प्रतिकूल मौसमका कारण सयौँ उडान प्रभावित

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । मौसममा खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश गन्तव्यका उडान संचालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ ।

‘मौसमको खराबीले विशेषगरी हेलिकोप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ । गोसाइँकुण्डको मात्रै ४० उडान रद्द भएको छ’ संघका प्रवक्ता योगराज कँडेल शर्माले भने, ‘प्रतिकूल मौसमका कारण हवाई क्षेत्रको उडान प्रभावित भएको र सबैभन्दा बढी असर हेलिकोप्टर कम्पनीमा परेको छ ।’

तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार दिनसम्म उडान भएन । यो अवधिमा करीब ४० उडान रद्द भए । यस्तै, १२ भन्दा बढी उद्धार उडान रद्द भएको वायुसेवा सञ्चालक संघ नेपालले जनाएका छन् । हेलिकोप्टरका ११ कम्पनी रहे पनि १० कम्पनीका ३६ हेलिकोप्टरले सेवा दिँदै आएका छन् ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणले देशभरको जनजीवन प्रभावित भएको छ । वायु प्रदूषणले मानवस्वास्थ्यमा समेत असर गर्ने विज्ञहरुले बताएका छन् ।

वसन्त यामको मुख्य आरोहणको मौसममा हेलिकोप्टरको व्यापार राम्रो हुन्छ । अघिल्लो वर्ष कोभिड-१९ महामारीका कारण आरोहण नभएपछि प्रभावित बनेको यो व्यवसाय कोभिडपछि विस्तारै गति लिँदै गरेकोमा केही दिनदेखिको मौसम खराबीको थप चपेटामा परेको छ ।


प्रवक्ता शर्माका अनुसार हवाईजहाजको पनि चार दिनसम्म अधिकांश उडान रद्द भए । सोमबारसम्मको तथ्याङ्कमा ट्रङ्क रुटमा बुद्ध एयरको ६५, यती एयरलाइन्सको ४५, श्री एयरलाइन्सको २२, सौर्य एयरलाइन्सको १४ र अन्य एयरलाइन्सको आठ उडान रद्द भएका छन् ।

यस्तै, स्टल रुटमा पनि करीब ४० उडान रद्द भएको संघका प्रवक्ता शर्माले जानकारी दिए । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ नियमित उडानमा ४०० उडान हुने गरेका छन् । हवाईजहाजतर्फ नौ कम्पनीका ५० जहाजले उडान भर्दै आएका छन् ।

पछिल्लो चार दिनमा आन्तरिकतर्फ सयौँ उडान रद्द भएका छन् । प्रतिकूल मौसमकै बिच विमानस्थलले आन्तरिक र अन्तरराष्ट्रियतर्फ यान्त्रिक पद्धति (आइएफआर) उडान सञ्चालन गरिरहेको छ । अन्तरराष्ट्रिय उडानतर्फ पनि केही उडान प्रभावित भएका छन् । मैसम खराबीकै कारण केही उडान डाइभर्ट समेत भएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका