो भने अफ्रो एसियन अफ्रो आष्ट्रिक समुदायभित्र मात्र देखा परेको ‘आदिवासी’ भनिने जातिहरु एसिया र अफ्रिकाभरि छरिरहेका भए तापनि जातिबाट ‘राष्ट्र’ बन्ने क्रममा मार्ग विचलन भएबाट सबै देशमा अल्पसङ्ख्यकमा परिणत भइसकेको छ । गुण ज्ञानमा बराबरी भए पनि सङ्ख्याको भिन्नताले राजनीतिक शक्तिमा ठूलो अन्तर ल्याएको हुन्छ । प्रजातान्त्रिक व्यवस्थामा देशका नागरिकको मौलिक हक सुनिश्चित गरेको हुन्छ । त्यसैलाई सदुपयोग गरी आफ्नो मौलिक अधिकार कायम गर्न सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया