सिन्धुलीको घ्याङलेक गोपेमा ल्होछार सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुली

सिन्धुली जिल्लाको घ्याङलेक–४, गोपेमा यसबर्ष पनि सांस्कृति कार्यक्रम गरी ल्होछार मनाएको छ । सोनम ल्होछार उपलक्ष्यमा योला होइस्हेर तामाङ समाज र पेमा देछेन गोम्पाको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दिनेश लो तामाङले हाम्रो भौगोलिक सामजिक बनावट अनुसार सोनम ल्होछार नै उपयुक्त रहेको र नेपाल तामाङ घेदुङको आधिकारिक धारणा पनि यहि रहेको बताए । तामाङ समुदाय एक भइ ल्होछार जस्तो महान पर्वहरुको संरक्षण गर्दै अग्रगमनका निम्ति एक हुनुपर्नेमा जोड दिए ।

ताम्बा एवं उपप्रधानपञ्च उत्पन्नकुमार वाइबाले हिन्दु संस्कृति हावी भएको बेला होइस्हेरको यस्ता कार्यक्रमले तामाङ संस्कार संस्कृति, भाषा पुर्नउत्थान र संरक्षणमा सहायता पुग्ने बताए ।

समाजसेवी केएम घिसिङ तामाङले हाम्रो संस्कार संस्कृति लोप हुदै जानुमा राजनीतिक कारण मुख्य रहेको बताउँदै आफ्नो हक अधिकार र मुक्तिको लागि अग्रगामी राजनीतिक चेतनाको बिकास हुनु आवश्यक रहेको बताए ।

टाशी दार्गेलीङ गोम्पाका छेवाङ लामाले हिमाली बौद्धमार्गीहरुको साझा पर्व ल्होछार भएकोले ल्होछारमा विवाद भन्दापनि एकजुट भएको मनाउनु नै उचित रहेको बताए ।

नेपाल तामाङ घेदुङ घयाङलेकका प्रमिला वाइबाले तामाङ समुदायमा रहेको महिला प्रधानताको चर्चा गर्दै अझै तामाङ महिलाहरु सुसुचित हुँदै तामाङ समुदायलाई अघि बढाउन भुमिका खेल्नुपर्ने बताइन् ।

यस्तै गोपे माबिका प्रधानाध्यापक ऋषिराज ढकालले आफु यस गाउँमा आएपछि तामाङ भाषा संस्कृति बुझ्न पाएको र यसप्रति मोहित भएको बताए । उनले तामाङ समुदायले यस देशमा जन्मेका बुद्धले प्रतिपादन गरेको बुद्ध धर्मको अनुयायी हुनुमा गौरव गर्दै आफ्नो धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।


सांस्कृतिक समारोहमा गोपे माबिका बिद्यार्थीहरुको समूह जेनिशा पाख्रिन र साथीहरु, राष्ट्रिय नाचकार नवीन वाइबा र साथीहरुको समूह, दावा लो तामाङ, एलबी घिसिङ तामाङले नृत्य एवं गीत प्रस्तुत गरेका थिए ।

दुई दशकदेखि योला होइस्हेर तामाङ समाजको आयोजनामा सामुहिक ल्होछार सांस्कृतिक समारोह गर्दै आइरहेको छ । समाजले प्रत्येक वर्ष घरघरमा ल्होछार मनाउने अभियान सन्चालन गर्दै आइरहेको छ ।

तामाङ समुदायको बसोबास रहेको गोपे गाउँमा संस्कार सस्कृतिको उदाहरनिय एबम आकर्षणको केन्द्र हो । समारोह योला होइस्हेर तामाङ समाजका अध्यक्ष रुपेश मोक्तान तामाङको अधक्ष्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया