क्रम

कविता

अशिक्षाको खरानीभित्र कोट्याउँछ र
शिक्षाको झिल्कोमा झोसेर सल्काउँछ
चेतना धिब्री ।
त्यही धिब्रीको मधुरोमा उमार्छ
एक हुल विचारहरु ।
विचार, जस्को कुनै मोल छैन
कुनै आशा छैन
कुनै आधार छैन ।
छ त केवल
मस्तिष्कको अन्तःकणमा कतै अलिकती हलचल ।
जुन हलचलले खोलाउँछन् आँखा र
ब्युँझाउँछ एउटा युगको निन्द्रा ।
जसले रोप्छ एकमुट्ठी विद्रोह
र जन्माउँछ सय मुरी विप्लवका आवाजहरु ।
तर,
यहाँ चेतनाले आँखा खोल्नु अवैध मानिन्छ
यहाँ बोल्नु
सुन्नु र बुझ्नु
अपराध ठहराइन्छ
अनि सुन्ने,
बुझ्ने र
बोल्नेहरु अपराधी भनिन्छ
अनि दण्डीत गरिन्छ
यसैले,
हैकमवादको साम्राजमा
शिक्षाको बस्तीमा
भयको आगो सल्काउँछ सत्ता
र डडाउँछ चेतनाको टुसा
अनि फेरि थुपार्छ
अशिक्षाको खरानी
फेरि कोट्याउँछ र झिक्छ शिक्षाको झिल्को
सल्काउँछ अनि डडाउँछ चेतना बीज ।
यहाँ
चलिरहन्छ यी क्रम ।
लङ्गडो समाजमा सत्ताको बैसाखी लिएर
कोल्टे हिड्छ समय
जहाँ अडिँदैन परिवर्तनको खुट्टा
फस्टाउँदैन अभिवृद्धि ।
खर्साङ्ग, भारत

तपाईको प्रतिक्रिया

पत्रपत्रिका