साउदीमा साइबर अपराधबाट जोगिन दूतावासको आग्रह

साउदी अरेबिया

नेपाली दूतावास साउदी अरेबियाले साइबर अपराधबाट सावधानी अपनाई आग्रह गरेको छ । दूतावासले फेसबूक पेजमा सूचना जारी गरेर साउदी सरकारका साइबर अपराध सम्बन्धि नियमको पालन गर्ने अनुरोध गरेको हो ।

वैदेशिक रोजगारी वा अन्य विविध कामका लागि साउदी आएका नेपालीहरुले यहाँको अन्य कानुन जस्तै साइबर कानुनलाई पनि उल्लंघन गर्न नहुने राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । उनका अनुसार पछिल्ला समय साउदीमा साइबर अपराध मौलाउदै गएका छन् । यस अपराध अर्न्तर्गत सावधानी अपनाउन नजानेर साउदीमा नेपालीहरु समेतलाई मुद्दा लागेको राजदूत राजपुतको भनाइ छ । राजदूत राजपुतका अनुसार आफ्ना मोबाइल फोन, म्यासेन्जर, व्हाट्सएप र भाइबर लगायतबाट अपरिचित व्यक्तिसँग अनावश्यक कुराकानी वा अन्य माध्यमबाट साउदी कानूनको बर्खिलाप हुनेगरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेट गरेमा साइबर अपराध अन्तर्गत मुद्दा लाग्न सक्नेछन् ।


दूतावसको सूचनामा, ‘साउदीमा साइबर अपराध अन्तर्गत ५ वर्षको जेल वा ३० लाख रियाल जरिवाना वा दुवै जरिवाना हुनसक्छ । ’ त्यस्तै सूचनामा ‘ साउदीमा मदिराजन्य पदार्थ उत्पादन, वेचविखन, ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कारोवार पूर्ण गैरकानूनी हो’ र अरूको उक्साहटमा लागेर वा स्वयं पनि कम्पनीको काममा बाधा पुऱ्याउने, उत्तेजना फैलाउने वा देव बढाउने कार्य, बन्द, हडताल, धर्ना, जुलुस तथा
राजनैतिक सभा, सम्मेलन, गोष्ठी गर्नु पूर्ण गैरकानूनी हुनुका साथै ठूलो सजाय समेत हुने भएकाले यो कुनैपनि कार्यहरू गर्न नहुने उल्लेख छ ‘ ।

त्यसैगरी ‘ छुट्टीमा वा रोजगार करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं साउदी अरबको कानूनले निषेध गरेका कुनै पनि (आफ्नो वा अन्य कुनै व्यक्तिको) मालसामान वा सून लगायत बहुमूल्य धातु लैजाने वा ल्याउने कार्य गैरकानुनी भएको ‘ सूचनामा उल्लेख छ । सूचनामा दूतावासले स्थानीय कानून, ट्राफिक नियम र अनुशासनको पालना, बाटो काट्दा तोकिएको स्थान वा संकेत भएको ठाउँबाट मात्र काट्ने, पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न र विधिवत कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्न पनि अनुरोध गरेको छ ।

त्यसैगरी एउटा कम्पनीसँगको करार समाप्त भई अर्को कम्पनीसंग करार गर्न साउदी सरकारले उपलब्ध गराएका Absher App तथा QIWA पोर्टल प्रयोग गर्नुपर्ने दूतावासको भनाइ छ । आफ्नो Iqarma (फोटोकपि समेत) अरूलाई नदिन र हुण्डी, हबाला वा अन्य कुनै पनि गैरकानूनी माध्यमबाट रकमको कारोवार नगरी बैंकिङ माध्यमबाट पठाउन आग्रह गरेको छ । त्यस्तै साउदीका धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्न र आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप कोठाभित्र मात्र सीमित गर्नुपर्ने दूतावास सूचनामा लेखिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका