राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले काठमाडौं भद्रकालीमा रगत पोख्दै आत्मदाहको चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आत्मदाहको चेतावनी दिएका हुन् । राँगाको ५ सय लिटर रगत बगाएका थिए । घटनापछि स्वयंसेवक नेपालका अभियन्ताहरुलाई सरकारले पक्राउ गरेको थियो ।
स्वंसेवकले ३२ जेष्ठमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को तस्वीरमा बली दिइएको राँगाको रगत बगाएका थिए ।
भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध आवाज उठाउँदा सरकारले बल प्रयोग गरिरहे आत्मदाह गर्ने स्वयंसेवकका केन्द्रीय संयोजक श्रीराम घिमिरेले बताए । उनले भने, नेपालमा कृषि प्रधान देश भएकाले प्रत्येक किसानले सुखी र समृद्धिको अनुभूति हुने गरी नेपाल परिवर्तन गर्ने प्रतिवद्घता व्यक्त गरे । घिमिरेले रगतको बली चढाएर सांकेतिक विरोधमात्र गरेको बताए । उनले भने,‘अब योभन्दा कडा संघर्षमा जान्छौ ।’
भद्रकालीबाट सेवकका १० जना अभियन्तालाई प्रहरीले पक्राउ गरेकोमा आपति जनाउदै अभियन्ता विमल खत्रीले भने, आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप छ ।
आन्दोलनका कार्यक्रम देशका कुनाकाप्चासम्म पु¥याउने स्वयंसेवक नेपालकी सफलता बोगटीले बताइन् ।
२० रोपनीभन्दा कम जग्गा जमिन भएका कृषकलाई निशुल्क मल बिउको व्यवस्था गरिनुपर्ने, वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक परिवारलाई २० लाखसम्मको क्षतिपूर्ति, अगंभङ्गलाई स्वास्थ्योपचार, शिक्षा र रोजगारीको पूर्ण ग्यारेन्टी लिनुपर्ने माग राखेका छन् ।
अभियन्ताहरु सरिता पण्डित, गायत्री दाहाल, केशवप्रसाद उपे्रती पुरुषोत्तम गजुरेल र सुदिप गजुरेलले कडा आन्दोलनको विकल्प नभएको बताएका थिए ।