सभ्यताको बाह्राखरी

मुक्तान थेबा काडमाडाैं
कविता

तिमीले मेटाउन नसकेको बाँकी केहि त
अवश्य छुटेकै छ मित्र !

खोरको माउ तान्न आउने बाघको गर्दन छप्काउने
बाघसिङ आखेको- खुकुरी छ मसँग ।
खुसुखुसु करेसाको पिँडालु चोर्न आउने
वनसुङ्गुरको भाले ढाल्न
आबाले दर्जन थाप्नेगरेको- जोरनाले छ मसँग ।
दिनदहाडै
जिम्वाल काजिको साँढेले छोप्दा
जुरो खसाल्ने
मेरी बज्यैकी- खुर्पा नि छ मसँग ।
रामनवमी मेलामा
प्रधानघरको ब्वाँसाले झम्टिँदा
जाँघमा लात्त हानेर उम्किएकी
आमा सन्चली डोल्मोको साहास पनि
उस्तै छ मसँग ।

हरेकपल समयसित सम्वाद गरिरहने
मेरो आँगनको दाज्र्यु
झन जोर-जोरले
फिर्लिङ-फिर्लिङ हम्काउँदैछ समय ।

डम्फु बजाउँदै डाँडापाखा
पेङदोर्जेले सुनाउँदै हिँडेको उत्पत्तिको गीत
आफ्नै पसिनाको राग भरेर
ढाक्रे म्हेमेले
जिन्दगीको चौतारीहरुमा बजाउँदै हिँडेको टुङ्ना
बोम्बो म्हेमेले बजाउने ढ्याङ्ग्रो र
दुस्मनको प्रहार दुस्मनतिरै फर्काउन
तेस्र्याउँदै आएको थुर्मा
आज पनि त उसैगरी झुन्डिरहेको छ मूलथाममा

हो, यीनै हुन्
मेरो खास हृदयले पहिलोचोटि रमाउँदै चिमोटेको
सभ्यताको बाह्राखरी
जुन, सौन्दर्यका मानक बनेर
मेरा बिजातीय मानस्पनामाथि
आज पनि उसैगरी सल्बलाउँछन् ।
मैले ‘म’ हुनुको पहिलो अर्थ पनि
त्यहिनेरबाट टिपेको हुँ
तर, अचेल
कर्कस ध्वनिमा
एकोहोरो तिमी
मलाई ‘म’ हुनुको अर्थ त्यागेर
साझा ‘हामी’ हुन उपदेश दिइरहेछौ ।

म प्रेमले भन्न चाहन्छु
मेरो प्रिय शासक मित्र !
कि म
अँधेरोमा बलिरहेको उज्यालो निभाउँदै हिँड्ने
तिम्रो हामी हुनै सक्दिनँ
बरु,
भुलेर पनि मसित कहिल्यै यो नसोध्नु कि
‘तिमीसँग के छ ?’
म भन्न बाध्य हुनेछु-
तिमीले मेटाउन नसकेको बाँकी केहि त
अवश्य छुटेकै छ मित्र !
(सन्दर्भ: विश्व आदिवासी दिवस ‘अखण्ड आलाप’बाट)

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका