राजधानी काठमाडौंमा शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरी २५ औं विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संघसंस्थाको समन्वयमा शुक्रबार आदिवासी दिवस मनाइएको हो ।
दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा वृहत प्रदर्शन तथा साँस्कृतिका कार्यक्रम आयोजना गरेको छ ।
आफ्नो मौलिक भेषभूषा र जातीय झाँकीसहित दिवसमा सहभागी जनाइएका जातीय संघसंस्थाहरुले भृकुटीमण्डपबाट साँस्कृतिक झाँकीसहितको ¥याली निकालेर माइतीघर मण्डला पुगेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघसँग सम्वद्ध जातीय संघसंस्थाका अध्यक्षहरु र जनजाति नेताहरुले दिवसको उपलक्षमा शुभकामना मन्तव्यका साथमा लोकसेवा आयोगले आरक्षण कोटा हटाएकोमा चर्को विरोध गरेका थिए ।
संयुक्त राष्ट्र संघले घोषणा अनुसार हरेक अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरुले पहिचान र अधिकार प्राप्तिका संघर्ष र आन्दोलनको रुपमा भव्यताका साथ मनाउने गर्दछन् । विगत वर्षहरुमा साँस्कृतिक महोत्सव आयोजना गरी मनाउने गरेकोमा यस वर्ष नेपालका आदिवासी जनजातिहरुले दिवसलाई आन्दोलनका रुपमा मनाएका छन् ।
संयुक्त राष्ट्रसंघले यसपटक ‘आदिवासी भाषा वर्ष’ नारा तय गरेको छ । नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वायत्तता/स्वशासनका लागि संविधान संशोधन हाम्रो साझा अभियान, २५औं विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन’ भन्ने मूल नाराका साथ आदिवासी दिवस मनाए । हजारौं वर्षदेखि कायम रहेका मातृभाषा लोपोन्मुख स्थितिमा पुगे पनि तिनको संरक्षणमा भने कुनै पहल भएको छैन । झन्डै सात दशकदेखि भाषा, संस्कृति, भूमि अधिकार लगायत मुद्दालाई लिएर आन्दोलन गर्दै आएका आदिवासी जनजातिले पछिल्लो दशक राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक समावेशीकरण र समानुपातिक प्रतिनिधित्वका मुद्दामा जोड दिएका छन् ।
जनजाति महासंघले माइतीघर मण्डलमा वृहत प्रदर्शन गरिरहँदा अखिल नेपाल आदिवासी जनजाति महासंघले भने राष्ट्रिय सभागृहमा सांस्कृतिक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ।
त्यसैगरी देशभरि नै आदिवासी जनजाति संघसंस्थाहरुले विविध कार्यक्रम आयोजना गरी विश्व आदिवासी दिवस मनाएका छन् ।