हामी छैटौं वर्षमा

सम्पादकीय सैलुङअनलाइन
काठमाडाैं

सोनाम ल्होछारको उपलक्षमा सम्पूर्ण तामाङ तथा ल्होछारप्रेमी जनसमुदायमा हार्दिक मंगलमय शुभकामना ।

आज २८५७ औं लाङ ल्हो/लाङ ल्होछार (गाई वर्ग/गाई ल्होछार)को शुभारम्भ दिन । आजबाट सैलुङअनलाइन डट कमले छैटौं वर्षमा प्रवेश गरेको छ । ल्होछारकै दिन आज भन्दा पाँच वर्ष अघि २०७२ साल माघ २६ गते टे ल्हो (बाँदर वर्ग)को शुभारम्भकै दिन सैलुङअनलाइन डट कम सार्वजनिक गरिएको थियो ।

हामीलाई थाहा नै छ प्रजातन्त्रको पुनःस्थापना पछि थुप्रै तामाङहरुले मिडिया क्षेत्रमा प्रवेश पाएसँगै रेडियो, एफएम र टेलिभिजनहरुमा तामाङ भाषाका कार्यक्रमहरु सञ्चालनमा आए । रेडियो तथा टेलिभिजनमा तामाङ भाषाका कार्यक्रमहरु उत्पादन तथा प्रशारण सँगसँगै तामाङ भाषाका पत्रपत्रिकाहरु पनि धेरै सङ्ख्यामा प्रकाशनमा आए ।

२०६२-६३ को जनआन्दोलन हुँदै २०७२ मा नयाँ संविधान आयो । अन्तरिम संविधानले व्यवस्था गरेका आदिवासी जनजातिका अधिकारहरु नयाँ संविधानले कटौती गरेपछि आदिवासी आधिकारका मुद्दाहरु झनै पेचिलो बन्दै गयो । आदिवासी अधिकारका मुद्दा अझ सशक्त र वृहत्तर रुपमा उठाउनु पर्ने भयो । यो परिस्थितिको मध्यनजर गर्दै आदिवासी जनजातिका थुप्रै मिडियाहरु आए । तर, ती मिडियाहरुले आफ्नो छुट्टै भाष्य निर्माण गर्न सक्यो त ? मुल प्रश्न यो थियो ।

यसै बिच सूचना प्रविधिले फट्को मारिरहेको थियो । नेपालमा पनि इन्टरनेटको पहुँच बढ्दै गइरहेको थियो । प्रकाशन गृहहरुको ध्यान छापा माध्यमबाट डिजिटल माध्यममा जाँदै थियो । समयको यही प्रवाहलाई मध्यनजर गर्दै हामीले पनि डिजिटल अनलाईन प्ल्याटफर्म मार्फत् हाम्रा सामाजिक-सांस्कृतिक अभियान, ज्ञान उत्पादन र विचार निर्माण गर्दै हाम्रो आफ्नो छुट्टै भाष्य निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ सैलुङअनलाइन डट कम शुरु गरिएको थियो ।

हाम्रो आफ्नै भाष्यसहितको आफ्नै मूलधारको मिडिया स्थापना हाम्रो अवधारणा हो । सैलुङअनलाइन डट कमले यो पाँच वर्षको अवधिमा राष्ट्रिय राजनीति, मुलुकको अर्थराजनीतिक प्रणाली, धर्मनिरपेक्षता, पहिचानका मुद्दा, सामाजिक-सांस्कृतिक, समानुपातिक र समावेशीताको मुद्दालाई आदिवासी विश्वदृष्टिकोणबाट बहस र छलफललाई अगाडि बढाएको छ । यसलाई अझ व्यापक र वृहत्तर बनाउँदै लैजाने हाम्रो सोच हो ।


सामान्य प्रविधि र ज्ञानका साथ शुरु गरिएको अनलाइन अहिले प्राविधिक रुपमा परिस्कृत अवस्थामा छ । डिजाइन र आउटलुकमा समय अनुकुल परिमार्जन हुँदै आएको छ । डिजिटल अनलाइन प्ल्याटफर्ममा अहिले टेक्ट सँगसँगै भिज्यूअल सामाग्रीको आकर्षण बढ्दो छ । यसका लागि स्टुडियो, प्रविधि र दक्ष जनशक्ति आवश्यक पर्दछ । यसको तयारी र व्यवस्थापनमा अनलाइन टिम जुटिराखेको छ ।

सैलुङअनलाइन डट कम एउटा सञ्चार संस्था भएकोले उसको मूल धर्म सूचना संप्रेशण हो । यसमा उ क्रियाशील रह्यो नै त्यससँगै विगत पाँच वर्षमा उसले आदिवासी ज्ञान उत्पादन र विचार निर्माण क्षेत्रमा क्रियाशील संस्थाहरु तामाङ न्हाङखोर, एससीआरसीलगायतसँग सहकार्य गर्यो र आदिवासी ज्ञान उत्पादन र विचार निर्माण कार्यमा सहकार्य गर्दै आइरहेको छ । आउँदा दिनहरुमा पनि यो निरन्तर अगाडि बढ्दै जानेछ ।

सैलुङअनलाइन डट कम स्वयंको प्रयासले मात्र यहाँसम्म आइपुगेको होइन । अनलाइनलाई यो उचाईमा ल्याइपुर्याउन धेरै सहयोगी हातहरुको योगदान रहेको छ । यसका लागि निःशुल्क लेखरचना लेखिदिनु भई सहयोग गरी दिनुहुने राजनीतिज्ञ, विद्वान, वुद्धिजीवि र साहित्यकारहरुको योगदान अविस्मरणीय छन् । व्यक्तिगत रुपमा र आफ्ना व्यापार व्यवसायको विज्ञापन उपलब्ध गराई आर्थिक सहयोगी गर्नुहुने व्यवसायीहरुको योगदान अतुलनिय छन् । त्यसैगरी अनलाइनको साजसज्जा, सामाग्री निर्माण र प्रकाशन–प्रशारणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै शुभचिन्तकहरुको सहयोग रहेको छ । प्रविधिमा संजय लामा-तामाङ र विकाससफ्ट टेक्नोलोजीको सहयोग स्मरणीय छन् । यहाँहरु सबै सबैमा सैलुङअनलाइन डट कम हार्दिक आभार व्यक्त गर्दछ र भविष्यमा पनि यस्तै साथ सहयोगको अपेक्ष गर्दछ ।

तपाईको प्रतिक्रिया