खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन नै प्रतियोगिताको मुख्य उद्देश्य हो : अध्यक्ष शेर्पा

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना र पर्यटन प्रवद्र्धन समितिको सहकार्यमा आगामी श्रावण ३० गते तेस्रो पाँचपोखरी ट्रेल हाल्फ म्याराथन प्रतियोगिता हुन गैरहेको छ । यस अघि पनि दुई पटक २०७४ र २०७५ सालमा प्रतियोगिता सम्पन्न भैसकेको छ । प्रस्तुत छ प्रतियोगिताकै विषयमा समितिका अध्यक्ष टासी शेर्पासँग सैलुङअनलाइनले गरेको कुराकानी :

थाङपाल गाउँपालिका खेलुकुद विकास समितिले ‘तेस्रो पाँचपोखरी ट्रेल हाल्फ म्याराथन प्रतियोगिता’को आयोजना गर्दैछ । तपाई समितिको अध्यक्ष हुनुहुन्छ । प्रतियोगिताको उद्देश्य बताईदिनुस् न ?

नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको देश हो । अबको पाँच महिनापछि ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारिमा लागिरहेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका, पर्यटन प्रवद्र्धन समिति र पाँचपोखरी संरक्षण समिति लगायतका स्थानीय संघसंस्थाहरु पनि यसमा निकै अभिरुचीकासाथ लागिरहेका छन् ।

यो हाम्रो तेस्रो पटकको म्याराथन प्रतियोगिता हो । हामी ‘साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने मूल नाराकासाथ प्रतियोगिता आयोजना गर्दैछौं । प्रतियोगिताको मुख्य उद्देश्य भनेको खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने नै हो । त्यही भएर हामीले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने सहायक नारा पनि तय गरेका छौं ।

अर्को कुरा पाँचपोखरी नेपाल सरकारले गत साल घोषणा गरेको एक सयवटा गन्तव्य स्थलमध्ये १६औं स्थानमा पर्ने गन्तव्य स्थल पनि हो । यस क्षेत्रका भौगोकि विविधता, प्राकृतिक एवं साँस्कृतिक पक्षहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रसम्म पुर्याएर पालिकालाई नै पर्यटन र खेलकुद हबको रुपमा विकास गर्दै आर्थिक पाटोसँग जोड्ने उद्देश्य पनि हो ।

प्रतियोगिताको तयारी कहाँ पुग्यो ? अहिलेसम्म भएका कामहरु बताईदिनुस् न ?

तयारीको कुरा गर्नुपर्दा अहिलेसम्म विभागीय टोलीहरु सबै आ-आफ्ना कामहरु पुरा गर्न दत्तचित्तले लागि परेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सहभागी हुने टुंगो लगाईसकेका छौं । भिजिट नेपाल इयर २०२० को सचिवालय (भि.एन.वाई) र पर्यटन वोर्डसँग सहकार्यका लागि एक किसिमको सहमति गरेका छौं । त्यसैगरी अन्य निजी क्षेत्रहरु स्थानीयस्तरका र राजधानीमा क्रियाशील सबैसँग कुराकानी चलिरहेको छ ।

अब तेस्रो पटकको म्याराथन प्रतियोगिता आयोजना गर्दै हुनुहुन्छ । पहिलो दुई कार्यक्रमको अनुभव कस्तो रह्यो ? अहिलेको प्रतियोगितालाई पहिले भन्दा थप प्रभावकारी बनाउन के गर्दै हुनुहुन्छ ?

पहिलेका दुई प्रतियोगिताहरु स्थानीय पर्यटन व्यवसायीहरुको पहलमा गरिएका थिए । शुरुका दिनहरुमा भएकाले कार्यक्रम व्यवस्थित पनि थिएन । यसपालि प्रतियोगिता आयोजनामा गाउँपालिका स्वयं लागि परेको छ । स्थानीय संघसंस्था, पर्यटन व्यवसायी, क्लव र समूहहरु त्यत्तिकै उत्साहका साथ लागि परेका छन् ।

पहिले बाटो राम्रो थिएन, अहिले एकदमै राम्रो बनेको छ । बस्ने र खाने व्यवस्था पनि राम्रो थिएन पहिले । यसपाली पर्याप्त टेन्टहरुको व्यवस्था गरेका छौं । एक रात बस्न र खानाका लागि आठ सय रुपैया तोकेका छौं । यसपालि धावकहरुका इन्स्योरेन्सको पनि व्यवस्था गरिएको छ । त्यसैले कार्यक्रम थप प्रभावकारी हुन्छ भन्ने लागेको छ ।

प्रतियोगितामा कति खेलाडीले भाग लिने अनुमान गर्नुभएको छ त ?

विगतको तुलनामा यस पटक खेलाडीको सहभागिता बढ्ने अनुमान गरेका छौं । पहिलो प्रतियोगितामा ७३ जना र दोस्रोमा ९३ जना सहभागी थिए । अहिले करिब एक सय पचासदेखि दुईसयको हाराहारीमा खेलाडी सहभागी हुने हाम्रो अनुमान रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रतियोगितामा भाग लिँदै छन् । दुई जना पाकेस्तानी र एक जना युरोपियनले पनि फर्म भरेका छन् ।

पाँचपोखरी क्षेत्रको भौगोलिक अवस्थाका बारे पनि जानकारी गराइदिनुहोस् ताकि, खेलाडी, सञ्चारकर्मी र अन्य सरोकारवाला निकायलाई सहज होस् ।

पाँचपोखरी क्षेत्र समुन्द्री सतहदेखि ४१०० मिटर उचाईमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र हो । यो स्थान विश्वको अग्लो स्थानमा पोखरी भएका क्षेत्रहरुमध्ये नवाैं स्थानमा पर्दछ । पाँचवटा पोखरी भएका कारण यस स्थानको नामाकारण पाँचपोखरी रहन गएको हो ।

लाङटाङ राष्ट्रिय निकुन्जले घेरिएको यो क्षेत्र विश्वमै सूचिकृत सिमसार क्षेत्र पनि हो । यहाँ विभिन्न खालका जडिबुटीहरु पनि पाईन्छन् । त्यसैगरी पाँचपोखरी क्षेत्र दुर्लभ वन्यजन्तु रेडपाण्डादेखि अन्य हिमाली पशुपक्षीहरुको बासस्थान पनि हो । यसैबाट प्रष्ट हुन्छ कि निकै रमणीय क्षेत्र भएकै कारण यो क्षेत्रलाई पर्यटकीय गन्तव्य घोषणा गरिएको हो ।

यस पटक त्यस क्षेत्रका माननीय सांसद एवं पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ र प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल पनि म्याराथन धावक बन्ने कुरा सुन्नमा आएको छ नि ?
कुरा सही हो । यस पटक माननीय सांसद एवं पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ र प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवाराज दुलाल दुबैजना म्याराथन धावक बन्ने कुरा पक्का भएको छ । माननीय सांसद एवं पूर्व कानुन मन्त्री तामाङले त म यस पटक धावक बन्छु भन्ने कुरा हाम्रो पत्रकार सम्मेलनमै घोषणा गर्नु भएको हो ।

वर्षातको समय छ । उच्चहिमाली भेगमा यति ठूलो कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ, चुनौति पनि त होलान् नि ?

कठिनाईहरु त अवश्य हुन्छन् नै । काम गर्दा कठिनाई नुहने भन्ने नै हुँदैन । त्यसमा पनि उच्चहिमाली भेगमा कार्यक्रम आयोजना गर्दैछौं । कठिनाईहरुका बावजुद पनि सिङ्गो गाउँपालिकाको साथमा पर्यटन प्रवद्र्धन समिति, पाँचपोखरी गाउँपालिकाभित्रका सबै संरक्षण समितिहरु, क्लवहरु र यस भेगका सबै जनता कार्यक्रम सफल बनाउन दत्तचित्त भएर लागिरहेका छन् । कार्यक्रम सफलता पूर्वक सम्पन्न हुने कुरामा ढुक्क छौं ।

सुरक्षा प्रबन्ध के कसरी मिलाउँदै हुनुहुन्छ ?

जहाँसम्म सुरक्षा प्रबन्धको कुरा छ यसमा म यो भन्छु कि यो कार्यक्रम हाम्रो घरआँगनमा हुँदैछ । त्यसो भएको हुँदा यो अभियानमा सबै पाँचपोखरीवासीको साथ समर्थन रहने कुरामा म ढुक्क छु ।

त्यसमाथि सुरक्षा निकायका तीनवटै अंगहरु नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी यस प्रतियोगितामा भाग लिँदै छन् । यो अवस्थालाई विचार गर्दा यो कार्यक्रम भव्य र सव्य ढंगले सम्पन्न हुने कुरामा म लगायत यो अभियानमा संलग्न सबै तह र तप्का ढुक्क छौं ।

कार्यक्रम सम्पन्न गर्नका लागि कति खर्च लाग्ने अनुमान गर्नुभएको छ ?

पुरस्कार राशी अलि ठूलै छ । पहिलो हुने महिला र पुरुषलाई पचास/पचास हजार, दोस्रो हुनेलाई तीस/तीस हजार, तेस्रो हुनेलाई बीस/बीस हजार, चौथो हुनेलाई दश/दश हजार र पाँचौ हुनेलाई पाँच/पाँच हजार पुरस्कारको व्यवस्था गरेका छौं ।

त्यसैगरी सिन्धुपाल्चोकको हकमा पहिलो हुने महिला र पुरुषलाई बीस हजार, दोस्रो हुनेलाई दश हजार र तेस्रो हुनेलाई पाँच हजारको व्यवस्था गरेका छौं ।

अर्को व्यवस्थापनका कुराहरु आउँछन् । सयो हुँदा करिब १६ देखि १८ लाख खर्च हुने अनुमान गरेका छौं । त्यसमध्ये गाउँपलिकाले ९ लाख बजेट छुट्याइसकेको छ । बाँकी पर्यटन वोर्ड, भिजिट नेपाल ईयर २०२० को सचिवालय(भि.एन.वाई) र अन्य संघसंस्थाहरुबाट सहयोग लिने योजनामा छौं ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका