सर्लाहीमा ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

राजु तामाङ संवाददाता
0 Shares
सर्लाही

सर्लाहीको पूर्व–पश्चिम राजमार्ग खण्डमा बिहीबार ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार अत्यन्त तीव्र गतिमा रहेको मोटरसाइकल हरिवन नगरपालिका–११, चापिनी पुल छेउ विपरीत दिशाबाट आफ्नै ‘साइड’मा आइरहेको ट्रकमा छिर्न पुगेको थियो ।

हरिवन नगरपालिकास्थित पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट गइरहेको ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाहीको बरहथवा नगरपालिका–४ का विक्रमदास कथवनिया र बरहथवा नगरपालिका–४ का मनोजकुमार दासको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते विक्रमको स्थानीय नमुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मनोजको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौंडा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकका चालक भने फरार छन।

तपाईको प्रतिक्रिया