चेपाङ समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा : नगरप्रमुख खनाल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

निजगढका मेयर सुरेशकुमार खनालले अति विपन्न सूचिमा रहेका अल्पसङ्ख्यक चेपाङ समुदायका विद्यार्थीलाई आवासीय सुविधासहित आधारभूत तहको शिक्षाको निःशुल्क व्यवस्था गर्ने बताएको छ ।

शुक्रबार शिवशक्तेश्वर आधारभूत विद्यालयको ५२ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मेयर खनालले चेपाङ समुदायको विद्यार्थीका लागि नगरपालिकाले आवास गृहको निर्माण गर्न लागेको जानकारी दिए ।

चालु आर्थिक वर्षमै आवास निर्माण कार्य सुरु गर्ने गरी प्रक्रिया अघि बढाएको उनले बताए । मजदुरीको सिलसिलामा चेपाङ समुदायका अभिभावकले आफ्ना बालबच्चालाई समेतसँगै श्रमको लागी लैजाने भएकोले उनीहरूको अध्ययनमा असर परेको छ, नगरप्रमुख खनालले भने, ‘त्यसैले आवाससहितको निःशुल्क शिक्षा दिइने व्यवस्थाको अवधारणा अघि सारेको हो ।’

नगरप्रमुख खनालले भने, ‘आवास गृह सहितको अध्यापनको व्यवस्था गरेपछि चेपाङ समुदायको अध्यापनमा चासो बढ्ने हामीले अनुमान गरेका छौँ ।’

आवास गृहमा विद्यार्थीका लागी खानासहित शैक्षिक सामग्री लगायत अन्य आवश्यक सामग्रीहरूको नगरपालिकाले नै व्यवस्था गर्ने पनि मेयर खनालले बताए ।

आधारभूत तहको अध्ययन गर्दागर्दै बालबालिकाहरूले बिचैमा पढाई छोड्दा चेपाङ समुदायको विद्यार्थीको शैक्षिक स्तर माथि उठ्न नसकेको हो । निजगढ नगरपालिकाको १३ नम्बर वडामा ३ दर्जन भन्दा बढी चेपाङ परिवारको बसोबास रहेको छ । आर्थिक रूपमा अति बिपन्नस्तरका चेपाङ समुदायको शैक्षिक स्तर समेत अत्यन्तै न्यून रहेको छ ।


बाराको निजगढ सहित मकवानपुर, धादिङ, चितवन, तनंहु, गोरखा, लमजुङ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । ्

कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछाने खनाल,वडा नम्बर १३ का वडाध्यक्ष सूर्य घलान लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घलानको सभापतित्वमा वार्षिकोत्सव सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका