सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मंगलबार राति उनको निधन भएको हो ।
मंगलबार बेलुकी हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । हक्की स्वभावकी विदेशमन्त्री स्वराजले आफ्नो कार्यकालमा भारतलाई विश्वमा प्रतिनिधित्व गराउनका लागि निकै प्रभावशाली भूमिका निर्वाह गरेकी थिइन् ।
यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसमा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् ।
उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन् ।
सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन् । स्वराजका पतिसहित एक छोरी छिन् ।