प्रविधिको विकाससँगै रेडियोको व्यापकता खुम्चिदै

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

आज फेब्रुअरी १३ अर्थात दशौँ विश्व रेडियो दिवस । आज देशका हजारौँ सञ्चारकर्मीहरुले यो दिवस मनाइरहेका छन् । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०११ देखि हरेक फेब्रुअरी १३ तारिकका दिन रेडियो दिवस मनाउन थालिएको हो ।

सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रुपमा रहेको रेडियो आमनागरिकका लागि सर्भसुलभ, कम खर्चिलो तथा सर्वव्यापी पनि छ । प्रविधिको विकाससँगै रेडियोको व्यापकता खुम्ँिचदै गएको भए पनि दुरदराजका लाखौँ नेपालीजनको निर्विकल्प सञ्चारको माध्यम हो रेडियो । नेपालको पहिलो रेडियो २००७ चैत २० गते प्रसारण प्रारम्भ गरेको ‘रेडियो नेपाल’ लाई मान्ने गरिन्छ तर अन्तर्राष्ट्रियजगत्मा त्यसको ३० वर्षअघि नै रेडियो खुलिसकेको थियो ।

रेडियोका आविष्कारका इटालीका वैज्ञानिक जी। मार्कोनी हुन् । मार्कोनीले सन् १८९५ मा रेडियो तरङ्ग पत्ता लगाएको जानकारहरु बताउँछन् । त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यावहारिकरुपमा प्रसारण शुरु गरिएको थियो । सन् १९१९ को अक्टोबरमा अमेरिकाको पिट्सवर्ग शहरमा वासिन्टन हाउस कम्पनीले पहिलो व्यावहारिक रेडियो खोलेको बताइन्छ । विश्वमा औपचारिकरुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया शहरबाट सन् १९२० मा भएको थियो । त्यही दशकमा अमेरिका र बेलायतमा रेडियोहरु व्यापकरुपमा खुल्न थाल्यो ।

इतिहासकारहरुका अनुसार रेडियो प्रसारणसम्बन्धी विद्युत्–चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भएको हो । यद्यपि त्यसलाई व्यवहारत प्रमाणित गर्न निकै लामो समय कुर्नुप¥यो । आवाजलाई विना तार पनि प्रसारण गर्न सकिन्छ भन्ने सिद्घान्त सन् १८९५ मा मार्कोनीले प्रमाणित गरे । त्यसपछि औपचारिकरुपमा रेडियोको आविष्कार भएको मानिन्छ । त्यसको छ वर्षपछि सन् १९०१ मा माकोर्नीले ध्वनि सङ्केतलाई दुई हजार १०० माइल टाढासम्म सुन्ने बनाएपछि रेडियो प्रविधि विश्वमा फैलिएको होे ।

त्यस्तै सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशनमा परिणत भयो । मार्कोनीले रेडियोको आविष्कार जुनसुकै उद्देश्यका साथ गरेका भए पनि समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पाइन्छ । नेपालमा २००७ सालपछि मात्रै औपचारिकरुपमा रेडियो खुलेको बताइन्छ ।

पत्रकार महासङ्घले प्रकाशन गरेको मिडिया रिडरमा बद्री पौड्याललाई उद्धिृत गर्दै ७ सालअघि देखि अनौपचारिकरुपमा सञ्चालनमा रहेको ‘रेडियो प्रजातन्त्र’ बाट ‘रेडियो नेपाल’ बनेको रेडियो नै नेपालको पहिलो औपचारिक रेडियो भएको उल्लेख गरिएको छ । अनौपचारिकरुपमा भने ‘रेडियो प्रजातन्त्र’ का रुपमा पूर्वी पहाडी जिल्लाहरुमा रेडियो बज्ने गरेको चर्चा हुने गर्छ । पछि सोही रेडियो विराटनगरमा स्थापना भएको बताइन्छ । नेपालको पहिलो रेडियोकर्मीका रुपमा तारणीप्रसाद कोइरालालाई लिने गरिन्छ तर भारतबाट प्रसारण हुने ‘अल इन्डिया रेडियो दिल्ली’ मा नेपाली रेडियोकर्मी देवेन्द्रराज उपाध्याय २००७ सालअघि नै सम्पादक बनिसक्नुभएको कुरा २००७ सालको भारती पत्रिकामा उल्लेख छ । भारतीको वर्ष दुईको अङ्क १ मा सम्पादक उपाध्याय र समाचार वाचिका सुश्री लीलाले रेडियोमा समाचार वाचन गर्दै गरेको तस्बीर प्रकाशित छ ।

त्यसताका नेपालमा विदेशी रेडियोहरुको प्रभुत्व भएको कुरा बताउनुहुन्छ मकवानपुरका ९७ वर्षीय वृद्ध उमाकान्त आचार्य । उहाँका अनुसार बिबिसी, विविध भारती, अल इन्डिया जस्ता रेडियोहरुले नै नेपाली भाषामा कार्यक्रमहरु प्रसारण गर्ने गर्थे । ‘ती कार्यक्रमहरु सर्वसाधारणहरु भेला भएर एकाद ठूलाबडाहरु कहाँ मात्र भएका इजाजतपत्र प्राप्त रेडियोबाट सुन्ने गर्थे । काठका फ्रेम भएका फुलबुट्टे मखमली कपडाको खोल लगाइएका ६ देखि १० वटासम्म ठूला ब्याट्री लाग्ने ठूला रेडियो पिँढीमा राखेर गाउँलेलाई सुनाउन पाउँदा ठूलाबडाहरु निक्कै गर्व गर्ने गर्थे’, आचार्य भन्छन् । उनका अनुसार कोही ठूला बडाहरु स्रोताहरुलाई भुटेको मकै, गुन्द्रुक र मोही पनि बाँडी दिने गर्थे । कतैकतै स्रोताहरु पालो गरेर मकै, रोटी, गुन्द्रुक, मूलाको अचार ल्याएर रमाइलो गर्दै रेडियो सुन्दै र खाँदै गर्थे ।

यसरी समूहमा बसेर रेडियो सुन्ने प्रचलन ६२/६३ सालको जनआन्दोलन अघिसम्म कायम नै थियो । रेडियो नेपालको स्थापनापछि त्यसका कार्यक्रमहरु पनि निकै लोकप्रिय थिए । रेडियो नेपालका कार्यक्रमहरु र प्रस्तोता अझै पनि धेरैको मन, मष्तिस्कमा छन् । विसं २०५४ सालअघि रेडियो नेपालको एकल बजार थियो । त्यस बेलाका स्रोताहरु रेडियो नेपालबाट प्रसारण भएका कार्यक्रम तथा विज्ञापनका अंशहरु अहिले समेत फरर सुनाउँछन् । कृषि कार्यक्रमकी बूढीआमै लक्ष्मी भुसालको हरिशरणम्को थेगो जनजिब्रोमा अहिलेसम्म झुण्डिरहेकै छ । ‘हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हुन् नानू’ भन्ने विज्ञापन अहिले पौराणिक उखान झैँ बनेको छ । कतिपय विज्ञापनलाई आफ्ना कुराहरु पुष्टि गर्न उदाहरणस्वरुप प्रस्तुत गर्छन् ।

पुराना पुस्ताका प्रस्तोताहरु स्व प्रवीण गिरी, स्व पाण्डव सुनुवार, दाहाल यज्ञनिधि, कृष्णा ताम्राकार, माधव घिमिरे, स्व वासुदेव मुनाल, धन लामा, नोपुर भट्टाचार्य, मीरा राणा, तारा थापा, श्री प्रधान, रबिन शर्मा, बबिता बस्नेत, कोमल ओलीदेखि नवराज लम्साल, टीका भण्डारी, अमरध्वज लामा, नवीन दाहाल, चन्दा बिष्ट आदि थुप्रै प्रस्तोताका आवाजका पारखीहरु आज पनि थुप्रै भेटिन्छन् । शनिबार १ः३० बजे प्रसारण हुने नाटकका कलाकार निर्देशक मदनदास श्रेष्ठ, प्राविधिक जितेन्द्र महत अभिलाषी, बमबहादुर थापा आदि नामलाई स्रोताहरु अझै सम्झन्छन् ।


पाण्डप सुनुवारले चलाउने प्रतिभा प्रष्फुटन गराउने कार्यक्रम चौतारी नसुनी खाना नै नखाने स्रोताहरु थुप्रै थिए दीपकराज गिरी र दीपाश्री निरौलाको मधेशी शैलीको रामविलास र धनियाले धेरै स्रोताको अपराह्नको समय बित्ने गथ्र्योे । समाचारप्रेमी स्रोताहरु विभिन्न समयका समाचार र घटना र विचार नछुटाई सुन्ने गर्थे । आज पनि कतिपय व्यक्तिहरुले त्यतिखेरको रेडियो नेपालको समाचारको धुनलाई आफ्नो मोबाइलको ‘रिङटोन’ बनाउने गर्छन् । पाण्डव सुनुवारको हात्तीछाप फोनइन कार्यक्रम सुन्न र फोन गर्न शनिबार पर्खने स्रोताहरु धेरै थिए । चर्चित प्रस्तोता नवराज लम्सालको प्रत्यक्ष फोनइन, सुर सङ्गम, मधुवन जस्ता कार्यक्रमले त धेरै साहित्यकार र रेडियोकर्मी जन्माउन महत्वपूर्ण भूमिका खेलेको छभन्दा अतिशयुक्ति नहोला । देशका सङ्गीत क्षेत्रका अधिकांश हस्तीहरु रेडियो नेपालले नै जन्माएका हुन् । रेडियो नेपालको स्वर परीक्षा पास नगरी गायक वा गायिका हुनै नसक्ने अवस्था थियो कुनै बेला ।

रेडियो नेपालबाहेक नेपाली भाषामा प्रसारण हुने अन्य रेडियोहरुका कार्यक्रमहरु पनि सुन्ने चलन थियो त्यस बेला । बिबिसी नेपाली सेवाको विश्वसनीयता जनमानसमा प्रस्ट देखिन्थ्यो । रेडियो नेपाल सरकारी भएकाले सरकार परस्त देखिन्थ्यो । कतिपय घटनाक्रमसँग सम्बन्धित समाचारको तथ्य मूल्याङ्कन गर्ने कडीका रुपमा बौद्घिक स्रोताहरु बिबिसीलाई लिने गर्थे । सन्तुलित र स्पष्ट भएकै कारण विश्व प्रसिद्घ बनेको बिबिसीले नेपाली सेवामार्फत नेपाली स्रोताहरुको राम्रैसँग मन जितेको थियो । मनोरञ्जनका लागि अलइन्डिया, रेडियो खर्साङ, विविध भारती, चाइना अन्तर्राष्ट्रिय रेडियोलगायत रेडियोबाट प्रसारण हुने नेपाली कार्यक्रमहरु सुन्ने गरिन्थ्यो । आज अवस्था फेरिएको छ ।

वि.सं. २०५४ कात्तिक ३० मा नेपालमा पनि पहिलोपटक एफएम रेडियो, एफएम काठमाण्डु रेडियो नेपालले नै भित्र्यायो । पछि २०५४ देखि निजी क्षेत्रले समेत एफएम रेडियोहरु सञ्चालन गर्न पाउने कानून बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एशियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथाले प्रसारण प्रारम्भ गर्यो । त्यसपछि देशका विभिन्न स्थानमा खोलिएका रेडियोको सङ्ख्या हजारौँ पुगिसकेको छ । रेडियोकर्मीहरुको सङ्ख्यासमेत पाँच हजार नाघिसकेको बताइन्छ ।

तपाईको प्रतिक्रिया