रंगमञ्चमा सेलो नाटक चारदामदेखि ल्हालिमो मञ्चन


नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेशनद्वारा आयोजित ‘तामाङ सेलो नाट्य महोत्सव २०७५’ सम्पन्न भएको छ । थिएटरमा तामाङ संस्कार झल्किने विभिन्न रूप नाटकमार्फत प्रस्तुत भएका थिए ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असार २ गतेदेखि ३ दिनसम्म चलेको महोत्सवमा ५ वटा नाटक, कार्यपत्र र पुस्तक तथा भेषभुषा एवं तामाङ मौलिक खाना प्रदर्शनी गरेका थिए ।

नाटकहरुमा भाषाविद अमृत योञ्जन तामाङको लेखन र निशा पाख्रिनको निर्देशन रहेको नाटक ‘चारदाम’, फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’, वसन्त चौधरीको लेखन र शान्ति वाइवाको निर्देशन रहेको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’, ल्हाप्साङकार्पो म्युजिकको तर्फबाट रोशन फ्युवाले संयोजन गरेको लोकनाटक ‘ल्हाल्हिमो’, सत्यदेवी काठमाडौं सम्पर्क समाजको तर्फबाट मारनेन वाइबाले संयोजन गरेको लोकनाटक ‘ताचेमा’(घोडाचडी) मञ्चन भएका थिए ।

सोनाम ग्याल्मो

युवतीको रूप र यौवन देखेर जंगबहादुर यति लोभिन्छ कि उसले युवतीलार्इ रखौटी बनाउँछ ।
महोत्सवको पहिलो दिन प्रदर्शन भएको नाटक हो सोनाम ग्याल्मो । यो जंगबहादुरको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित किम्बदन्तीमा आधारित रहेको थियो । किम्बदन्तीअनुसार शिकार खेल्न पत्थर घट्टामा पुगेको तत्कालीन श्री ३ जंगबहादुरले एक सुन्दर तामाङ युवती देख्छ । युवतीको रूप र यौवन देखेर जंगबहादुर यति लोभिन्छ कि उसले युवतीलार्इ रखौटी बनाउँछ ।

सो नाटकमा कलाकारहरू सोनाम लामा (मोक्तान), शान्ति वाइबा, फुलकुमार बम्जन, सुसन लामा, चाँदनी मोक्तान, निकिता वाइबा, निशा पाख्रिन, मात्रिका, मनोज तामाङ, सन्तोष तामाङ, सञ्जीव रार्इ, देविन चैधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामा र विजय टुबाले अभिनय गरेका छन् ।

ताचेमा र ङाला फ्रेङबा धोङला टा

महोत्सवको दोस्रो दिन सयौं वर्षअघि तिब्बतमा नून लिन जाँदा तामाङ र तिब्बतीबीच भएकोयुद्ध समेटिएको लोकनाटक ‘ताचेमा’ र बुद्धचित्त मालाको बोटलाई संस्कृति रपरम्परागत ज्ञानको प्रतिक बनाइएको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ सेलो नाट्य मञ्चित भएका थिए ।

गोपाल फ्युवाले संयोजन गरेको ‘ताचेमा’ धादिङ जिल्लाको प्रचलित लोकनाटक मानिन्छ । रातो वस्त्रधारी तिब्बती सेना र सेतो वस्त्रधारी तामाङ सेनाबीचभएको युद्ध, त्यसपछि अन्तिममा मिलेमतो भएर सगुन राखेको सन्दर्भ नाटकमा छन्। दुवै पक्ष मिलेपछि नूनसँग अन्न साटेर तामाङहरू तिब्बतबाट फर्किन्छन् ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशन फ्युवा, मनोज लोप्चन, सिंहबहादुर तामाङ, प्रकाश तामाङ, सन्देश तामाङ, शुभसन्तोषतामाङ, विकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ, रेशा तामाङ र विनिता तामाङले अभिनय गरेका थिए ।

नाटककाे निर्देशन सोनाम लामा मोक्तान र सहनिर्शेदन विजय टुबाले गरेका छन् ।

त्यस्तै कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ले भने पितृप्रतिको सम्मान, समर्पण र उनीहरुको मूल्यबोधको सौन्दर्य प्रस्तुत गरिएको थियो । वसन्त चौधरीको नेपाली कविता ‘मेरो बोधिवृक्ष’को तामाङ रुपान्तरणलाई शान्ति वाइबाले नाटकको रुपमा निर्देशन गरेकी हुन् । बुद्धचित्त मालाको रुखलाई पूर्खा, संस्कृति र परम्परागत ज्ञानको प्रतीकका रुपमा प्रस्तुत गरिएको नाटकमा चारैतिर छरिएर गएका सन्तानहरू अन्त्यमा आफ्नो बुबा–आमा (संस्कृति) सम्झेर फर्किन्छन् ।

नाटकमा शान्तिसँगै सोनाम लामा, निशा पाख्रिन र सन्तोष तामाङले अभिनय गरेका थिए । नाटक निर्देशकहरुलाई प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मायाको चिनो प्रदान गरेका थिए ।

‘परापूर्वकालदेखि तामाङहरू उपत्यका आसपास छरिएर रहेको पाइन्छ,’ उनले भने, ‘तर, अहिले आधुनिकताका कारण बिस्तारै परिस्थिति बदलिँदैछ । जे जस्तो भए पनि आफ्नो मौलिक संस्कृति जोगाइ राख्नु पर्छ । त्यस दृष्टिले यस्तो महोत्सव निकै अर्थपूर्ण हुनसक्छ ।’ नाटक मंचन अघि ‘तामाङ रंगमञ्चको अवस्था’बारे भाषाविद् अमृत योन्जनले कार्यपत्र पेश गरेका थिए । उनले तामाङहरू लोकनाटकमा धनी भए पनि आधुनिक रंगमंचमा बल्ल पाइला चाल्न थालेको बताए ।

चारदाम र ल्हालिमो

कार्यक्रमको अन्तिम दिन चारदाम नाटक प्रदर्शन गरेका थिए । नाटकले तामाङ संस्कार, संस्कृतिमा विवाहमा चारदाम के हो ? भन्ने प्रष्ट्याएका छन् । पुरानो समयको सांस्कृतिक सघनता र अहिलेको पुस्ताको सांस्कृतिक विचलन देखाएको छ ।

नाटकमा शान्ति वाइबा, फुलकुमार बम्जन, सुसन लामा, चाँदनी मोक्तान, निकिता वाइबा, निशा पाख्रिन, मात्रिका, मनोज तामाङ, सन्तोष तामाङ, सञ्जीव रार्इ, देविन चैधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामा र विजय टुबाले अभिनय गरेका छन् ।

अमृत योञ्जन तामाङले लेखेको नाटकलार्इ निशा पाख्रिन र सन्तोष तामाङले निर्देशन गरेका हुन् ।

ल्हालिमो धादिङ, नुवाकोट, रसुवा लगायत आसपासका जिल्लाहरूमा युवायुवतीहरूमा लक्षित नाटक हो । यसमा युवाहरू नै केटा र केटीको जोडी बनेर नाच्छन् । ल्हलिमोसँग सम्बन्धित गीत गाउँदै माने दोरा नाच्दछन् । केटाकेटी बीचको प्रेम सम्बन्ध जोडिएको हुन्छ । यो बेला गाउने बोम्साङ गीत ब्रेल्साङ गीत हाे । केटा पक्ष र केटी पक्ष बीच गीतबाटै कुराकानी मिलाउँछ र अन्तमा विवाहमा परिणत हुन्छ । एक अपसमा मायाको चिनो साटासाट हुन्छ ।

ल्हाप्साङकार्पोद्वारा तयार पारिएको लोक नाटकमा कलाकारहरू रोशन फ्युवा, मनोज लोप्चन, सिंगबहादुर तामाङ, प्रकाश तामाङ, सन्देश तामाङ, सुभ सन्तोष तामाङ, विकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ, रेशा तामाङ र विनिता तामाङले अभिनय गरेका छन् ।

नाटकको परिकल्पना उमेश तामाङ र जीवन बरालले गरेका छन् भने निर्देशक रोशन फ्युवाले गरेका हुन् ।

महोत्सवमा भाषाविद् अमृत योञ्जन तामाङले तामाङ रङ्गमंचको वर्तमान अवस्था र निर्देशक रोशन फ्युवाले ताचेमा र ल्हाल्हिमोको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

महोत्सवको पहिलो दिन पूर्व पर्यटन नागरिक तथा उडड्यन मन्त्री आनन्द प्रसाद पोखरेलले उद्घाटन गरेका थिए भने कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले समापनमा प्रमुख अतिथि ग्रहण गरेका हुन् ।

कार्यक्रमका सभाध्यक्ष नेपालसंगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले समापन गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका