मनाइयो सोनाम ल्होछार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । आजदेखि नाम्युङ ल्हो (मुसा वर्ष) पूरा गरी लाङ ल्हो (गाई वर्ष) शुरु भएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको संस्कृतिविद् बताउँछन् । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यसपर्वका अवसरमा सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

तामाङ जातिको मौलिक भेषभूषा, सांस्कृतिक गतिविधि, खानालगायत प्रदर्शनसमेत गरिने ल्होछारमा धेरै पर्यटक आकर्षित गराउन साताव्यापी रुपमा कार्यक्रम आयोजना गरिएको छ । कोरोना महामारीका कारण यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम भएन ।

यस अवसरमा बौद्ध क्षेत्रमा तामाङ जातिको सांस्कृतिक भेषभूषा एवं पहिचानसहितको र्याली प्रदर्शन गरियो । बौद्ध स्तुपबाट शुरु भएको जोरपाटी टुसाल हुँदै पुनः बौद्धमै आएर समापन गरिएको थियो । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिसहित यस क्षेत्रका सङ्घ संस्थाको सहभागिता थियो ।


र्यालीपछि महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा ल्होछारको महत्वका विषयमा जानकारीसहित गीतसङ्गीत प्रस्तुत गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइएको छ । यसैगरी देशका विभिन्न भागमा पनि विविध कार्यक्रम आयोजना गरी पर्व मनाइयो । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन भइरहेकोे छ ।

चुच्चेपाटीस्थित हायात चौरमा विशेष सांस्कृतिक कार्यक्रमसहित ल्होछार उत्सव आयोजना भएको छ । तामाङ बाहुल्यता रहेको बौद्ध, स्वयम्भूलगायत स्थानमा परम्परागत भेषभूषामा सजिएर युवा युवतीसमेत रमाइरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया