चुनावको लागि कार्यकर्तालाई देउवाको आग्रह

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकोट

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेको छ ।

काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउबाले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताए।


‘ विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न ‘, देउवाले स्पष्ट पार्दै अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको संघर्ष रहेको खुलासा गरे ।

कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिए। पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा. रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी लगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गरेका थिए ।

स्मरणीय कुरा के हो भने तत्कालीन महाधिवेशन प्रतिनिधि कृष्णबहादुर लामाले २०५८ सालमा ३ लाख ७५ हजारमा ३ रोपनी ३ आना १ पैसा जग्गा पार्टीको लागि किनिदिएका थिए । सोहिबेला नै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले भवनको शिलान्यास गरेका थिए । हिजोआज सोही जग्गाको मूल्य करिब ७ करोड पर्न आउँछ ।

तपाईको प्रतिक्रिया