तामाङ सोसाइटी अफ न्युजिल्याण्डले पनि ल्होछार मनायो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउथ आईल्याण्ड, न्युजिल्याण्ड

‘स्याररी खासाइ ह्याङ तामाङ,
नुपरी खासाइ ह्याङ तामाङ…’

यो गीतको हरफले तामाङहरु जहाँ जस्तो अवस्थामा रहेपनि एकरुपता ल्याउन प्रतिनिधित्व गरेको छ । तामाङ सोसाइटी अफ न्युजिल्याण्डद्वारा आयोजित २८५७ औं लाङ ल्हो सोनाम ल्होछारमा पनि यो गीतको प्रस्तुतिले तामाङहरु एक भएको महसुस गर्यो ।

सोसाइटीले साउथ आईल्याण्डको विन्टनस्थित ओरिटी प्लेन्स हलमा ल्होछारकै दिन बृहत कार्यक्रम गरि जीवा ल्होलाई विदाइ तथा लाङ ल्होलाई स्वागत गरि शुभकामना साटासाट गर्दै ल्होछार मनायो ।

कार्यक्रमलाई नेपाली अवैतनिक वाणिज्यदूतावास न्युजिल्यान्डका वाणिज्यदूतावास आत्मराम खनालले सबै समुदायको चाडले हामीलाई समेट्दा प्रवासमा पनि संस्कार संस्कृतिको संरक्षण गरेको बताए ।

त्यस्तै एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लालबहादुर केसीले शुभकामना दिदै चाडपर्वले सबैलाई एकजुट बनाएको बताए ।

कार्यक्रममा सोसाइटी का सल्लाहकार बलकुमार गोलेलागयतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा न्युजल्याण्डमा रहेका तामाङ कलाकारहरुबाट म्हेन्दोमाया, सेलो लगायतको प्रस्तुतिले ल्होछारमय बनेको थियो ।

कलाकारहरु मिलन गोले, मिम तामाङ, तारा थोकर, दिपेन्द्र क्षेत्री लगायतको प्रस्तुितले ल्होछार मनोरञ्जन भएको सोसाइटी का सदस्य निश्चल तामाङले जानकारी दिए । ‘मनिला, सञ्जिता, स्रिस्तिना र जीवन लगायतको कम्मर मर्काइले सबै दर्शकको कम्मर मर्काएका थिए’, उनले भने ।

कार्यक्रमलाई समापन गर्दै सोसाइटीका अध्यक्ष एवं सभाध्यक्ष शान्त लामा ग्याबाले हामीले ल्होछारलाई प्रवासमा रहेका तामाङ र गैरतामाङलाई समेटेर एकजुट भएका चाडपर्व मनाउँदै आएको छ । ‘यसवर्ष कोरोनाको कहरमा पनि हामीले हाम्रा चाडपर्वलाई भुलेको छैन’, उनले भने, ‘हामी जहाँ भएपनि हाम्रो संस्कार, संस्कृति, भाषा भुल्नु हुन्न, यो संस्थाको उद्देश्य पनि हो ।’

नयाँ कार्यसमिति गठन

सोसाइटीको नयाँ कार्यसमिति पनि गठन भएको छ । शान्त ग्याबा लामाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
समितिमा सचिव पण्डव पाख्रिन, कोषाध्यक्ष चन्द्र वाइबा रहेका छन् ।


त्यस्तै सदस्यहरु तारा थोकर, निश्चल तामाङ, विजय लामा, गोविन्द लामा चयन भएका छन् ।

यस्तै सोसाइटीको सल्लाहकारमा बलकुमार गोले, कृष्ण तामाङलाई सर्वसम्मतले चयन गरेको हो ।

तामाङ एकताको लागि २०१७ मा स्थापना भएको संस्थाले तामाङ समुदायको धार्मिक, सांस्कृतिक लगायतका विविध विषयहरुमा आफ्नो भुमिका निर्वाह गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका