नेपाली जुडो टोली एशियाली च्याम्पियनसिप खेल्ने आज प्रस्थान गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली जुडो टोली किर्गिस्तानको बिस्केकमा सञ्चालन हुने एशियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने भएको छ । चार खेलाडीसहित सात सदस्यीय टोली प्रतियोगितामा भाग लिन शुक्रबार किर्गिस्तानतर्फ जाने नेपाल जुडो संघले जनाएको छ ।

चैत २२ देखि २८ गतेसम्म हुने उक्त प्रतियोगितामा एक महिला तथा तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष ६६ किलो मुनिको तौल समूहमा इन्द्रबहादुर श्रेष्ठ, महिला ४८ किलो मुनिको तौल समूहमा सोनिया भट्ट, ५७ किलो मुनिको तौल समूहमा देविका खड्का र ७० किलो मुनिको तौल समूहमा पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । चारै खेलाडीले गतवर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकूद (साग) का पदक प्राप्त गरेका हुन् ।

देविका र पुनमले १३औं सागमा स्वर्ण, इन्द्रले रजत तथा सोनियाले कास्य पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा ३१ देशका १२३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । खेलाडीका साथमा प्रशिक्षकका रुपमा ओलम्पियन ऋषिराम प्रधान, जुडो संघका महासचिव एवं निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य रहेको छ । उक्त टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका