नेपाली राजनीतिको दुःख

काठमाडाैं

नेपाली नागरिक लामो समयदेखि देश र आफ्नो विकास, गरिबीबाट मुक्ति र राष्ट्रको उन्नतिको छटपटीमा विभिन्न राजनीतिक व्यवस्था र प्रणालीको लागि प्रसव वेदनाबाट अनवरत गुज्रिरहेको छ । शाहवंशीय राजतन्त्र र राणाशासनको चंगुलबाट उन्मुक्ति खोज्दै नेपालमा राजनीतिक आन्दोलन र जनक्रान्तिको श्रृङ्खला चल्यो । त्यसको एउटा महत्वपूर्ण मोड २००७ सालको परिवर्तनले ल्यायो । त्यो मात्र एक दशकको छिपछिपे र खिचातानी अभ्यासका बिच २०१७ सालमा आएर टुगिंयो । त्यसपछि ३० वर्षे पञ्चायती युग शुरु भयो । त्यो सिलसिला त्यहि रोकिएन । २०४६ सालको बहुदलीय व्यवस्था र प्रजातन्त्रको पुर्नस्थापना हुँदै दशवर्षे माओवादी जनयुद्धको सुरुङ्गमा मुलुक छिर्यो । त्यही बिच राजा वीरेन्द्रको वशंनाश हुँदै ज्ञानेन्द्रको सत्तारोहण भयो । ज्ञानेन्द्रकै कर्मले सात दल र माओवादीलाई एक ठाउँ ल्याइ पुर्यायो र दोस्रो ऐतिहासिक जनआन्दोलन ०६२÷०६३ शुरु भयो । त्यही आन्दोलनले एउटा निष्कर्ष दियो- मुलुकमा राजतन्त्रको अन्त, गणतन्त्रको यात्रा, समावेशिता, धर्मनिरपेक्षता र सघींयतालाई पनि मूलधारको राजनीतिमा ल्याइदियो ।

अलग अलग पार्टी र पृष्ठभूमिका प्रधानमन्त्री र राष्ट्रपति हुँदा कतिपय आपतकालिन अध्यादेशहरु अनावश्यक रोक्ने र हुँदै नभएको अधिकार प्रयोग गरेर अस्थिरता ल्याउने कार्य गरेको देखियो ।

पहिलो सविंधानसभाको निर्वाचन र विघटन, दोस्रो सविंधानसभाको पुनःनिर्वाचन हुँदै सविंधानको निर्माण र जारीसम्म आइपुग्दा मुलुकले विभिन्न उकाली ओराली पार गरिसकेको थियो । त्यसपछि तीन तहको निर्वाचन र त्यही दौरानमा नेकपा एमाले र माओवादीको पार्टी एकताको लागि निर्मित वामगठबन्धनले ‘स्थिर सरकार’ र ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लगाएर नागरिकसित दुई तिहाइ बहुमतको सरकारको लागि म्याण्डेट चाहियो भन्ने अपिल गर्यो । नेपाली नागरिकले झण्डै दुई तिहाइको पुग्दो ६४ प्रतिशत जनमत दिएर सत्तामा बिराजमान गराए ।
पहिलो सविंधानसभाको निर्वाचनमा नेकपा माओवादी झण्डै दुई तिहाइको नजिक मत ल्याएर सत्तामा पुगेको थियो । प्रधानमन्त्री र राष्ट्रपति फरक फरक दल र पृष्ठभूमिका थिए । त्यसैले सेनापति प्रकरणमा आएर राष्ट्रपतिले हुँदै नभएको अधिकार प्रयोग गरेर सेनापतिलाई थमौति गरे र सरकारको निर्णयलाई लत्याइदियो । सविंधान जारी हुँदाको बखतसम्म यस्तै यस्तै श्रृखंला चलिरह्यो । अलग अलग पार्टी र पृष्ठभूमिका प्रधानमन्त्री र राष्ट्रपति हुँदा कतिपय आपतकालिन अध्यादेशहरु अनावश्यक रोक्ने र हुँदै नभएको अधिकार प्रयोग गरेर अस्थिरता ल्याउने कार्य गरेको देखियो । त्यसरी फरक फरक दल र पृष्ठभूमिका प्रम र राष्ट्रपति हुँदा काम गर्न असहज हुने गरेको देखेपछि नागरिक र दलीय तहमा पनि एकै खालको मत निर्माण हुन थाल्यो- राष्ट्रपति र प्रधानमन्त्री एकै दल र पृष्ठभूमिकाको हुनु पर्ने रहेछ ।

जब नेकपाको सरकार बन्यो, त्यो आकांक्षा पूरा भयो । एकै दल र पृष्ठभूमिका राष्ट्रपति र प्रधानमन्त्री बने । पछिल्लो तीन वर्षको कार्यकाल देखेपछि पुनः नेपाली नागरिक र दलभित्र एकै दलको दुबै सिट हुँदा त झन समस्या पो हुँदो रहेछ भन्ने गहिरोसँग अनुभूत मात्रै भएन प्रतिनिधिसभा विघटन नै देखियो । यताबाट अध्यादेश पठाउने उताबाट एक घण्टामै जारी गर्ने प्रवृत्तिले झनै आहत गरायो । ससंद् विघटनसम्मको सरकारको सिफारिसमा सम्बन्धित दलका नेताहरुसित परामर्श नगर्ने, विपक्षी दलहरुसित कुनै सरसल्लाह नगर्ने र त्यस्तो मुलुक र सविंधानकै भविष्यमाथि तलमाथि गर्न सक्ने विषयमा समेत कुनै छलफल नगरेको देखिएपछि नेपालमा एउटै दल र गुटका व्यक्तिहरुलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनु झन घातक हुँदो रहेछ भन्ने पुष्टि भयो ।

आशै आशमा बित्यो

नेपाली जनता जति उदार, परिवर्तनप्रेमी, प्रगतिशील र अग्रगामी कहीँ छैन भन्दा अतिशयोक्ति नहोला किनभने प्रत्येक दश वर्षमा राजनीतिक लहर सिर्जना हुन्छ र परिवर्तनका लागि नेपाली जनताले निरन्तर आन्दोलन र बलिदान गर्दै आएका छन् । प्रत्येक दश वर्षमा आएको राजनीतिक आन्दोलनको आँधीबेरीले आर्जित गरेको उपलब्धिहरुलाई संस्थागत गर्ने प्रयास हुँदा नहुँदै अर्कै माहौल सिर्जना हुने र जनता संघर्षमा उत्रनु पर्ने नियती दोहोरिरहेको छ । यसपालि वामगठबन्धनले आफूलाई शक्तिशाली बनाएर सत्तामा पुर्याउन गरेको अपिललाई नागरिकले मौका दिएका थिए । उनीहरुले जुन वाचा र प्रतिबद्धता नेपाली जनताका सामु गरेका थिए, त्यसलाई वैधानिकता दिएका थिए । अहिलेसम्म नेपालको राजनीतिक इतिहास हेर्दा नेपाली जनताको चरित्र जो जो विभिन्न ब्यानरमा आए, तिनीहरु सबैलाई अवसर दिए र सत्तामा पुर्याए । नेपाली जनताले राजा, राणा, नेपाली कांग्रेस, राप्रपा, एमाले, माओवादीलगायत सबैलाई पटक पटक मौका दिइ नै रहे । तर, खेदको कुरा नेपाली जनतालाई ती दल र नेताहरुले कहिले पनि मौका दिएनन्, आफ्ना आकांक्षा र सपनाहरु पूरा गर्नलाई । त्यसरी उनीहरुले पछिल्लो दुई तीन सय वर्षको इतिहासमा एक एक गरेर सबैलाई साथ दिए, अवसर दिए तर उनीहरुको त्यो विश्वासको तिनीहरुले धज्जी उडाउँदै आइरहे । सत्तामा पुगेकाहरुले नागरिकको सपनाको हत्या गरे, उनीहरुलाई बिर्से । त्यसरी पुस्तौं पुस्ता अब केही होला कि ! परिवर्तन आउला कि ! देशले कोल्टे फेर्छ कि ! भन्दा भन्दै बित्यो तर त्यो दिन कहिल्यै आएन ।

कुरुप राजनीति र शहरीकरण

नेपालको कुरुप शहरीकरण कुरुप राजनीतिको एउटा जीवन्त उदाहरण हो । जुन तरिकाले नेपालका गाँउहरुको शहरीकरण भइरहेका छन्, त्यो हेर्दा यहाँको राजनीतिको अनुहार त्यहाँ प्रष्ट देख्न सकिन्छ । काठमाडौं उपत्यकालाइ नै लिउँ । पचास वर्ष अगाडि उपत्यका कस्तो थियो ? अहिले कस्तो भयो ? पचास वर्ष अघि ज–जस्ले उपत्यका देखेका थिए, उनीहरु अहिले निकै भावविह्वल हुने गर्छन् । एकदिन सानेपामा एकजना वृद्ध व्यक्तिले यस पक्तिंकारलाई भने- ‘बाबु, यहाँ पहिले कस्तो मीठो पानीको मुहान थियो, धारा आउथ्यो । अहिले पिच सडक बन्यो, घर बनायो । त्यो पानीको मुहान अहिले कहाँ सुक्यो सुक्यो ।’ डिल्लीबजारमा पनि पहिला मीठो र स्वच्छ पानीको मुहान थियो । घट्टेकुलो नामले नै बताउँछ कि त्यहाँ कुनै जमानामा पानीघट्टा चल्ने कुलो थियो । त्यही घट्टेकुलोको पानी खाने अझै पनि फाट्टफुट्ट भेटिन्छन् । उनीहरुकै आँखा सामुन्ने समाज कस्तो भयो ? कस्तो कुरुप शहरीकरण भयो । विदेशीहरु समेत जो नेपाललाई असाध्यै माया गर्छन्, माइकल हट जस्ता जो जीवनको उत्तरार्धमा पुगेका ती त क्वाँ क्वाँ नै रुन्छन् । हेर्दा हेर्दै उपत्यका कंक्रिटको जङ्गल भएको बताउँछन् । पचास वर्ष अघिका ती पुराना उपत्यका सम्झेर नोस्टाल्जिक हुन्छन् ।

हामीले हेर्दा हेर्दै पुरानो बसपार्कमा मल बन्दैछ । बसपार्कलाई खुल्लामञ्चमा सारियो र त्यहाँ धेरै सटरहरु बने । आँखै सामुन्ने खुल्लामञ्च सिद्धियो । जतिबेला पुरानो बसपार्कमा मल बन्न शुरु भयो, खुल्लामञ्च मास्ने काम भयो । अहिलेको नेकपा एकता हुँदै थियो । एमाले र माओवादी एकता भएर नेकपा बनेपछि नेपालमा राजनीतिक क्रान्तिको चरण समाप्त भयो । अब आर्थिक क्रान्ति भन्दै थिए ती । तर, तीन वर्ष बित्दा नबित्दै त्यही नेकपाको एक घटक प्रचण्ड–माधव समूह संसद् विघटन, प्रतिगमन विरुद्ध र संसद् पुर्नस्थापनाको माग लिएर सडकमा आउनु पर्यो । माघ ९ गते त्यही समूहले उपत्यकामा बृहत शक्ति प्रदर्शन गर्यो । त्यसपछि माघ २३ गते प्रधानमन्त्री ओली गुटले खुल्ला मञ्चकै अभावमा नारायणहिटि अगाडि आमसभा राखे । आफ्ना देशभरिको कार्यकर्ता र पार्टीपङ्ति उतार्दा त्यो खुल्लामञ्च नहुँदा रत्नपार्क, प्रदर्शनीमार्गका त्रिकोण सडकबीचमै विरोध सभा गर्नु पर्यो । काठमाडौंका मुख्य सडक त्यसरी कब्जा गरेरै गरेको त्यो कार्यक्रमले सार्वजनिक यातायात र जनजीवन अस्तव्यस्त बनायो । खुल्लामञ्च त तिनीहरु आफैंले सिध्याएका थिए । हाम्रा दलहरु, नेताहरु कति अदूरदर्शी र अपरिपक्व रहेछन् भन्ने यहाँबाट प्रष्टिन्छ । भोलिको लागि खुल्लामञ्च जस्ता सार्वजनिक स्थलहरु सरंक्षण गर्नु पर्छ भन्ने सामान्या चेत समेत नभएको नेतृत्व ! नेकपाबाट निर्वाचित मेयर जो काठमाडौंका हुन्, उनी आफैं खुलामञ्चमा नयाँ नयाँ सटर बनाएर भाडामा दिन तम्तयार थिए । त्यस विरुद्ध नागरिकले आन्दोलन र खबरदारी गरिरहन पर्ने !


नेपाली राजनीतिको दुःख

इतिहास हेर्दा चाहिनेभन्दा बढी सत्ता र शक्तिको भोकले गर्दा हाम्रा राजनीतिमा दुःख पैदा भइरहेको छ । आफूसँग नभएको अधिकार प्रयोग गरेर शक्ति केन्द्रिकृत गर्दै तानाशाही पथमा लम्कने सिलसिलामा तमाम समस्याहरु सिर्जना भएका छन् ।

नेपाली नागरिक निन्द्रा नलागेर छटपटीमा रहेको प्रतीत हुन्छ । रात कटाउनका लागि यता कोल्टे फेर्यो उता कोल्टे फेर्यो पटक्कै निन्द्रा लाग्दैन । कोल्टे फेर्दा फेर्दै रात बिते जसरी राजनीतिक प्रणाली र व्यवस्थाले अलि सुखको दिन आउँछ कि भनेर परिवर्तनमा होमिन्छ, आन्दोलन सफल हुन्छ, नयाँ दल र अनुहार सरकारमा पुग्छन् तर स्थितिमा तात्विक भिन्नता आउँदैन । पोखरी शान्त हुन हुन खोज्छ, बाहिरबाट कसैले ढुङ्गा हान्छन् र पुनः तरंगित हुन्छ । नेपाली राजनीतिको दुःख बेला बेलामा निस्किने राजनीतिक स्टन्ट गर्नेहरुले निरन्तर निम्त्याइ रहेका छन् । अहिलेसम्मको इतिहास हेर्दा चाहिनेभन्दा बढी सत्ता र शक्तिको भोकले गर्दा हाम्रा राजनीतिमा दुःख पैदा भइरहेको छ । आफूसँग नभएको अधिकार प्रयोग गरेर शक्ति केन्द्रिकृत गर्दै तानाशाही पथमा लम्कने सिलसिलामा तमाम समस्याहरु सिर्जना भएका छन् । कुनै राष्ट्रपति नभएको अधिकार प्रयोग गर्ने, कुनै राष्ट्रपति भएको जति अधिकार पनि प्रयोग नगर्ने प्रवृत्तिले नेपालको राजनीतिमा समस्या उत्पन्न हुँदै आएको छ । देश सघींय लोकतान्त्रिक गणतन्त्रमा आए पनि दल र नेताहरुमा व्याप्त मध्ययुगीन सामन्ती चिन्तन नै नेपाली राजनीतिको दुःखका मूल स्रोत हुन् । त्यहि कारणले बेला बेलामा सनकबाजहरु आउँछन्, समाज र देशलाई दुःखको सुरुङमा हुल्छन् । सविंधान जारी गर्ने बेलामा जसले विश्वकै सर्वोत्कृष्ट दावी गरेको थियो, उनैले त्यो सविंधानलाई अहिले कोमामा पुर्यायो । हाम्रो राजनीतिको दुःख आफैंलाई केन्द्रमा राखेर सोच्ने र मुलुकको हितलाई तिलाञ्जली दिएर व्यक्तिगत हितका लागि जे पनि गर्न तयार नेतृत्वका कारणले गर्दा सदैब सिर्जना हुँदै आएको छ ।

देश सघींय लोकतान्त्रिक गणतन्त्रमा आए पनि दल र नेताहरुमा व्याप्त मध्ययुगीन सामन्ती चिन्तन नै नेपाली राजनीतिको दुःखका मूल स्रोत हुन् ।

जननिर्वाचित संसद्लाई हिजो महेन्द्र र ज्ञानेन्द्रले अहिले आएर ओलीले विघटन गरेर नेपाली राजनीति र जनतामाथि दुःखका पहाड उभ्याएका छन् । बृहत नागरिक समाजले गर्दै आएको शान्तिपूर्ण प्रदर्शन बालुवाटार मार्च कार्यक्रममा निर्मम दमन गरेर ओली सरकारले निर्वाचित तानाशाहको अवतार ग्रहण गरेको छ । यस पङ्तिकारले आफ्नै पुस्तक ‘जनजाति, मधेशी र राष्ट्रियताको सवाल’ (२०७३) मै निर्वाचित तानाशाहको बारेमा चर्चा गरेको थियो, जतिबेला अमेरिकामा ट्रम्पको उदयसितै विश्वभरि उग्रराष्ट्रवादी र आत्मकेन्द्रित दक्षिणपन्थी शासकहरुको उभार आएको थियो । तर, अमेरिकामै जो वाइडेन आएसँगै यस्ता सन्की शासकहरुको मियो ट्रम्पको पतनले ओलीजस्ता निर्वाचित तानाशाही पथमा हिँड्ने शासकहरुको पतन पनि अवश्यम्भावी रहेकोमा कुनै द्विविधा छैन । नेपाली राजनीतिको यहि दुःख छ कि यस्ता संसद् विघटनकारीको कारणले पटक पटक मुलुकले निकै महंगो मूल्य चुकाउँदै आउनु परेको छ ।

तपाईको प्रतिक्रिया