एनआरएन साउदीद्वारा भ्रामक समाचारको निन्दा

भ्रामक समाचारविरुद्ध काउन्सिल जाने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाले घोटालाको आरोप लागेपछि प्रेस विज्ञप्ति जारी गरेर खण्डन गरेको छ ।

संघले आइतबार जूम बैठक गरेर ध्यानाकर्षणसहित प्रेस विज्ञप्ति जारी गरेको हो । संघका अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सामाजिक प्रोजेक्टमा अनियमितता भएको आरोपसहित एउटा अनलाइन न्युजले समाचार प्रकाशित गरेको थियो ।

हलिउडखबर डट्कमका लागि कृष्ण केसीले लेखेका समाचार अनुसार एनआरएन मध्यपूर्वका उपसंयोजक जोन अर्यालले मासिक ९ सय अमेरिकी डलर र त्यस्तै एनआरएनकी सदस्य यस्मीन बेगम सैयद, साउदीका संस्थापक राजु सैयाद, अध्यक्ष तेजबहादुर थापा, कोषाध्यक्ष सन्तोष लुइँटेल, सचिव लालबहादुर मगर लगायतले ६५० अमेरिकी डलर मासिक तलब लिएर घोटाला गरेको आरोप लगाएको थियो ।

प्रेसमिटमा एनआरएन साउदीका संस्थापक राजु सैयादले मध्यपूर्व उपसंयोजक, संघका साउदी अध्यक्ष लगायत अन्य पदाधिकारीहरुविरुद्ध पूर्वाग्राही राखेर महिनावारी यसरी अनियमित गर्छ भनेर भ्रामक समाचार सम्प्रेषण गरेको बताए । उनका अनुसार योजनाबद्ध ढंगले समाचार सम्प्रेषण गरेका हुन् । ‘उपसंयोजक अर्याल र म कोरोना महामारीबीच पनि ज्यान जोखिम राखेर नेपालीहरुलाई उद्धार तथा सचेत गर्न खटिएका थियौं,’ संस्थापक सैयादले भने,’ कसैको उक्साटमा आएर लेखेको समाचारले हाम्रो उदेश्यलाई विचलित गर्न सक्दैन ।’ एनआरएनको आगामी अधिवेशनलाई लक्षित गरेर भ्रमहरु फैलाएको हुनसक्ने सैयादको भनाइ छ । उनले थपे ‘ यदि यसो हो भने उनीहरूको हातमा नेतृत्व कुनै पनि हालत जान दिदैनौं ।’

उक्त भर्चुअल बैठकमा एनआरएनका सदस्य नारायण पासवानले घोटाला आरोपको खण्डन गर्दै यस किसिमका घटनाले काम गर्न उर्जा थपिएको बताए । उनका अनुसार मध्यपूर्वका उपसंयोजक जोन अर्याल, सहकर्मी राजु सैयद, अध्यक्ष तेजबहादुर थापा लगायत साउदी एनआरएन माथि पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गर्न लगाएका हुन् । ‘ म साउदी एनआरएनको दुई कार्यकालको अध्यक्ष हुदाको अनुभव र कोभिड-१९ को महामारीमा उहाँहरुसँग गरेको सहकार्य जीवन्त छ,’ एनआरएनका सदस्य पासवानले भने,’ त्यसकारण उहाँहरुविरुद्ध लगाएको आरोप दुस्प्रचार हो ।’ उनले थपे ती भ्रमक समाचार प्रकाशित गर्नेलाई कारबाहीको दायरा ल्याउनुपर्छ  ।

त्यस्तै प्रेसमिटमा मध्यपूर्वका उपसंयोजक राजेन्द्र (जोन) अर्यालले आफ्ना टिमविरुद्ध पूर्वाग्राही राखेर समाचार बनाएकोमा आक्रोश व्यक्त गरे । उनका अनुसार संघको बिधि र विधानमा रहेर प्रोजेक्टबाट कोभिड-१९ प्रभावित प्रत्यक्षअप्रत्यक्ष पीडित भएकाहरूलाई सहयोग गरेका छन् । ‘ हाम्रो टोलीले साउदीमा कोरोना उच्चविन्दुमा पुग्दा समेत तत्काल नेपालीहरुलाई खानपिन र बासस्थानको समस्या नहोस् भनेर खाद्यान्न तथा अन्य सामग्री बाँड्न हिडेका थियौं र हाल समेत उक्त कार्यमा व्यस्त छौं ,’ अर्यालले भने,’ यदि पैसाकै लागि हुन्थ्यो, भने ज्यान जोखिम राखेर फिल्डमा गएर कोही गाँस र कपासबाट बन्चित नहोस् भन्ने ध्येय राख्दिन थियो होला ।’

उपसंयोजक अर्यालले बिना प्रमाण आरोप लगाउनु भनेको निस्वार्थ समाजसेवामा लागेकालाई निरुत्साहित गरेको बताए । उनले आफू वा आफ्ना टोलीका सदस्यहरुले एक रियाल अनियमित भएको प्रमाण ल्याएमा कार्वाहीको भागिदार हुन पछि नहट्ने जिकिर गरे । उनले भ्रमक समाचार लेख्ने पत्रकार र अनलाइन न्युजलार्इ सच्याउन आग्रह समेत गरे ।

प्रेसमिटमा संघका साउदी अध्यक्ष तेजबहादुर थापाले संस्थालाई दुस्प्रचार गर्ने उदेश्यसहित समाचार सम्प्रेषण गरेकोमा दुख व्यक्त गरे । उनका अनुसार अमेरिकाबाट संचालित हलिउडखबर डट कमले भ्रामक समाचार सम्प्रेषण गरेका हुन् । ‘ उक्त न्युज र पत्रकारले समालोचना सहितको समाचार सम्प्रेषण गर्नुभयो भने हामी विचार गर्छौं,’ अध्यक्ष थापाले भने,’ अन्यथा उहाँहरुविरुद्ध प्रेस काउन्सिल वा अन्य सम्बन्धित निकायमा कारबाही लागि निवेदन दिन बाध्य हुनेछौं ।’


एनआरएन साउदीका कोषाध्यक्ष संतोष लुइँटेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सामाजिक प्रोजेक्टबाट साउदीमा आएका आर्थिक सहयोगका बारेमा स्पष्ट पारेका थिए । कोषाध्यक्ष लुइँटेलले प्रोजेक्ट अन्तर्गत नेपाल फर्कन हवाई टिकट, कोरोनाका पीसीआर टेष्ट लगायत अन्य सामग्री खरिदका खर्च समेत प्रस्तुत गरेका थिए । संस्थाको बिधि र विधान अनुसार अध्यक्ष र आफ्ना नाममा नेपालका ग्लोबल आईएमई बैंक ( Global IME Bank ) मा जेभी खाता रहेको बताए । भ्रामक समाचार सम्प्रेषण गर्नेलाई उनले चेतावनी दिदै अनियमित भएको पुष्टि गर्न चुनौती दिए ।

भर्चुअल प्रेसमिटमा संघका साउदी उपाध्यक्षहरु बिशाल श्रेष्ठ, रोशन श्रेष्ठ, सचिब लालबहादुर मगर, सह कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, प्रोजेक्ट अनुगमन सदस्य दिपक रेग्मी लगायतले मध्यपूर्वमा निस्वार्थ भावनाले सामाजिक कार्यहरू गर्दै आएका, पीडितहरुका सहयात्री र साउदी एनआरएनलाई लगाएको मिथ्या आरोपको निन्दा गरे । वक्ताहरूले उक्साहटमा समाचार लेख्ने र प्रकाशित गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने भनाइ राखेका थिए ।

संघका प्रवक्ता बिष्णु न्यौपानेले प्रेसमिट वाचन गरेका कार्यक्रम महासचिव उमेश भट्टराईले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया