तामाङ ज्ञान अभिलेखनका चुनौती

अमृत योन्जन-तामाङ भाषाशास्त्री
काठमाडाैं

‘तामाङ ज्ञान’ अत्यन्तै संकटग्रस्ट अवस्था (Critically Endangered) मा पुगिसकेको छ । यसका संहारकहरु पनि पढेकालेखेका शिक्षित तामाङहरु नै हुन् । विद्यलायी, महाविद्यालयी वा विश्वविद्यालयी ज्ञानले तामाङहरुलाई आफ्ना सामुदायिक ज्ञान, अनुभव, अभ्यास, अनुभूति र सांस्कृतिक सम्पदाहरुबाट बिरानो बनाउँदै लगेको छ भने विभिन्न धर्माधिकारीहरुले तामाङ ज्ञान-विज्ञानलाई निस्तेज पार्दैछन् । यसमा राज्यसत्ता मुख्य दोषी छ । त्यसैकारण हाल आएर ‘तामाङ ज्ञान पनि हुन्छ र ?’ जस्ता प्रश्न पनि तेर्सिन थालेका छन् । यो निक्कै सोचनीय स्थिति हो । यसले तामाङ पहिचान गुम्ने खतरामा पुगेको सङ्केत गर्दछ । तामाङ संस्कृतिका मर्मज्ञ सन्तवीर लामाले भनेको अवस्थामा हामी पुगिसकेका छौं-

आपा आमासे ह्युल थोर्जि
जाजाकोलासे काइ थोर्जि
गान्बा गान्सुमसे ठिम थोर्जि ।

(बुबा-आमाले गाउँ छाडे
छोराछोरीले भाषा छोडे
बुढापाकाले रिवाज छोडे ।)

आमाबुबाहरुले गाउँ छोडिसकेका छन् । बालबालिकाले आ-आफ्ना भाषा बिर्सिसकेका छन् । बुढापाकाले आफ्ना परम्पराको अभ्यासको अभावमा संस्कृति-संस्कार बिर्सिसकेका छन् । हामी परिवहनीय ज्ञानतिर बरालिएका छौं र यसलाई नै हामी आफ्नो ज्ञान भनिरहेका छौं । वास्तविक तामाङ ज्ञान सङ्कटमा पुगिसकेको छ ।

१. ‘तामाङ ज्ञान’ के हो ?

तामाङ समाजमा निसृतः र अभ्यासित ज्ञान नै ‘तामाङ ज्ञान’ हो । ताम्बा काइतेन, जिक्तेन तामछ्योइ, कुक्पा खाछ्योइ, ह्रामा, दोङराप, फाराप, केराप, व्हाइ आदि ग्रन्थमा सङ्कलित ज्ञान नै तामाङ ज्ञान हो । तामाङ ज्ञान तामाङ समाजमा नै जन्मिन्छ, हुर्किन्छ पनि । तामाङ भाषा तामाङ ज्ञानको संवाहक हो ।

अब प्रश्न उठ्न सक्छ ‘तामाङ ज्ञान’ भनेको के हो ? मेरो विचारमा तामाङ समाजमा निसृतः र अभ्यासित ज्ञान नै ‘तामाङ ज्ञान’ हो । ताम्बा काइतेन, जिक्तेन तामछ्योइ, कुक्पा खाछ्योइ, ह्रामा, दोङराप, फाराप, केराप, व्हाइ आदि ग्रन्थमा सङ्कलित ज्ञान नै तामाङ ज्ञान हो । तामाङ ज्ञान तामाङ समाजमा नै जन्मिन्छ, हुर्किन्छ पनि । तामाङ भाषा तामाङ ज्ञानको संवाहक हो । तामाङ ज्ञान तामाङ भाषामा उनिएको हुन्छ । ‘ज्ञान’ भनेको विज्ञान, प्रविधि (सिप) र सामाजिक अभ्यासहरु पनि हुन् ।

ताम्बा काइतेन, जिक्तेन तामछ्योइ, कुक्पा खाछ्योइ, ठुङराप, दोङराप, फाराप, खेङा, ताम्बा व्हाइ, ह्रामा, उखान-टुक्का आदिमा रहेका ज्ञानगुणका कुराहरु, तामाङका सामाजिक व्यवहार, अभ्यास र मूर्त वा अमूर्त सांस्कृतिक सम्पदाहरु नै तामाङ ज्ञानका मुख्य स्रोत हुन् । तामाङ भाषामा नै तामाङ ज्ञान सङ्ग्रहित हुन्छ ।

‘सेबा’ (जान्नु), ‘गोबा’ (बुझ्नु), ‘सेङ्बा’ (सिर्जनु), ‘खेन्बा’ (कथ्नु वा रच्नु), ‘म्हान्बा’ (सोचविचार वा ममन-चिन्तन गर्नु) र ‘डान्बा’ (सम्झनु)बाट प्राप्त हुने सूचना नै तामाङ ज्ञानका मुख्य आधार हुन् अर्थात् यी छओटा शब्दहरु तामाङ ज्ञान प्राप्त गर्ने औजारहरु हुन् ।

आउँदा दिनहरुमा गहन ढङ्गले तामाङ ज्ञानको अध्ययन-अनुसन्धान र विश्लेषण हुन आवश्यक छ र सङ्कलित समस्त ज्ञान र अभिलेखहरुलाई अभिलेखन गरिनु पनि अति आवश्यक भइसकेको छ । अत्यन्तै सङ्कटग्रस्त स्थितिमा पुगिसकेका तामाङ ज्ञानलाई कसरी पुनर्लेखन, अभिलेखन र पुस्तान्तरण गर्ने ? यो नै आजको मुख्य चुनौती हो । खस्किदो तामाङ मनोविज्ञानलाई अडाएर कसिलो बनाउनु पनि हो । अबको हाम्रा कार्ययोजना र बहसका विषयवस्तु पनि यिनै हुनुपर्दछ । यसै विषयवस्तु वरिपरि यो लेख केन्द्रित रहेको छ ।

२. तामाङ ज्ञानका औजारहरु

ज्ञानको अर्थ कुनै मूर्त वा अमूर्त वस्तुको बारेमा परिचय प्राप्त गर्नु हो । कुनै वस्तुको बारेमा यथार्थ जान्नु ज्ञान हो । तामाङ भाषामा ज्ञानको लागि ‘सेबा’ शब्दको प्रयोग हुन्छ । ‘सेबा’ पाँच इन्द्रीयद्वारा (आँखाले हेरेर, नाकले सुघेर, कानले सुनेर, जिभ्रोले चाखेर र छालाले छोएर) प्राप्त हुने वा जानिने प्रत्यक्ष ज्ञान हो । यसका साथै प्रयोग गरेर, अध्ययन अनुसन्धान गरेर र अनुभव गरेर बुझ्ने ज्ञान ‘गोबा’ हो । यसर्थ ज्ञानी मान्छेको लागि ‘सेबा गोबा म्हि’ (जान्ने बुझ्ने मान्छे) शब्दवलीको प्रयोग हुन्छ । अर्को शब्द छ ‘स्हेङ्बा’ । यस शब्दको अर्थ आर्थित ज्ञान र अनुभूतिलाई आकार दिनु वा सिर्जना गर्नु हुन्छ । यो भौतिक संस्कृतिको निर्माण र सौन्दर्यबोधतिर उन्मुख छ । यस्तै ‘खेन्बा’ शब्दले ‘कथ्नु’ वा ‘रच्नु’को अर्थ दिन्छ । यो शब्द अभौतिक सांस्कृतिक सिर्जनातिर उन्मुख छ । अर्को शब्द छ- ‘म्हान्बा’ । यस शब्दले सोचविचार गर्नु वा मनन-चिन्तन गर्नु वा विश्लेषण गर्नु जनाउँछ । यसबाट यथार्थ ज्ञानको नजिक पुगिन्छ । तामाङ भाषाको यी पाँचै क्रियापदले प्रत्यक्ष ज्ञानलाई सङ्केत गर्दछ । यस्तै विस्मृत वा ओझेलमा परेका ज्ञानलाई स्मृतिमा ल्याउनु ‘डान्बा’ वा ‘झिबा’ हो । यी छ वटा शब्दबाट प्राप्त हुने जानकारी नै ज्ञान हो अर्थात् यी ज्ञान प्राप्त गर्ने औजार हुन् ।

भर्खरै जन्मेको कुनै शिशु संसारको वस्तुको बारेमा अनभिज्ञ हुन्छ, बढ्ने क्रममा उसले आफ्नो परिवेशका वस्तुहरुसँग क्रमशः परिचय हुँदै जान्छ र ती वस्तुहरुको बारेमा उसले आफूलाई ज्ञानी अनुभव गर्दछ । अनुकुल र प्रतिकुल परिवेशको बारेमा हाँसेर वा रोएर वा बोलेर वा लेखेर वा गरेर आफ्नो प्रतिक्रिया व्यक्त गर्दछ । यी क्रियाकलापको क्रममा उसले आफूलाई ‘सेबा’, ‘गोबा’ र ‘म्हान्बा’ व्यक्तिको रुपमा प्रस्तुत गर्दछ र ‘खेन्बा’ तथा ‘स्हेङ्बा’ क्रियाकलापद्वारा बितेका अनुभव अभिव्यक्त गर्दछ ।

परिवेशीय र अनुभवजन्य ज्ञान माथि पुनः प्रयोग र चाँचबुझ गरेपछि त्यो आधिकारिक ज्ञान हुन्छ र यसैको आधारमा नयाँ नयाँ शास्त्र, ज्ञान-विज्ञान र कलाकौशलको सिर्जना हुन्छ । तामाङहरुले अवलोकन, प्रयोग र अनुभव मार्फत् खारिएको अनुभवजन्य ज्ञानलाई नै वास्तविक ज्ञान मानेका छन् । सेबा, गाबो, म्हान्बा, खेन्बा र स्हेङ्बा क्रिया शब्दले अनुभववादलाई सङ्केत गरेको छ ।

यसबाट के प्रस्ट हुन्छ भने ज्ञान प्रकृति र परिवेशबाट प्राप्त हुन्छ र ज्ञानको प्रयोग, अभ्यास, सामाजिक व्यवहार वा प्रतिक्रियाद्वारा जाँच हुन्छ । यसरी प्राप्त परिवेशीय र अनुभवजन्य ज्ञान माथि पुनः प्रयोग र चाँचबुझ गरेपछि त्यो आधिकारिक ज्ञान हुन्छ र यसैको आधारमा नयाँ नयाँ शास्त्र, ज्ञान-विज्ञान र कलाकौशलको सिर्जना हुन्छ । तामाङहरुले अवलोकन, प्रयोग र अनुभव मार्फत् खारिएको अनुभवजन्य ज्ञानलाई नै वास्तविक ज्ञान मानेका छन् । सेबा, गाबो, म्हान्बा, खेन्बा र स्हेङ्बा क्रिया शब्दले अनुभववादलाई सङ्केत गरेको छ । सुब्बा (२०६८ः७७)ले भने जस्तै तामाङ ज्ञानको लागि पनि संवेदना (Sensation), अववोधन (Perception), मनन-चिन्तन (Reflection), अन्तबोध (Intuition), तर्कवितर्क (Reasoning) र औचित्यस्थापना (Rationallization) बारम्बार अभ्यासका मार्ग हुन् ।

माओत्से तुङले पनि आफ्नो पुस्तक ‘सही विचार कहाँबाट आउँछ ?’मा भनेका रहेछन्- ‘मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकासबाट खस्छन् ? होइन । के ती सहजै उत्पन्न हुन्छन् ? होइन । ती सामाजिक व्यवहारबाट आउँछन् । मानिसको समाजिक अस्तित्वले नै उसको विचारलाई निर्धारण गर्दछ ।’ यस्तै व्यवहारका विषयमा लेख्दछ : ज्ञान अभ्यासबाट सुरु हुन्छ र अभ्यासबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरि अभ्यासमा नै फर्कनु पर्दछ । ज्ञानको सक्रिय कार्य इन्द्रियग्राह्य ज्ञानबाट वैचारिक ज्ञानमा सक्रिय फड्को मात्र होइन वैचारिक ज्ञानबाट प्रगतिशिल व्यवहारतर्फको फड्कोमा प्रकट हुनै पर्दछ र यो झन बढ्ता महत्वपूर्ण हुन्छ (सिंह २००८ः३६) ।

३. तामाङ ज्ञानका स्रोतहरु

यथार्थ जगतकै प्रत्यक्ष अनुभव, सामाजिक व्यवहार र अभ्यास अनि अनुभूतिहरु तामाङ ज्ञानका स्रोत हुन् । तामाङ समाज वा दर्शनको सन्दर्भमा ताम्बा तामाङ ज्ञानका मुख्य स्रोत हुन्, संवाहक पनि । ताम्बाको ज्ञान ताम्बा काइतेन  (ताम्बाशास्त्र) मा सुरक्षित छ । ताम्बा दर्शनमा ज्ञानका दुई स्रोत देखिन्छन्- (क) प्रत्यक्ष र अनुभवजन्य ज्ञान (ख) विरासतका रुपमा प्राप्त वा हस्तान्तरित पुर्ख्याैली ज्ञान ।

ताम्बाको चिन्तन अनुसार सामाजिक अध्यास, आफ्नै अनुभव र प्रयोगद्वारा प्रत्यक्ष रुपमा देखिएको र भोगिएको कुरा नै सबैभन्दा प्रमाणित हुन्छ । यिनै प्रमाणित ज्ञान नै पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै जान्छ र प्रयोग वा अध्ययन अनुसन्धानको विषय बन्दछ ।

ताम्बा दर्शनको प्रत्यक्ष अनुभूत र अनुभवबाट प्राप्त ज्ञानलाई प्रथम स्रोत मानेको पाइन्छ । प्रत्यक्ष वा यथार्थ ज्ञानको मूल आधार पाँच इन्द्रीय हुन्- आँखा, नाक, जिभ्रो, कान र छाला । वस्तुको रुपमको ज्ञान आँखाद्वारा, गन्धको ज्ञान नाकद्वारा, स्वदको ज्ञा जिभ्रोद्वारा, शब्द ज्ञान कानद्वारा र स्पर्शको ज्ञान छालाद्वारा प्राप्त हुन्छ । यिनै आधारभूत प्रत्यक्ष ज्ञानबाट मानिसलाई हजारौं लाखौं प्रकारका प्राकृतिक वस्तुको पहिचान हुन्छ र उनमा अनुभवजन्य ज्ञानको विकास हुन्छ । प्रत्यक्ष ज्ञान र प्रमाणहरुको आधारमा नै सम्पूर्ण ज्ञानविज्ञानका महलहरु खडा भएको हो । समाजिक न्यायका लागि पनि हकदार भएका हुन् । ताम्बाको चिन्तन अनुसार सामाजिक अध्यास, आफ्नै अनुभव र प्रयोगद्वारा प्रत्यक्ष रुपमा देखिएको र भोगिएको कुरा नै सबैभन्दा प्रमाणित हुन्छ । यिनै प्रमाणित ज्ञान नै पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै जान्छ र प्रयोग वा अध्ययन अनुसन्धानको विषय बन्दछ ।

अनुभववादी दार्शनिकहरु ज्ञानको सुरुवात र पूर्णता अनुभवबाट भएको ठान्दछन् । अनुभवको क्रममा नै ज्ञान तथा संज्ञानहरु मष्तिष्कमा अङ्कित हुँदै जान्छ र खारिएको अनुभवमा बुद्धिको विकास हुन्छ । तामाङ सामाजिक कार्यहरुमा गान्बा (अनुभवी बुढापाका)हरुको अनिवार्य उपस्थितिले यस कुरालाई पुष्टि गर्दछ ।

ज्ञानको अर्को वा दोस्रो स्रोत पुर्खाको विरासत हो । यो पुस्ता दरपुस्ता हस्तान्तरण हुन्छ र भइरहन्छ । भाषालाई पुर्खाद्वारा सिर्जित ज्ञान मान्न सकिन्छ । कतिपय सामाजिक नीति नियमहरु, संस्कार-संस्कृतिहरु निरन्तर हस्तान्तिरित भइरहन्छन् । यसबाट ज्ञान आर्जित हुन्छ, हस्तान्तरित हुन्छ, प्रयोग हुँदै वा थपिँदै र परिमार्जन हुँदै जान्छ भन्ने दृष्ट्रिकोण ताम्बाले राख्दछ ।

अनुभवजन्य ज्ञानसम्बन्धी ताम्बाको चिन्तन जोन लकको विचारसँग नजिक देखिन्छ । लकको विचार अनुसार प्रत्येक प्रत्यक्ष अनुभवबाट विचार उत्पन्न हुन्छ । अनुभव संवेदन (Sensation) र स्वसंवेदन (Reflection) बाट प्राप्त हुन्छ किनभने संवेदनबाट मस्तिष्कले बाह्य जगतको र स्वसंवेदनबाट आन्तरिक जगतको ज्ञान प्राप्त गर्दछ (मिश्र २०४०ः२७) ।

यसैगरी संवेदन र स्वसंवेदनलाई पनि लकले प्रष्ट पारेका छन् । उनका अनुसार बाह्य भौतिक पदार्थहरुले शरीरलाई प्रभावित पार्दछ र त्यो शारीरिक प्रभावले मस्तिष्कमा पुगेर संवेदन उत्पन्न गर्दछ । संवेदनले सँधै कुनै न कुनै वस्तुलाई प्रतिनिधित्व गर्छ । स्वसंवेदन पनि एक किसिमको आन्तरिक ज्ञानेन्द्रीय नै हो जसबाट मस्तिष्क आफ्नो क्रियाकलासँग अवगत हुन्छ । एकातिर संवेदन बाहिरी वस्तुलाई प्रतिनिधित्व गर्दा एउटा प्रतिकको रुपमा हुन्छ भने अर्कोतिर स्वसंवेदनमा मस्तिष्क बिना कुनै प्रतिनिधित्व आफैं प्रत्यक्ष रुपमा उपस्थित हुन्छ र संवेदन भन्दा बढी ध्यानको आवश्यकता स्वसंवेदनमा पर्दछ (मिश्र २०४०ः२७-२८) ।

४. ‘भाषा’ ज्ञान प्राप्तिको प्रमुख साधान

भाषा ज्ञान प्राप्तिको प्रमुख साधान हो । मानिस जातिको प्रारम्भिक आविष्कारमध्ये भाषा एक हो । आगोभन्दा पनि अगाडि नै मानिसले भाषाको प्रयोग प्रारम्भ गरे भन्ने मत पाइन्छ । भाषा ज्ञान प्राप्त गर्ने प्रमुख माध्यम हो अर्थात् ज्ञान प्रशारणका मुख्य माध्यम पनि भाषा नै हुन् । भाषाले गर्दा नै मानव जाति अन्य जीवभन्दा फरक ढङ्गले विकास भए । आदिवासीहरुका लागि भाषा पहिचानको प्रमुख आधार पनि हो । प्रत्येक जातिको आ–आफ्नो भाषा हुन्छ भन्ने धारणा ताम्बाको पाइन्छ । यसैले ताम्बाले भाषाको महत्वमाथि गहिरो आस्था प्रकट गरेका छन् । भाषाप्रतिको तामाङ विश्वदृष्ट्रिकोण सम्बन्धी तीनओटा चिन्तन तामाङ लोकजीवनमा पाइन्छन् । ताम्बाले भाषालाई पुर्खाको प्रसाद, देशको गहना हो भनेका छन् । भाषा हराए संस्कृति हराउँछ, पाप लाग्छ र पहिचान गुम्छ समेत भनेका छन् ।

५. तामाङ ज्ञानशास्त्र (वाङमय)को वर्गीकरण

समस्त तामाङ ज्ञानलाई कसरी वर्गीकरण गर्ने ? यो पनि हाम्रो छलफलको विषय हो । हामी यस विषयमा केन्द्रीत हुन आवश्यक छ । यसबारे हामीले गहन ढङ्गले सोच्नु पर्दछ । मेरो विचारमा समस्त तामाङ ज्ञानशास्त्रलाई रेखाचित्र- १ अनुसार राख्न सकिन्छ ।

तामाङ लोकज्ञानलाई लोकग्रन्थ र लोकवार्तामा वर्गीकरण गर्न सकिन्छ । आफ्ना पुर्खाले सिर्जेका कृतिहरुमा तामाङ जातिको चासो र चिन्छा रहेको हुन्छ । ताम्बा काइतेन, जिक्तेन तामछ्योइ, रेमठिम, ह्रामा, दोङराप, फाराप, केराप आदि सामाग्रीहरुले अहिलेका पुस्तालाई पनि आकर्षित गरिरहेको छ । यी ग्रन्थहरुलाई सङ्कलन र संरक्षण गर्न आवश्यक पनि छ । यसैगरी तामाङ गाउँघरको समग्र मानव जीवन, जगत र मानवीय क्रियाकलापहरुलाई लोकवार्ता (Folklore) मा राखेर अध्ययन गर्न सकिन्छ ।

लोकवार्ता विश्वभरिका विश्वविद्यालयहरुले स्वीकार गरिसकेको विधा हो । लोकवार्ता, लोकजीवन र जगतलाई बुझ्न सघाउने महत्वपूर्ण विधा पनि हो । लोकवार्तामा लोकजीवन, मूर्त तथा अमूर्त लोकसंस्कृति, लोकसाहित्य, कलाकौशल, ज्ञान, विज्ञान र प्रविधि, उपचार विधि, विश्वास पद्धति, निर्णय प्रक्रिया आदिको अध्ययन गरिन्छ ।


यसैगरी आधुनिक ज्ञानलाई शास्त्र (विज्ञान), साहित्य र कलाशिल्पमा राखेर अध्ययन गर्न सकिन्छ । यो पश्चिमी अध्ययन पद्धति हो । यो पद्धति पनि जान्न आवश्यक छ र उपयोगी पनि छ । शास्त्रमा ज्ञानको क्रमवद्ध अध्ययन गरिएको हुन्छ । यस्ता अध्ययनहरुलाई जातिविज्ञान, भाषाविज्ञान, समाजविज्ञान, मानवविज्ञान, अर्थशास्त्र, राजनीति विज्ञान, इतिहास, भूगोल आदिमा वर्गीकरण गर्ने परिपाटी छ ।

अनुभूतिमूलक सामाग्रीलाई साहित्यमा राखेर अध्ययन गरिन्छ । साहिन्यमा मानवीय भावनाहरु अभिव्यक्र भएको हुन्छ । साहित्यलाई कविता, आध्यान, निबन्ध र नाटकमा वर्गीकरण गरिएको हुन्छ । यसमा समालोचना पनि गाँसिएको हुन्छ । ललितकलालाई कलाशिल्पमा राख्न सकिन्छ । कलाशिल्पभित्र चित्रकला, सङ्गीत, नृत्य र फिल्मीकलालाई राख्न सकिन्छ ।

तामाङ जातिको समग्र सिर्जनालाई यस्तै वर्गीकरणको आधारमा अध्ययन अनुसन्धान गरिनु पर्दछ । विधागत अध्ययन गर्न सकिएमा प्रत्येक विधामा पहुँच सहज हुन्छ, स्थिति प्रष्ट हुन्छ र अध्ययनलाई वैज्ञानिक र खँदिलो बनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका