हवाई भाडादर वृद्धि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संचालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।


नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुनेगरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जेजति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको संघले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ रुपैयाँबाट वृद्धि भई ६७ रुपैयाँ कायम गरिएको छ ।

हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं-धनगढीका लागि ९० रुपैयाँ बढेको छ । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको छ भने काठमाडौंबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।

तपाईको प्रतिक्रिया